शिक्षा

हिमपातले वार्षिक परीक्षा नहुँदै विद्यालय बन्द

इकागज |
पुस १२, २०७८ सोमबार १३:३९ बजे

फाइल फाेटाे

मनाङ- जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ ।

चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यो समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यसवर्ष परीक्षा नै लिन सकिएको छैन । आगामी फागुन–चैतबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । तर यसवर्ष कतै त्रैमासिक र कतै अद्र्यवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन ।


मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपात अगावै लमजुङ, चितवन, पोखरा, काठमाडौँतर्फ झर्ने गर्दथे । यस पटक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताए ।

'हिउँले चिसो बढेपछि गाउँपालिकामा बैठक बसेर यसवर्ष जाडो अघिको पढाइलाई टुङ्ग्याउन बाध्य भयौं, उनले भने ।  हिउँ नपरे फागुन १५ र परे चैत १ बाट विद्यालय खुला गर्ने निर्णय भएको छ । 'कोरोना सङ्क्रमण्ले यस वर्ष साउनबाट शैक्षिक सत्र सुरु गर्नुपर्‍यो ।

गत वर्ष चैतबाट सुरु हुन्थ्यो,' उनले भने, 'कोरोनाले शैक्षिक सत्र नै फेर्नुपर्‍यो ।' आधारभूत तहका विद्यालय मङ्सिर २० गतेबाटै बन्द गरिएको छ । यसवर्ष शैक्षिक सत्रको ४ महिना पछाडि धकेलिएको छ । कोरोनाले २०७७ मङ्सिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनुपरेको घिमिरेले बताए ।

ङिस्याङ गाउँपालिका शिक्षा तथा खेलकूद शाखा अधिकृत बाबुराम गैह्रेले माथिल्लो मनाङका सबै विद्यालय बन्द गरिसकिएको बताए । पुस १ गतेबाट लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ ।

'मङ्सिर १७-१८ बाट नै हिउँ पर्न थाल्यो । प्रायः गोरखालीका बालबच्चा छन् यहाँ । हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानुपर्‍यो भन्दै अभिभावक आउने र बालबालिका लिएर जान थाले । विद्यार्थीलाई रोक्न सकेनौं र हामीले परीक्षा रोक्न बाध्य भयौं', उनले भने ।

उनका अनुसार ङिस्याङ गाउँपालिकामा एउटा माध्यमिक विद्यालय, तीन वटा कक्षा १–७ सम्मको आधारभूत, एउटा कक्षा १–३ सम्मको आधारभूत र चार वटा कक्षा १–५ सम्मको आधारभूत विद्यालय छन् । उनले भने, 'हिउँदे बिदा माघ १५ गतेसम्मको लागि गरिएको छ । त्यसपछि विद्यालय खुल्छ ।' स्थानीय तहले माघ १५ गतेसम्मको लागि विद्यालय बन्द गरेपनि चिसोका कारण पठनपाठन हुन नसक्ने र विद्यार्थी नआउने भएकाले बिदा बाहेक विकल्प नभएको उनले बताए ।

विद्यालय बिदा भएसँगै मनाङका शिक्षकले अन्य समय विद्यालय प्रशासन खोलेर बस्ने गरेको बताउँछन् । नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित फू आधारभूत विद्यालय मङ्सिर १५ गतेदेखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले बताए । उनले भने, 'गाउँमा बस्न सक्ने अवस्था छैन । चिसोले सबै तल झरिसकेका छन्, विद्यालय बन्द गरेका छौं ।'

उनका अनुसार नारमा रहेको आधारभूत विद्यालय पनि बन्दछ । सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ गतेदेखि माघ १५ गतेसम्मलाई मात्रै तोकेको बताए ।

गाउँपालिकाले अघिल्ला वर्षमा ५० दिन तोकेको थियो । 'कोभिडले विद्यालय चलाउन सकेनौं । गत जेठ ३१ पछिको बाढीपहिराले विद्यालय भवन बगाउदा अझ लामो समय विद्यालय खुलाउन सकेनौं । बाढीपहिराले जलविद्युत् बगाउदा अनलाइन कक्षा पनि चलाउन सकेनौं,' प्रधानाध्यापक कोइराला भन्छन्, 'बल्ल–बल्ल तीन महिना जति पढायौं । फेरि यहाँको चिसोले बन्द गर्नुपर्‍यो ।'

 उहाँका अनुसार कक्षा ८, ९ र १० को परीक्षा शनिबारदेखि सकिँदैछ । आधारभूत तहको परीक्षा यसअघि नै सकिएको छ । 'तीन महिना जति पढाए पनि परीक्षा भने अर्धवार्षिक तरिकाले ४० पूर्णाङ्कको लिएका छौं । नतिजा सार्वजनिक गरेर विद्यालय बन्द गर्ने तयारी गरेका छौं', उनले भने । रासस


Author

थप समाचार
x