त्रिचन्द्र कलेजकाे भवन पूनर्निमाणको माग गर्दै विद्यार्थीकाे प्रदर्शन
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई ज्ञापनपत्र
काठमाडौँ – २०७२ सालको भुकम्पले पूर्ण क्षति पुर्याएको त्रिचन्द्र कलेज भवन पुनर्निर्माणको माग गर्दै विद्यार्थीले नाराबाजीसहित प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको घन्टाघर अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरूले कलेज भवन पुनर्निर्माणबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
पुरातात्विक महत्त्व बोकेको भवन हाल जीर्ण अवस्थामा पुगे पनि जिर्णोद्वारमा सरकारले चासो नदेखाएपछि विद्यार्थीहरू आक्रोशित बनेका हुन् । ‘धरहरा पुनर्निर्माण गर्ने सरकारले शैक्षिक थलो त्रिचन्द्र कलेजको पुरातात्विक भवन जिर्णोद्वार नगर्ने ? रातो स्टिकर टाँसिएको भवनमा बसेर अध्ययन गर्न हामी बाध्य छौं । विद्यार्थीको जीवन जोखिममा छ,’ कलेजका एक विद्यार्थीले भने, ‘ यही कलेज पढेर राजनीतिक दलका नेता बनेकाहरूलेसमेत कलेज भवन पूनर्निर्माणमा चासो नदिनु दुःखद् छ ।’
०७२ सालको भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न सोही वर्ष सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको तर सो प्राधिकरणले कलेज भवनको पुनर्निर्माणमा चासो नदेखाएर विभेद गरेको विद्यार्थीहरूको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका छन् ।
‘वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा कुनैबेला त्रिचन्द्र कलेज अध्ययनरत हुनुहुन्थ्यो तर कलेज भवन पुनर्निर्माणमा उहाँले पनि ध्यान दिन सक्नु भएको छैन,’ प्रदर्शनमा सहभागी ती विद्यार्थीले इकागजसँग भने, ‘छेउकै धरहरा र रानीपोखरी पुनर्निर्माण हुँदा त्रिचन्द्र कलेज भवनलाई पाखा लगाएर सरकारले पुरातात्त्विक भवन र विद्यार्थीमाथि विभेद गरेको छ ।’
‘धरहरा बन्यो, त्रिचन्द्र कहिले ?’, ‘त्रिचन्द्र कलेजको यथाशीघ्र जिर्णोद्वार गर’लगायत नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका विद्यार्थीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसमक्ष ज्ञापनपत्र बुझाएर भवन पुनर्निर्माणको माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया