सरकारी विद्यालयको खस्किदो गुणस्तर
बालबालिकाको भविष्य शिक्षकको हातमा, शिक्षक नेताको साथमा
हावा चले विद्यालय बन्द हुन्छ, शिक्षक राजनीतिमा लाग्छ !
तस्बीरः ठाटीकाँध गाउँपालिका ३ स्थित श्री सरस्वती आधारभूत विद्यालय बजायाका विद्यार्थी ।
सुर्खेत - भनिन्छ, विद्यालय विद्यार्थीको दोस्रो घर हो । अनि शिक्षा मानिसको तेस्रो आँखा । नीति निर्माणका तहदेखि देशको शासन प्रशासन चलाउन शिक्षा नै आवश्यक पर्छ । शिक्षा नभएको मान्छे अन्धो कहलाउँछ । बालकको सर्वांगीण विकास गराइ सत्मार्गतर्फ उन्मुख गराउँछ ।
शिक्षाले बालकको इच्छाअनुरुपको प्रतिभालाई मलजल गरी भविष्यमा त्यही प्रतिभाले नै बालकलाई महान बनाउने बाटो बन्छ । यसर्थ, शिक्षा प्रतिभारुपी बिजका लागि अनुकूल हावापानीमा अवस्थित उर्वर भूमि हो । तर, कर्णालीका बिकट बस्तीका बालवालिकाको जीवन उही अन्धकारमा बितिरहेको छ ।
कहीँ विद्यालय भवन अभावमा विद्यार्थी चौरमा बस्न बाध्य छन् । कहीँ शिक्षाको मुख नै देख्न पाउँदैनन् । अझ भनौँ दुरदराजका विद्यार्थीहरू त्यो अन्धकारबाट बाहिर निस्कन सकेका छैनन् । बत्ती बालेर बाहिर उज्यालो दुनियाँमा रमाउन निस्किन खोज्छन् दैलोमा नपुग्दै बत्ती निभ्छ ।
कर्णालीका दुरदराजमा विद्यार्थीलाई पढ्न सक्ने वातावरण छैन । वातावरण नभएकै कारण कोही बीचैमा पढ्न छाड्छन् । विद्यार्थीलाई पढ्न जुन वातावरण हुनुपथ्र्यो त्यो नहुँदा बीचैमा पढाई छाड्ने, विद्यालय जान नमान्ने जस्ता समस्याले उनीहरूको भविष्य अन्धकारतिर धकेलिँदै गएको छ ।
त्यस्तै, एक प्रतिनिधिमूलक घटना छ, दैलेखको चामुण्डावीन्दासैनी नगरपालिका–५ बस्ताकोटमा रहेको जनता माध्यामिक विद्यालय । उक्त विद्यालयको न त भवन नै छ, न त अन्य हुनुपर्ने वातावरण । २०४० सालमा स्थानीय स्रोत–साधनबाट निर्माण भएको विद्यालयको भवन भत्किँदा न त नयाँ भवन निर्माण भयो । न त भत्केको भवनको पुनःनिर्माण भएको छ ।
स्थापनाकालदेखि हालसम्म भवन बनाउने योजना नपरेको उक्त विद्यालयमा अध्यापन गराउँदै आएको शिक्षक रामशरण रेग्मी बताउँछन् । ‘भवन भत्किने अवस्थामा थियो,’ उनले भने, ‘पटक पटक नगरपालिकासँग पनि अनुरोध गर्यौँ । केही भएन । २०७८ भदौ ८ मा परेको अविरल वर्षाले भवन भत्कियो । तर पुननिर्माणमा कसैले चासो देखाएका छैनन् । भवन नहुँदा विद्यार्थीलाई खुल्ला आकाशमुनि पढाउन बाध्य छौँ ।’
हावा चले विद्यालय बन्द हुन्छ
२०७८ भदौ ८ गते परेको अविरल वर्षाका कारण भवन भत्किएपछि हावा चलेपछि विद्यालय बन्ध गर्नुपर्ने अवस्था आएको विद्यालयका प्रधानाध्यापक जनक कार्की बताउँछन् । ‘भवन भत्किएको छ हावाचल्यो, पानी पर्यो भने विद्यालय बन्द गर्नुपर्छ,’ उनले भने, ‘अन्य हामीसँग भवन छैन । खुल्ला आकाशमुनि पढाउनुपर्ने वाध्यता छ । हावा लाग्दा पानी झर्दा विद्यालय बन्द गर्नुको विकल्प छैन । जसले गर्दा विद्यार्थीको अध्ययन/अध्यापनमा प्रत्यक्ष असर परेको छ ।’
तर एक स्थानीय चाहिँ राजनीतिककरणका कारण पनि समस्या पैदा भएको बताउँछन् । पाँच नम्बर वडामा कांग्रेसले जितेको वडा हो । नगरपालिकामा एमालेको सरकारको छ । जसले गर्दा प्रत्यक्ष रुपमा विद्यालय राजनीति चपेटामा परेको वडाध्यक्ष नारायणप्रसाद रेग्मी बताउँछन् ।
‘भवन निर्माण निम्ति पटक–पटक नगरपालिका वडा कार्यालयसम्म धाउँदा हुन्छ भन्ने आश्वासन दिए पनि भवन पुरानै अवस्थामा छ,’ उनले भने, ‘नगरपालिका लगायत अन्य सरोकारवालाहरूले हुन्छ, हुन्छ धेरैपटक भन्नुभयो अवस्था पुरानै छ । विद्यालयको भवन नहुँदा चौरमै पढाउन बाध्य छौँ ।’
जनता माध्यमिक विद्यालयमा दुई सय २४ जना विद्यार्थी छन् । एकजना बालविकास सहजकर्ता, एकजना राहत शिक्षक, एक अस्थायी र चार जना स्थायी शिक्षक रहेको प्रधानाध्यापक जनक कार्कीको भनाई छ ।
प्रदेशभर शिक्षक अभाव
कर्णाली प्रदेश अनय प्रदेशभन्दा आफैँमा पिछडिएको प्रदेश मानिन्छ । यो प्रदेशका अधिकांश सामुदायिक विद्यालयमा शिक्षक अपुग छ । जसले गर्दा विद्यार्थीको पढाइ प्रभावित हुने गरेको छ । ५१ वटा सामुदायिक विद्यालय रहेको सुर्खेतको भेरीगंगा नगरपालिकामा १४ हजार बढी विद्यार्थी छन् । शिक्षकको दरबन्दी भने दुई सय ८६ मात्रै छ । अर्थात् विद्यालय र विद्यार्थी संख्याको अनुपातमा आवश्यक पर्ने शिक्षक छैनन् ।
त्यस्तै समस्या छ, दैलेखको नारायण नगरपालिकामा पनि । ३८ वटा विद्यालय रहेको नारायणमा ६ हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । तर सरकारले निर्धारण गरेको मापदण्डअनुसार हेर्दा विद्यार्थी अनुपातमा शिक्षक अपुग छन । शिक्षक अभावको समस्या नारायण र भेरीगंगा नगरपालिकाको मात्रै होइन, कर्णाली प्रदेशभरकै समस्या हो । प्रदेशका दश वटै जिल्लाहरूमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी छैन ।
सुर्खेत जिल्लाभर मात्र करिब पाँच सय शिक्षक अपुग छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार, जिल्लाका प्राथमिक तहमा आवश्यक शिक्षक भए पनि निमावि र माध्यमिक तहमा ठूलो संख्यामा शिक्षक अभाव छ । निमाविमा दुई सय र माविमा दुई सय ४२ शिक्षक दरबन्दी आवश्यक रहेको बताइएको छ ।
शिक्षक अभाव भएपछि स्थानीय तहले दरबन्दी थप गर्न माग गरेका छन् । डोल्पामा प्राथमिक तहका लागि ७० दरबन्दी माग गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुुख दलबहादुुर बस्नेतका अनुसार, निमावि र मावि तहमा पनि शिक्षक अपुग हुँदा राहत र निजी स्रोतको भरमा विद्यालय सञ्चालन भइरहेका छन् ।
हुुम्ला जिल्लाको प्रावि तहमा तीन सय १९ दरबन्दी भए पनि अपुग भएपछि थप ९२ दरबन्दी माग गरिएको छ । निमावि र मावि तहमा दुई सय १६ शिक्षक दरबन्दी आवश्यक पर्ने समन्वय इकाईले जनाएको छ । कालीकोट जिल्लामा पाँच सयको हाराहारीमा शिक्षक दरबन्दी अपर्याप्त छ ।
यसैगरी दैलेखमा पनि ठूलो संख्यामा शिक्षक अपुग छन । शिक्षा विकास तथा समन्वय इकाईले दिएको जानकारी अनुसार, माध्यमिक तहमा मात्रै पाँच सय शिक्षक दरबन्दी आवश्यक छ । प्राविमा एक सय ५० र निमाविमा तीन सय नौ जना थप शिक्षक आवश्यक पर्ने जनाइएको छ । हाल कायम दरबन्दीमै पनि दुई सय हाराहारीमा शिक्षक दरबन्दी खाली रहेको समन्वय इकाई दैलेखले जानकारी दिइएको छ ।
रूकुुम–पश्चिमका पनि तीनैवटा तहमा दरबन्दी अभाव छ । पर्याप्त शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन समेत प्रभावित बनेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले बताए । उनले विद्यार्थी संख्याकोे आधारमा शिक्षक उपलब्ध हुुनुुपर्ने भए पनि उक्त संख्याको अनुुपातको आधा मात्र शिक्षक रहेको जानकारी दिए । ‘शिक्षक कम हुँदा राहत र निजी स्रोतका भरमा विद्यालय चलेका छन्’ उनले भने ।
कर्णालीका अन्य जिल्लामा जस्तै जाजरकोटमा पनि ठूलो मात्रामा दरबन्दीको अभाव रहेकोे पाइएको हो । प्रावि तहका लागि ७७ दरबन्दी थप गर्न माग गरिएको छ भने निमाविमा १९ र माविमा पाँच जना गरी जम्मा एक सय एक जनाको दरबन्दी माग गरिएको जनाइएको छ ।
जुम्लामा प्राविका लागि पाँच, निमाविका लागि चार र माविका लागि चार गरी जम्मा १३ जना दरबन्दी माग गरिएको छ । मुुगुुमा तीन वटै तहका लागि एक सय १८ दरबन्दी माग गरिएको छ । प्राविमा ६५, निमाविमा २९ र माविमा २४ दरबन्दी आवश्यक पर्ने देखिएको छ ।
सरकारले पहाडि जिल्लामा ४५ विद्यार्थी बराबर एक जना शिक्षक हुनुपर्ने मापदण्ड बनाएको छ । हिमालमा ४० जना विद्यार्थी बराबर एक शिक्षकको नियम छ । तर कर्णालीका सबैजसो विद्यालयले उक्त मापदण्डअनुसार शिक्षक पाएका छैनन् । शिक्षक–विद्यार्थी अनुपातअनुसार दरबन्दी मिलानको प्रयास गरिएपनि समस्या समाधान हुन सकेको छैन । विद्यालय संख्या धेरै र दरबन्दी कम भएकाले पनि सोचे अनुुसारको दरबन्दी मिल्न नसकेको शिक्षा विकास तथा समन्वय इकाई सुुर्खेतले बताएको छ । यसको असर सिधै पठनपाठनमा पर्ने गरेको छ ।
शिक्षक कम हुँदा पठन–पाठन मात्रै प्रभावित भएको छैन, त्यसको अन्य धेरै असर हुने देखिएको छ । दरबन्दी कमीले कक्षागत शिक्षक नपुुग्ने, मावि र निमाविमा विषयगत शिक्षकको अभाव हुुनेलगायतका समस्या देखिएका छन् ।
पर्याप्त दरबन्दी नभएपछि विद्यालयहरूले निजी स्रोतमा शिक्षकको व्यवस्था गर्ने गरेका छन् । यसरी व्यवस्था गरिएका शिक्षकले न्यून तलबमा काम गर्नुपर्ने समस्या एकातिर छ भने अर्कातिर एउटा विषय पढेकाले फरक विषय पढाउनुपर्ने वाध्यताले पनि जटिलता निम्त्याएको छ ।
शिक्षक नै सक्रिय राजनीतिमा
दैलेखको ठाटीकाँध गाउँपालिका–३ बस्ने जनक भण्डारीका आठ वर्षीय छोरा नबिन भण्डारी कक्षा तीनमा र उनकै अर्को छोरा हिमाल भण्डारी कक्षा–२ मा पढ्थे । असोजको पहिलो हप्ता मात्र दुईवटै छोरालाई सुर्खेत बोर्डिङ्गमा राख्न वीरेन्द्रनगर झरे । उनले वीरेन्द्रनगर–३ स्थित एक निजी स्कुलमा भर्ना गरे ।
गाउँमा त्यो पनि सरकारी स्कुलमा पढेका उनीहरूले सामान्य (क ख ग घ) र (एबिसिडी) चिन्नसम्म सकेनन् । जस्का कारण उनीहरूलाई नर्सरीमा राखियो । नबिन र हिमाल प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय सरकारी स्कुलमा पढेलेखेका अधिकांश बालबालिकाको पढाइ खस्किँदै गएको छ ।
दिनहुँ विद्यालय जाने विद्यार्थीको पढाइ बढ्ने ठाउँमा उनीहरू घट्नुको प्रमुख कारण शिक्षक राजनीतिमा अभिभावकको चासो नजानुले समस्या आएको दैलेखको चामुण्डावीन्दासैनी नगरपालिका–५ का नारायणप्रसाद रेग्मीको भनाई छ । ‘आजको युगमा सबैले स्वार्थका कारण शिक्षा भन्दा राजनीतिलाई ठूलो मान्दै पछि–पछि दौडेका छन्’ उनले भने, ‘शिक्षा क्षेत्र धमिलो हुँदै गइरहेको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया