वडाध्यक्ष कानुन विपरित विद्यालय समिति अध्यक्षमा
लाखाैँ रकम हिनामिनाको आशंकामा अभिभावकले हटाए
जनकपुरधाम - धनुषाको हँसपुर नगरपालिकाका एक वडाध्यक्ष नियम विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका छन्, उनीविरुद्ध लाखौँ रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।
नगरपालिकाका–३ का वडाध्यक्ष हुन्, उदय सिंह । उनी कार्यविधिको गलत फाइदा उठाउँदै श्रीआधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने । प्रधानाध्यापक अशोककुमार मिश्रलाई प्रभावमा पारेर गलत रकम अनियमितता गरेको आरोप अभिभावकहरुले लगाएका मात्र छैनन् कि उनलाई अध्यक्षबाट हटाइदिएका छन् ।
सोमबार नवनिर्वाचित समितिका अध्यक्ष मनोजकुमार कापरले भेला गरेको अभिभावक भेलामा प्रधानाध्यापक मिश्रले सार्वजनिक गरेको खर्च विवरणमा अभिभावकहरुले यस्तो आरोप लगाएका हुन् ।
अभिभावक बेचु मण्डलका अनुसार, सिंह अध्यक्ष बनेको बेला विद्यालयको खातामा २७ लाख रुपैयाँ थियो । विद्यालयको ६ वटा पोखरीको ठेक्काबाट प्रत्येक वर्ष २० लाखको हाराहारीमा आम्दानी हुने गरेको थियो । तर विद्यालयको माथिल्लो तल्ला र सौन्दर्यकरणको नाममा पर्खाल र केही पीसीसी ढलान मात्र गरी अनावश्यक खर्चहरु देखाएर बाँकी रकम अनियमितता गरेको आरोप मण्डल लगाउँछन् ।
त्यस्तै अर्का अभिभावक रामचन्द्र कापरले भने वडाध्यक्ष सिंह प्रधानाध्यापक मिश्रसँग मिलोमतो गरी मुस्किलले १०÷१२ लाख रुपैयाँ थपिने तल्लाको खर्च २३ लाख खर्च देखाएको र पर्खालसहित ६४ लाख रुपैयाँको अन्य अनावश्यक खर्च देखाएर प्रअको मिलोमतोमा रकम अनियमितता गरेको आरोप लगाए । उनले भने, ‘धनुषा जिल्लामै सबैभन्दा बढी आम्दानीको श्रोत हुनेमध्येका यो विद्यालय पनि एक हो, तर अवस्था जर्जर नै छ ।’
विद्यालयका अभिभावक मोहम्मद इलताफ भन्छन्, ‘जर्जर अवस्थामा रहेको विद्यालयलाई सौन्दर्यकरण गरेर स्वर्ग बनाई दिने र शैक्षिक गुणस्तर बढाई दिने आश्वासन दिई आफूहरुलाई प्रभावमा पारेर वडाध्यक्ष सिंह कानून विपरित समिति अध्यक्ष बने । तर विद्यालयको भविष्यका लागि आफूहरु केही बोलेनौं । तर उनी अध्यक्ष बनेपछि विद्यालयको सुधार त के पढाई पनि हुँदैन । वडाध्यक्षको मान्छे हुँ रोवाफ देखाएर शिक्षकहरु समेत विद्यालय आउँदैनन् ।’
समितिका सदस्य रामकुमार कापरका अनुसार, ७० वर्ष पुरानो यस विद्यालयमा आफ्नै आम्दानी श्रोत भएका कारण विगत न त जिल्ला शिक्षा कार्यालयले कुनै सहयोग गरे, न नगरपालिकाले नै कुनै सहयोग गरेको छ । सिंहले ७७ लाख आम्दानीमा ६४ लाख खर्च देखाएर करिब १३ लाख रुपैयाँ संचित देखाएको छ । हाल विद्यालयको खातामा करीब १३ लाख रुपैयाँ संचितसहित १७ लाख ५१ हजार रुपैयाँ छ ।
सिंहले देखाएको खर्च हिसाबमा माथिल्लो तल्लाको ४/५ वटा कोठामा मात्रै २३ लाख रुपैयाँ खर्च देखाइएको छ । जबकि ती काम मुश्किलले १०/१२ लाख रुपैयाँको पर्ने अभिभावकहरुको दाबी छ । यस बाहेक पर्खाल निर्माण र ५/७ मिटर पिसिसी ढलान बाहेक कुनै काम देखिनमा आएको छैन ।
खर्च हिसाबमा खाजा, प्रोग्राममै ३०/३५ लाख खर्च देखाइएको छ । सिंहको अनियमितताविरुद्ध गएको जेठ महिनामा अख्तियारमा उजुरी दिएपनि कुनै चासो नलिइएको अभिभावकहरुको गुनासो छ ।
नियम विपरित समिति अध्यक्ष बने सिंह
जनप्रतिनिधि कुनै पनि विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बन्न नसक्ने कानूनी व्यवस्था रहेको छ । नगरपालिकास्थित विभिन्न विद्यालयको अवस्था जर्जर रहेको कारण सो बेला नगरपालिका कार्यालयले विद्यालयको अवस्था सुधारका लागि वडाध्यक्षले तोकेको अभिभावकलाई व्यवस्थापन समितिको अध्यक्ष बनाइने कार्यविधिको गलत फाइदा उठाउँदै उनी अध्यक्ष बनेको थियो ।
नगरपालिकाका मेयर रामज्ञान मण्डल पनि कानुनविपरीत वडाध्यक्ष सिंह विद्यालय समितिको अध्यक्ष बनेको बताउँछन् । उनी भन्छन्, ‘नगरपालिकाले वडाध्यक्षले तोकेको अभिभावक मध्येबाट समिति अध्यक्ष हुने कार्यविधि बनाएको थियो, तर गाउँका सोझासाझा अभिभावकलाई प्रभावमा पारेर कानून विपरित आफँै अध्यक्ष बनिहाले ।’
मेयर मण्डलले करीब चार वर्षसम्म सिंह समितिको अध्यक्ष रहेपनि विद्यालयको अवस्था जर्जर नै रहेको बताउँछन् । विद्यालयको माथिल्लो तल्लाको टेण्डर पनि कानून विपरित गरेर रकम अनियमितता गरेको हो । त्यति मात्र नभई खाजा, शिक्षकको तलब, पाठ्य–पुस्तक लगायतका सबै खर्च नगरपालिकाले नै व्योहर्दै आएको अवस्थामा गलत शीर्षकहरु देखाएर प्रधानाध्यापकसँग मिलेर रकम अनियमितता गरेको दाबी मेयर मण्डलको छ ।
उनी भन्छन्, ‘एउटा निष्पक्ष छानबिन समिति गठन गरी खर्च हिसाबको छानबिन गरेर दोषी जो कोही भएपनि कानुन बमोजिम कारवाही हुनुपर्छ ।’
करीब चार वर्षको अवधिमा पनि विद्यालयको अवस्थामा सुधार नभएपछि र खर्च हिसाब पारदर्शी नगरेपछि अन्ततः सिंहलाई हटाएर अभिभावकहरुले स्थानीय मनोज कापरलाई ८÷९ महिना अघि अध्यक्ष बनाइयो । तर सिंहले लामो समयसम्म हिसाब बरबुझारथ पनि गरेका थिएनन् । पछिल्लो महिना बरबुझारथ गरेका हुन् ।
उता वडा अध्यक्ष सिंह भने आफूमाथि निराधार आरोप लगाएको दाबी गर्छन् । उनी चुनाव नजिँकिदै गएको बेला आफूलाई बदनाम गर्न राजनीतिक प्रतिशोधका कारण गलत आरोप लगाएको दलिल पेश गर्छन् ।
उनी भन्छन्, ‘मैले अनियमितता गरेको छैन । आम्दानी र खर्चको हरहिसाब पारदर्शी नै छ । सबैको अडिट रिपोर्ट छँदैछ अख्तियार छानबिन गरोस् यदि म दोषी ठहरे सजाय भोग्न तयार छु । मलाई बदनाम गर्न केही राजनीतिक दलका व्यक्तिहरुले गलत अफवाह फैलाएका छन् ।’
कानुनविपरीत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेको प्रसंगमा सिंहले आफू कानुनसम्मत् नै समितिको अध्यक्ष बनेको दाबी गरे । उनी नगरपालिका कार्यालयले नगरभित्रका विद्यालयको अवस्था सुधारका लागि वडाध्यक्ष वा वडाध्यक्षले तोकेको व्यक्ति अध्यक्ष बन्ने कार्यविधि ल्याएपछि गाउँलेहरुले आफूलाई अध्यक्ष बनाएको बताउँछन् ।
सिंह उल्टो आफू कानूनविपरीत अध्यक्ष बनेको भए किन नगरपालिकाले आफ्नो नाममा विद्यालयको खाता संचालन गर्ने अख्तियार दियो भन्ने प्रश्न गर्छन् । उनी भन्छन्, ‘कानुनविपरीत थियो भने त्यो बेला नै रोकिनु पथ्र्यो । तर त्यसबेला मेयर पनि बोलेनन् ।’
समिति अध्यक्षको निर्देशनमा रकम खर्च : प्रअ मिश्र
उता अभिभावकहरुले लगाएको आरोपबारे प्रधानाध्यापक मिश्रले भने अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्छन् । उनी भन्छन्, ‘चेकमा आफ्नो पनि हस्ताक्षर भएपनि व्यवस्थापन समितिले गरेको निर्णय अनुसार आफूले खर्च रकम निकासा गरेको हो ।’
अनावश्यक र फर्जी खर्चमा रकम निकासा गर्नु उचित नभएको जिज्ञासामा मिश्रले भन्छन्, ‘विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय अस्वीकार गर्न सक्ने अधिकार आफूमा निहित नभएको कारण रकम निकासा गर्नु परेको हो । जहाँसम्म विद्यालयमा पढाईको कुरा हो, आफू उपस्थित रहेको बेलामा सबै शिक्षकले पढाउने गरेका छन् । तर आफू अनुपस्थित हुँदा विद्यालय नै नआउने, आएपनि नपढाउने जस्ता कार्य भइरहेको छ ।’
कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा हाल साढे ४ सय विद्यार्थीको नाम देखिन्छ । तर पढाई नै नियमित नहुने गरेको कारण विद्यार्थी पनि मुस्किलले दुई अढाई सय मात्र आउने गरेको र पढाई नभएपछि फर्किने गरेका छन् । हुन त, विद्यालयमा ७ जना दरबन्दी र ३ जना बालविकास गरी १० जना शिक्षक कार्यरत छन् ।
विद्यालयको सुधार गर्ने लक्ष्य
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कापरले विद्यालयको खर्च हिसाब पारदर्शी राख्ने, संचित रकम र आम्दानीबाट सबभन्दा पहिला विद्यालयको संरचनाहरु तयार गर्ने र शैक्षिक गुणस्तरीय कायम गर्ने अभिभावक भेलामा प्रतिबद्धता जनाएका छन् ।
उनले भने, ‘विद्यालयको अवस्था लथालिंग छ, पहिला यसको सुधार गर्नेछु, त्यसपछि पारदर्शी ढंगले खर्च हिसाब राख्ने र विद्यालयका संरचनाहरु आन्तरिक श्रोत तथा सम्बन्धित निकायबाट निर्माण गर्न लगाउने छु ।’
शैक्षिक गुणस्तरीयताका लागि नियमित पठन पाठन गराउनुका साथै आधारभूत तहसम्म रहेकालाई दुई वर्षको अवधिमा कम्तिमा कक्षा १० सम्म पुरयाउनेछु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया