शिक्षा

काम्दै विद्यालय जाने बालबालिकालाई कपडा

इकागज |
मंसिर २८, २०७८ मंगलबार १५:५५ बजे

फाइल फोटो

धादिङ - बेनीघाट रोराङ गाउँपालिकाले जाडोबाट कष्ट भोगिरहेका एक हजार ५०० भन्दा बढी विद्यार्थीलाई कपडा वितरण गरेको छ । २०७८ मङ्सिर १५ गते “काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका” शीर्षकमा समाचार प्रकाशित भएपछि गाउँपालिकाका अध्यक्षले ट्र्याकसुट, जुत्ता र मोजा उपलब्ध गराएका हुन् । 

प्रजा आधारभूत विद्यालय सिमथलीमा गाउँपालिकाका अध्यक्षले उक्त कपडा वितरण गरेका थिए ।  कसैको घरमा पनि वर्षभर खानपुग्ने अन्न नहुने सिमथली र आसपास क्षेत्रका  चेपाङ समुदाय  गरिबीसँग सङ्घर्ष गर्दै आइरहेका छन् । गाउँपालिकाले ‘अध्यक्षसँग बालबालिकाको न्यानो माया’ कार्यक्रम अन्तर्गत रु २० लाख खर्चेर एक हजार ५०३ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको  प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले बताए । 


सामाजिक विकास शाखाको निर्णय बमोजिम सीमान्तकृत चेपाङलगायत गरिब दलित बालबालिका अध्यायन गर्ने उक्त विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई जाडोबाट बचाउन कपडा वितरण गरिएको शिक्षा शाखाका बोधराज पाठकले बताए । गाउँपालिकामा रहेका ६९ विद्यालयमध्ये अब २६ विद्यालयका विद्यार्थीलाई कपडा  वितरण गरिने जनाइएको छ । रासस 


Author

थप समाचार
x