माग पुरा नभए विश्वविद्यालयमा तालाबन्दी गर्ने चेतावनी
जनकपुरधाम – राजर्षि जनक विश्वविद्यालयका उप-प्राध्यापकले आफ्ना माग पुरा नभए विश्वविद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । करारमा कार्यरत उप-प्राध्यापकले पठन–पाठन अवरुद्ध गरी दोश्रो चरणको आन्दोलन जारी राखेका छन् । २४ देखि २९ साउनसम्म हातमा कालोपट्टी बाँधेर आन्दोलन गरेका उनीहरूले व्यवस्थापन पक्षले माग सम्बोधन नगरेपछि ८ भदौदेखि दोश्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।
जनकपुरधामको भ्रमरपुरा चोकस्थित विश्वविद्यालयको मूलगेटमै प्रत्येक दिन बिहान ११ बजेदेखि २ बजेसम्म ३५ जना करार प्राध्यापकले संघको ब्यानर टाँगेर धर्ना दिँदै आएका छन् । आन्दोलनरत उप-प्राध्यापकले आफुहरूको मागप्रति व्यवस्थापन पक्ष उदासीन रहेको आरोप लगाउँदै अझ बढी कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् । ‘विश्वविद्यालयको स्थापनाकालदेखि नै हामीले करारमा पढाउँदै आएका छौं । आफूहरूलाई पछि करारमा नियुक्ति गरिदिने आश्वासन दिइएको थियो । तर आजसम्म करारमा नियुक्ति दिइएको छैन,’ करार उप-प्राध्यापक संघका सचिव रविकुमार राजले भने ।
विश्वविद्यालयसँग दुई वर्षदेखि २६ जनाको दरबन्दी छ । तर पटक पटक त्यसमा करार गर्न आग्रह गर्दा सम्बन्धित पक्षले कुनै सुनुवाइ नगर्दा बाध्य भएर आफू आन्दोलनमा उत्रिएको उनले गुनासो पोखे । व्यस्थापन पक्षले आफूहरूको माग सम्बोधन गर्ने आश्वासन दिए पनि अझै पूरा हुन नसकेको उनको भनाइ छ ।
विश्वविद्यालयमा अहिले २६/२७ जना कर्मचारीको दरबन्दी रहे पनि उनीहरूका लागि आइरहेको पैसा विभिन्न सञ्चालन खर्चको नाममा प्रयोग भइरहेको र उपप्राध्यापकलाई करारमा राखेर मासिक १० हजार रूपैयाँ मात्रै उपलब्ध गराइएको उनले गुनासो गरे ।
आन्दोलनरत उपप्राध्यापकले समयमै आफूहरूको माग सम्बोधन नभए विश्वविद्यालयमा तालाबन्दी गर्नेदेखि आमरण अनसनमा बस्नेसम्मको चेतावनी दिएका छन् । उनीहरू धर्नामा बसेदेखि रजिष्ट्रार महेन्द्रप्रसाद यादव र भाइस चान्सलर भरत झा विश्वविद्यालय नआएपछि पठन–पाठन साथै शैक्षिक गतिविधि ठप्प बनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया