गण्डकी प्रदेश शिक्षाको ‘हब’ बन्न सक्ने सम्भावना
पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश शिक्षाको केन्द्र बन्न सक्ने प्रशस्त सम्भावना रहेको बताएका छन् । उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ (हिसान) गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले प्रदेश सरकारले प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित गण्डकी विश्वविद्यालय स्थापना गरेको बताए ।
‘गण्डकी प्रदेशलाई शिक्षा, खेलकुदलगायत धेरै चिजको केन्द्र बनाउन सकिन्छ, विदेशी विद्यार्थीसमेत पढ्न आउने परिकल्पनाका साथ गण्डकी विश्वविद्यालय बनेको हो, गुणस्तरीय शिक्षाको विकासका लागि निजी तथा तथा सरकारी विद्यालय र सरकारकाबीचमा राम्रो बहस हुनु आवश्यक छ,’ उनले भने ।
वर्तमान संविधानमा आधारभूत शिक्षा सबैलाई अनिवार्य तथा माध्यमिक विद्यालयसम्मको शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था गरेकाले सोको कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । देशको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेकाले निजी क्षेत्रलाई निरुत्साहित गर्दा अर्थतन्त्र चल्नै नसक्ने अवस्था आउने भएकाले प्रोत्साहन जरुरी रहेको मुख्यमन्त्री पोखरेलले बताए ।
हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवालले शैक्षिक संस्थाको संख्या वृद्धि भएको र शिक्षामा पहुँच बढे पनि गुणस्तरको विकास नभएको जनाउँदै व्यावहारिक र गरिखाने शिक्षाका बारेमा संघ, प्रदेश तथा स्थानीय सरकारको चासो हुनुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया