सप्तरीका विद्यालय माघ मसान्तअघि नखाेल्न निर्देशन
फाइल फाेटाे
सप्तरी- सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरीका शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न निर्देशन दिएका छन् । काेभिड महामारी नियन्त्रण भइनसकेका कारण माघ मसान्त अघि शैक्षिक संस्था नखाेल्न उनले सोमबार निर्देशन दिएका हुन् ।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रुपमा उपस्थितिमा नगर्न भनिएको छ । शैक्षिक कृयाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाएर सञ्चालन गर्न उनले निर्देशन दिएका छन् ।
त्यस्तै, सबै खाले परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालन गर्न पनि निर्देशन दिएका छन् । सिनेमा हल, डान्स बार, दोहोरी नाच घर, क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र भिडभाड हुने कार्यक्रम पनि माघ मसान्तसम्म सञ्चालन नगर्न निर्देशन दिएका छन् ।
जिल्लामा १ माघदेखि शैक्षिक संस्था बन्द भए पनि १६ माघदेखि संचालनमा आएको र जिल्लामा कोभिडका बिरामी अझै बढी रहेकाले सो निर्देशन दिएको प्रजिअ गौतमले बताए । उनकाे निर्देशन विपरीत जिल्लामा अहिले पनि राजनीतिक दलको कार्यक्रम सभा सम्मेलन भने भइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया