शिक्षा

भैरहवा क्याम्पसको आयव्यय खोज्दै आन्दोलनमा उत्रिए विद्यार्थी संगठन

इकागज |
माघ १६, २०७८ आइतबार ८:१० बजे

भैरहवा- भैरहवा बहुमुखी क्याम्पसले वर्षभरिको शुल्क एकमुष्ट लिने गरी निर्णय गरेपछि विद्यार्थी संघसंगठन आन्दोलित बनेका छन् ।

 क्याम्पसको कार्यसमितिको बैठकबाट कोभिड महामारीको बेलामा पनि क्याम्पस प्रमुख लगायत विभिन्न पदमा रहेकाको भत्ता बढाइएको, शैक्षिक वर्ष २०७८ मा नयाँ भर्ना हुने विद्यार्थीसँग एकमुष्ट रकम लिने निर्णय गरेको र क्याम्पस प्रमुख लगायत केही व्यक्तिको प्रयोगको निम्ति सवारीसाधन (कार) किन्ने खबर सार्वजनिक भएकाले आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेले बताए ।


संयुक्त विद्यार्थी संगठनले विभिन्न पाँच बुँदे माग राख्दै क्याम्पस प्रमुख अनिलकुमार झालाई  ज्ञापनपत्र बुझाएका छन् । विगत सात वर्षका निर्णय र सात वर्षदेखिको आयव्ययको विवरण उपलब्ध गराउन समेत माग गरिएको छ । 

एलएलबी संकाय क्याम्पसमा ल्याउन पहल गर्नुपर्ने,  क्याम्पसको बाँकी भवन निर्माणका लागि टेण्डर आह्वान गर्नुपर्ने संयुक्त विद्यार्थी संगठनको माग छ ।

आन्दोलनमा नेकपा (एमाले) निकट अनेरास्ववियु, राप्रपा निकट विद्यार्थी संगठन, जनमत पार्टी निकट विद्यार्थी जनमत संघ छन् ।

 


Author

थप समाचार
x