शिक्षा

स्थानीय आवश्यकता अनुरूपका मौलिक अनुसन्धानमा केन्द्रित काठमाडौँ विश्वविद्यालय

पुष्पराज आचार्य |
भदौ २७, २०७८ आइतबार ८:५ बजे

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक २०४८ को निर्वाचित सरकारले सदनको पहिलो बैठकमा प्रस्तुत गरेको थियो । देशमा एउटामात्र विश्वविद्यालय रहेको परिप्रेक्ष्यमा त्रिभुवन विश्वविद्यालयको परिपूरकको हिसाबले यस विश्वविद्यालयको स्थापना भएको थियो । 

काठमाडौँ विश्वविद्यालय स्थापनाको ३० वर्ष पुगेको छ । यो अवधिमा विश्वविद्यालयले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । इन्जिनियरिङ्ग, मेडिसिन, म्यानेजमेन्ट, आर्टस् लगायत सातओटा स्कुल सञ्चालन गरिरहेको विश्वविद्यालयले देशका लागि उपयोगी अनुसन्धानमा आफूलाई केन्द्रित गरेको बताउँछन्, उपकुलपति भोला थापा । यसअघि विश्वविद्यालयको रजिष्ट्रार रहेका थापा विश्वविद्यालयमा डा. सुरेशराज शर्मा, डा. रामकण्ठ माकाजू श्रेष्ठपछिका तेश्रो उपकुलपति हुन् ।


‘यसअघिका नेतृत्वले विश्वविद्यालयलाई स्थापित गरेर एउटा उचाइमा पुर्‍याइसक्नुभएको छ । हाम्रो चुनौती संसारका राम्रा भनिएका विश्वविद्यालय कता जाँदैछन्, त्यो बाटोमा जानुपर्ने आवश्यकता छ,’ उनले भने, ‘विश्वविद्यालयले राम्रो पठनपाठनको साथै अनुसन्धानमा हाम्रो प्राथमिकता हुनुपर्छ । हाम्रा आफ्नै स्थानीय समस्याको समाधानका लागि र नयाँ–नयाँ ज्ञान सिर्जना गर्नका लागि हाम्रा अनुसन्धान केन्द्रित छन् ।’ अध्ययनअध्यापनको गुणस्तर सुधारका लागि देशभर अन्य विश्वविद्यालयका लागि तालिम लगायत सहयोग र देशभर गुणस्तरीय शिक्षाको विकासका लागि विश्वविद्यालयले हासिल गरेको विज्ञतालाई कसरी बाँड्न सकिन्छ भन्ने विषयमा केही तयारी अघि बढाएको थापा बताउँछन् । शिक्षा र अनुसन्धान सँगसँगै गैसकेपछि त्यसको लाभ समुदायले लिनसक्नुपर्ने उनी बताउँछन् । उद्योग व्यवसायका समस्यादेखि सरकारका लागि आवश्यक अनुसन्धान सेवा विश्वविद्यालयले प्रदान गर्न सक्ने उनले उल्लेख गरे । 

सबैभन्दा महत्वपूर्ण पक्ष के छ भने काठमाडौँ विश्वविद्यालयले अनुसन्धान र विकास गरेका जति पनि प्रविधि र ज्ञान छन्, त्यसको व्यवसायिक प्रयोग/उत्पादनका लागि पनि निःशुल्क उपलब्ध हुने उपकुलपति थापा बताउँछन् । 

काठमाडौँ विश्वविद्यालयमा कोभिड–१९ को समयमा पीपीई (व्यक्तिगत सुरक्षा उपकरण) र मास्कको गुणस्तरदेखि गुर्जोले क्यान्सर गराउँछ कि गराउँदैन भनेर अनुसन्धान गरियो । ‘गुर्जोले रोग प्रतिरोधी क्षमता त बढाउँछ तर यसले क्यान्सर गराउँछ कि गराउँदैन भनेर अहिले अनुसन्धान चलिरहेको छ,’ अनुसन्धानमा संलग्न अर्ग्यानिक फार्मिङ एण्ड नेचुरल प्रडक्ट रिसर्च सेन्टरकी अनुसन्धाता दिव्या सापकोटाले भनिन् ।

निर्माण सामग्रीदेखि सुरुङ प्रविधिसम्मको अनुसन्धान विश्वविद्यालयमा भैरहेको छ । काठमाडौँ विश्वविद्यालयको टर्बाइन टेस्टिङ ल्याबमा अर्को महत्वपूर्ण अनुसन्धान चलिरहेको छ । हाम्रा जलविद्युत आयोजनामा बालुवाले टर्बाइन बिगार्ने समस्या छ । ‘हाम्रा नदिखोलामा अत्याधिक बालुवा बगेर आउँछ, जति फिल्टर गरेपनि सम्भव नहुने, अन्ततः त्यही बालुवाले टर्बाइन खियाएर टर्बाइनको औसत आयु घटाइदिने गरेको छ,’ विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङ्ग विभागका सहायक प्राध्यापक विराजसिंह थापा भन्छन्, ‘टर्बाइन खिइन नदिन के गर्ने, कति बालुवाले कति टर्बाइन खियाउँछ र नेपालमै बालुवा पसेपनि टर्बाइनको आयु कसरी बढाउन सकिन्छ भनेर अनुसन्धान गरिरहेका छौं ।’ 

लघु जलविद्युत् (माइक्रो हाइड्रो)का लागि उपयुक्त टर्बाइनको विकास गरेर विश्वविद्यालयले परीक्षणका लागि जलविद्युत् आयोजनामा पठाएको छ । लघु जलविद्युतका लागि फ्र्यान्सिस टर्बाइन प्रयोगशालामा विकास भएर प्रारम्भिक परीक्षणपछि जलविद्युत् आयोजनामा परीक्षणका लागि पठाइएको छ । यसको औसत आयु पाँच वर्षभन्दा धेरै हुने अनुमान छ ।’ नेपालमा प्रयोग भैरहेका टर्बाइन युरोप, अमेरिकामा विकास गरिएका प्रविधिमा आधारित हुन्, जहाँको नदिखोलामा यहाँको जस्तो अधिक बालुवा हुँदैन, जसले गर्दा टर्बाइनमा हाम्रो लागत बढीरहेको छ । ‘हामीले टर्बाइन त्यी मुलुकबाट आयात गर्‍यौं, जहाँ नदीखोलामा यहाँको जस्तो बालुवा बहने समस्या छैन । वर्षौं पुराना भोल्याक्यानिक (ज्वालामुखीबाट उत्पत्ति भएको) चट्टान भएकाले पनि त्यहाँ हामीकहाँ जस्तो समस्या छैन,’ उनले भने । काठमाडौँ विश्वविद्यालयको यो प्रयोगशाला विश्वव्यापी रूपमा नै पहिलो पाँचभित्र पर्ने प्रयोगशाला हो । अहिले माइक्रो हाइड्रोमा परीक्षणका लागि पठाइएको टर्बाइन परीक्षण सफल भएमा त्यसको व्यवसायिक उत्पादनका लागि निजी क्षेत्रलाई निःशुल्क प्रविधि/ज्ञान हस्तान्तरण गरिने थापाले बताए । 

नयाँ टर्बाइन (बायाँ), प्रयोगपछि बालुवाका कारण खिइएको टर्बाइन (दायाँ)

‘टर्बाइनको अनुसन्धान विश्वमा नयाँ होइन, तर हाम्रा मौलिक समस्या छन् । बालुवाको समस्याका कारण हामीले यसमा छुट्टै र नयाँ प्रविधि विकास गर्नुपरेको छ,’ उनी भन्छन् । 

अर्को, देशकै सबैभन्दा ठूलो सुपर कम्युटर ल्याब काठमाडौँ विश्वविद्यालयसँगै छ । पहिले यो आइटी पार्कमा थियो । पछि त्यहाँ सुरक्षण मुद्रण राख्‍ने भनेर यसलाई विश्वविद्यालय परिसरमै ल्याइयो । कुनै पनि इन्जिन वा आविष्कारको पहिलो डिजाइन यही प्रयोगशालामा हुन्छ । सुपर कम्प्युटर ल्याबमार्फत् ड्रोनबाट खिचिएका थ्री डाइमेन्सनल (थ्रीडी) फोटो र भिडीयो प्राप्त गर्न सकिने बताउँछन् यो प्रयोगशालाका प्रमुख राजेन्द्र अधिकारी । 

काठमाडौँ विश्वविद्यालयको कान्छो प्रयोगशाला हो– हाइड्रोजन उर्जा परीक्षण प्रयोगशाला । विश्वविद्यालयले हाइड्रोजनलाई व्यावसायिक उर्जाका रूपमा प्रयोग गर्न यसको व्यवसायिक उत्पादन, भण्डारण र सुरक्षा चुनौतीहरूका सम्बन्धमा अनुसन्धान शुरु गरेको छ । 

पानीलाई टुक्र्याएर हाइड्रोजनलाई सिलिण्डर/उच्च चाप थेग्ने ट्यांकमा संग्रह गरी खाना पकाउनदेखि औद्योगिक क्षेत्रमा समेत प्रयोग गर्न सकिन्छ । ‘यसको व्यावसायिक सम्भाव्यताका लागि लागत प्रभावी बनाउनेदेखि सुरक्षाका चुनौतीहरूलाई समेत सम्बोधन गर्नुपर्ने हुन्छ’ हाइड्रोजन प्रयोगशालाको नेतृत्व गरिरहेका विश्वविद्यालयको मेकानिकल इञ्जिनियरिङ्ग विभागकाका सहायक प्राध्यापक थापा भन्छन्, ‘सवारी साधनमा हाइड्रोजनको प्रयोगका लागि भने हामीले विश्वविद्यालयमै पेट्रोल इन्जिन सवारी साधनलाई हाइड्रोजनमा रूपान्तरण गरी चाँडै नै विश्वविद्यालय परीसरमा परीक्षण गर्दैछौं ।’ 

हाइड्रोजन लागत किफायती र सुरक्षित भएमा यसको नेपालमै व्यवसायिक उत्पादन गरी स्वच्छ उर्जाको रूपमा प्रयोग गर्न सकिने उनले बताए । वैकल्पिक उर्जाको रूपमा हाइड्रोजनलाई प्रयोग गर्दै खाना पकाउने एलपीजी (लिक्विफाइड पेट्रोलियम ग्यास) देखि सिमेन्ट र स्टिल उद्योगमा प्रयोग हुने कोइलालाई समेत क्रमशः प्रतिस्थापन गर्न सकिन्छ । 

‘पहिले त हामी हाइड्रोजनको उत्पादन, भण्डारण तथा यसको सुरक्षा चुनौतीको परीक्षण गर्छौं,’ उनले भने, ‘व्यवसायिक सम्भाव्यता देखियो र सुरक्षित उर्जाका रूपमा प्रयोग गर्न सकिने भयो भने व्यवसायिक क्षेत्रलाई आह्वान गर्छौं, उहाँहरूले हाम्रो अनुसन्धान र ज्ञानलाई निःशुल्क प्रयोग गरेर व्यावसायिक उत्पादन गर्न सक्नुहुन्छ ।’
एमोनिया, युरिया बनाउन, वनस्पतिको तेललाई घ्यू बनाउन पनि हाइड्रोजनको प्रयोग हुन्छ । 

नेपालमा स्टील र सिमेन्ट उद्योगमा अहिले व्यापक रूपमा कोइलाको प्रयोग भइरहेको सन्दर्भमा कोइलालाई विस्थापन गर्नेगरी स्वच्छ उर्जालाई प्रयोगमा ल्याउन साथै उर्जा सुरक्षाका दृष्टिले पनि हाइड्रोजन महत्वपूर्ण भएको थापाले बताए । 

सवारीसाधनमा पनि हाइड्रोजनलाई उर्जाका रूपमा व्यवसायिक प्रयोग गर्न सके यसले नेपालमै उत्पादित उर्जाको प्रयोगबाट आत्मनिर्भर बन्न सकिने बताए । जब हामीसँग प्रशस्त उर्जा उपलब्धता हुन्छ, यसले खानी, खनिज प्रशोधनदेखि उर्जा–सघन व्यवसाय गर्न सकिन्छ । कुनै पनि देशमा धेरै उर्जा उपभोग हुनु समृद्धिको सूचक पनि हो । 

‘यसका लागि हाइड्रोजन उत्पादन र प्रयोगशालामा परीक्षण हुनुपर्‍यो,’ थापाले भने, ‘हाइड्रोजन उत्पादन, भण्डारण र सुरक्षित उर्जाको रूपमा प्रयोगका लागि सुरक्षा चुनौतीका सम्बन्धमा पनि अध्ययन गरिरहेका छौं ।’

हाइड्रोजनको प्रेसर एलएनजी (लिक्विफाइड न्याचुरल ग्यास) र एलपीजीको तुलनामा धेरै हुन्छ, यसको प्रेसर ३५०–४०० बार भन्दा माथिसम्म जान्छ । त्यसकारण यसको सुरक्षासम्बन्धी चुनौती र त्यसको व्यवस्थापनका सम्बन्धमा पनि अध्ययन भैरहेको थापा बताउँछन् ।  

 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x