विद्यालय खोल्ने वातावरण बनाउन प्याब्सनको माग
बुटवल– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, लुम्बिनी प्रदेश समितिले कोरोनाको तेस्रो लहरको संक्रमणका कारण बन्द भएका विद्यालय खोल्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । सरकारले शैक्षिक संस्थाहरु पूर्ण रुपले बन्द गरेकोप्रति ध्यानाकर्षण गराउँदै विद्यार्थीहरुको पढाईमा पारेको असर र आगामी दिनमा त्यसले पार्ने प्रभावमा गम्भीर बन्न आग्रह गरिएको छ ।
बिहिबार प्याब्सन लुम्विनी प्रदेशका तर्फबाट मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी विद्यालय खोल्ने वातावरण तयार गर्न आग्रहसहितको ध्यानाकर्षण पत्र बुझाएको थियो।
प्याब्सन, प्रदेश अध्यक्ष लालहरि पाण्डेको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्रीसमक्ष प्रदेश सरकारको तर्फबाट विद्यालय खोल्न विशेष पहलकदमी अगाडि बढाउन आग्रह गर्दै लामो समयसम्म विद्यालयहरू बन्द भएको खण्डमा त्यसका नकारात्मक असर बालबालिकामा नराम्रोसँग पर्ने भन्दै ध्यानाकर्षणमा सचेत हुन भनिएको छ ।
पत्र बुझ्दै मुख्यमन्त्री कुल प्रसाद केसीले विद्यालय बन्द रहेको अवस्थाप्रति आफू गम्भीर रहेको बताउँदै विद्यालय खोल्ने बारेमा आफूले पहल गर्ने धारणा राखे। उनले विद्यार्थीलाई दिने खोपलाई व्यवस्थित बनाउने र शैक्षिक क्षेत्र सुचारु गर्ने कुरामा आफुले सिसिएमसीको बैठक राखेर अध्ययन गर्न आग्रह गर्ने प्रतिवद्धता व्यक्त गरे।
ध्यानाकर्षणपत्रमा कोरोनाबाट सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै विकासको प्रमुख आधार शिक्षा क्षेत्र नराम्रोसंग प्रभावित भएको र त्यसका कारण आर्थिक, सामाजिक र सांस्कृति विकासको गति पनि पछाडी धकेलिने अवस्था आएको जनाइएको छ । मुख्यमन्त्रीसँग कोरोनाको संक्रमण दर अधिक भएपनि त्यसको प्रभाव डरलाग्दो रुपमा नदेखिएको र मृत्युदर पनि न्यून रहेको अवस्थामा आमनागरिकलाई खोपको व्यवस्था गर्न तथा स्वाश्थ्य मापदण्डको पूर्ण पालना गराई विद्यालय सञ्चालन गर्ने बातावरण बनाउन जरुरी भएको भन्दै पहल गर्न अनुरोध गरिएको छ ।
सो अवसरमा प्याव्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले अन्य व्यवसाय र क्षेत्रहरु निर्वाध रुपमा खुलिरहेको अवस्थामा विद्यालयलाई कोरोनाको खानी र स्रोत नै होकि भन्ने गरि बन्द मात्र गर्दा त्यसको असर समाजमा धेरै पर्ने बताए ।
अभिभावक संघका प्रदेश अध्यक्ष हेम थापाले अभिभावकहरुको भावना र आवश्यक्तालाई मध्यनगर गर्दै शैक्षिक क्षेत्र सञ्चालन गर्नु पर्ने बताउदै कोरोनाको नाममा समाजलाई हत्तोत्साहित गर्ने काम राज्यबाट गर्न नहुने धारणा राखे ।
प्याब्सन, प्रदेश कमिटिले विद्यालय सञ्चालनका लागि विभिन्न ७ वटा सुझावसहितका बुदा प्रदेश सरकारलाई बुझाएको छ । जसमा सबै वालबालिकाहरुलाई अविलम्ब खोपको व्यवस्था गर्नु पर्ने, विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई उच्च प्राथमिकतामा राखेर बुष्टरडोज उपलब्ध गराउनु पर्ने, स्वाश्थ्य मापदण्डको पालना गराई आलोपालो गरी भौतिक रुपमा कक्षा सञ्चालन गराउनु पर्ने, विद्यालयक सुचारु गर्न स्थानीय पालिकालाई जिम्मेवारी दिनुपर्ने, स्वाश्थ्य मापदण्डको पालना भए/नभएको कार्य अनुगमन गर्न स्थानीय सरकारलाई निर्देशन गर्नुपर्ने तथा स्वाश्थ्य सचेतता अभियान चलाएर आम नागरिकलाई सचेत बनाइ राख्नुपर्नेलगायत रहेका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया