चीनले दियो पोखराका चार सरकारी विद्यालयलाई नि:शुल्क इन्टरनेट
काठमाडौँ - चिनियाँ दूतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ । कोभिड संक्रमणले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै दूतावासले चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको हो ।
नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चिनियाँ दूतावासको सहयोगमा जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क इन्टरनेट सेवा जडान गर्न लागिएको हो । उक्त चार विद्यालयमा निःशुल्क इन्टरनेट जडान गर्ने सम्बन्धमा मंगलबार चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल रूपमा सम्झौता भएको छ ।
सम्झौता कार्यक्रममा बोल्दै चिनियाँ राजदूत होउ यान्छीले इन्टरनेट दूर शिक्षाका लागि महत्वपूर्ण कडी भएकाले त्यसबाट टाढा रहेका सरकारी विद्यालयलाई दूतावासले सहयोग गरेको बताइन् । उनले नेपाल र चीन एक असल छिमेकी र सुख–दुःखको साथी भएको बताउँदै यसलाई कायम राख्न विद्यार्थीहरूले नेपाल र चीनबीचको इतिहास पढ्नुपर्ने बताइन् ।
राजदूत होउ यान्छीले भनिन्, ‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ ले शिक्षामा चुनौती खडा गरेको छ, शिक्षामा बाधा उत्पन्न गरेको छ, यसलाई चिर्नका लागि इन्टरनेटको विकल्प छैन,’ उनले भनिन, ‘त्यही भएर पोखरेली विद्यार्थीलाई सहज होस् भनेर हामीले सहयोग गरेका हौँ ।’
गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारले योजना अगाडि बढाइरहेको भन्दै यसका लागि चीन सरकारको सहयोग आवश्यक रहेको बताए । उनले यसका लागि चीनले नेपाललाई प्रविधिसहित दक्ष जनशक्तिमा सघाउने अपेक्षा गरेको बताए ।
सम्झौतामा नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे र चारवटै विद्यालयका प्रधानाध्यापकले मंगलवार हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उक्त विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।
चारवटै विद्यालयमा इन्टरनेट जडानका लागि आवश्यक पर्ने अप्टिकल फाईवर केवल जडान, प्रत्येक कक्षामा आवश्यक पर्ने डिभाइस, विद्युत आपूर्ति नभएका बेला पनि इन्टरनेट चलाउनका लागि सोलार इन्भर्टर र एक वर्षका लागि आवश्यक पर्ने इन्टरनेट पोखरा इन्टरनेटबाट निःशुल्क उपलब्ध गराइनेछ । यो कामका लागि करिव २० लाख रुपैयाँ खर्च लाग्ने नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष पालिखेले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया