ताप्लेजुङका पाँच विद्यार्थीलाई रिडको छात्रवृत्ति
ताप्लेजुङ - ताप्लेजुङको ग्रामीण क्षेत्रका पाँच जना विद्यार्थीले उच्च शिक्षा छात्रवृत्ति पाएका छन् । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले उनीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो ।
विपन्न र जेहेन्दार विद्यार्थीको पढाइलाई निरन्तरता दिई स्थानीय स्तरमै प्राविधिक जनशक्ति उत्पादन र रोजगारीको अवसर वृद्धि गर्ने उद्देश्यका साथ रिडको कार्य क्षेत्रभित्रका पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
रिड नेपालका जिल्ला कार्यक्रम प्रबन्धक राजेन्द्र पन्तकाअनुसार यो वर्षको छात्रवृत्तिको कुल रकम ४ लाख ८ हजार रूपैयाँ हुनेछ । पढाइ वर्षका आधारमा विद्यार्थीले यो रकम पाउने भएका छन् । पन्तकाअनुसार फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपका पेमाडोमा शेर्पाले १ लाख ४४ हजार रूपैयाँ छात्रवृत्ति पाएकी छन् । दमकस्थित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्थ असिष्टेन्ट पढिरहेकी उनले ३ वर्षभित्र छात्रवृत्ति रकम पाइसक्ने छन् ।
यस्तै दमक बहुमुखी क्याम्पसमा अध्ययनरत लेलेपकै जीवन लिम्बू र जेभियर इन्टरनेसनल कलेज काठमाडौंमा अध्ययनरत निमा साम्दे शेर्पाले २ वर्षभित्र पाइसक्ने गरी जनही ७२, ७२ हजार रूपैयाँ छात्रवृत्ति पाएका छन् । उनीहरू दुवैजना विज्ञान संकायमा अध्ययनरत छन् ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नम्बर १ सिनामस्थित सिनाम बहुमुखी क्याम्पसमा कृषि विज्ञान (जेटिए) अध्ययनरत लेलेपकै सुरेश लिम्बुले २ वर्षभित्र पाइसक्ने गरी ७२ हजार र फुङ्लिङ नगरपालिकास्थित भानु माविमा अध्ययनरत फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ४ इखाबुकी अनिता लिम्बुले ४८ हजार रुपैयाँको छात्रवृत्ति पाएका छन् ।
रिड जिल्ला प्रबन्धक पन्तकाअनुसार अहिलेसम्म रिडको कार्यक्षेत्रभित्रका ७३ जनाले यस्तो छात्रवृत्ति पाइसकेका छन् । रिडले छात्रवृत्तिस्वरुप ५० लाख रूपैयाँ खर्च गरिसकेकोसमेत जनाएको छ । फक्ताङ्लुङ गाउँपालिका(४ इखाबु, ५ तापेथोक, ६ लेलेप, ७ ओलाङ्चुङगोला तथा सिरिजंगा गाउँपालिका–६ मामाङ्खे, ७ खेवाङ र ८ याम्फुदिन रिडको कार्यक्षेत्रमा पर्छ ।
प्रथम कञ्चनजंघा आरोही बेलायती नागरिक जर्ज ब्यण्डको नाममा यो छात्रवृत्ति प्रदान गरिँदै आएको रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बुले जानकारी दिइन् । आर्थिक अभावले उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिन कठिनाइ झेल्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिएको यो छात्रवृत्ति पाएर अध्ययन गरेकाहरुले अहिले सरकारी तथा गैरसरकारी सेवामा प्रवेश गरी रोजगार बन्न पुगेका र कोही विश्वविद्यालयका विभिन्न तहमा अध्ययन गरिरहेकोसमेत रिडले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया