शिक्षा

प्रदेश १

मनमोहनमा सिभिल र इलेक्ट्रोनिक्स इन्जिनियरिङकाे स्नातक तह पढाइ

बाबुराम भण्डारी |
फागुन २, २०७८ सोमबार २०:५७ बजे

विराटनगर - प्रदेश १ सरकार मातहतको मनमोहन प्राविधिक विश्वविद्यालयले इन्जिनियरिङतर्फ स्नातक तहको अध्यापन सुरु गर्ने भएको छ । मनमोहन प्राविधिक विश्वविद्यालय ऐन अन्तरगत दुई वर्षअघि प्रदेश सरकारलाई हस्तान्तरण भएको प्राविधिक विश्वविद्यालयले आगामी वैशाखदेखि चार वर्षे सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङको अध्यापन सुरु गर्न आवश्यक सबै तयारी अघि बढाएको हो ।

विद्यालय विद्यालयले सोमबार दुवै शैक्षिक कार्यक्रममा २४÷२४ जना विद्यार्थी भर्ना लिन लागेको जनाएको छ । आगामी शैक्षिक सत्रदेखि व्याचलर इन सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ सुरु गर्न लागिएको विश्वविद्यालयका उपकुलपति डा.शुभाषश्री पोखरेलले बताए ।


उनले विश्वविद्यालयको १० वर्षे शैक्षिक कार्ययोजना अनुसार पाठ्यक्रमहरुको तर्जुमा गरिसकेकोले पहिलो पाँच वर्षभित्रै स्नातक तहतर्फ थप ७ वटा र स्नाकोत्तर तहतर्फ ५ वटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको समेत जानकारी दिए । 

पहिलो चरणमा सुरु हुने सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ तर्फको शैक्षिक कार्यक्रमका लागि आवश्यक पर्ने प्रयोगशाला, शैक्षिक जनशक्ति लगायतका साधन स्रोतको व्यवस्थापनको तयारी अन्तिम चरणमा रहेको जनाइएको छ । प्रयोगशालाका लागि आवश्यक पूर्वाधारका सामग्रीहरु तयार गरिसकेको र शैक्षिक जनशक्तितर्फ कर्मचारी र प्राध्यापकहरुको नियुक्ति प्रकृया एक साताभित्र सुरु हुने उपकुलपति पोखरेलले बताए ।

प्रदेश १ सरकार मातहतको एकमात्र प्राविधिक विश्वविद्यालयले प्राविधिक क्षेत्रका दर्जनौं शैक्षिक कार्यक्रम तयार गरी अध्यापन सुरु गर्ने योजना बनाएपनि सरकारले न्यून बजेट विनियोजन गरेका कारण थप शैक्षिक कार्यक्रम सञ्चालन गर्न समस्या भइरहेको विश्वविद्यालय प्रशासनको भनाइ छ । गत वर्ष विश्वविद्यालयको पूर्वाधार विकासका लागि आवश्यक पर्ने ४५ करोड रुपैयाँ प्रदेश सरकारसँग माग गरिएपनि ५ करोडमात्रै निकासा भएको जनाइएको छ । सरकारले थप पैसा उपलब्ध गराउन सकेको खण्डमा स्नातक तहतर्फ आर्किटेक्चर, कम्प्युटर, मेडिकल ल्याबोरोटरी टेक्नोलोजी, पब्लिक हेल्थ, बीएससी फार्मेसी लगायतका थप शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालय तयार रहेको उपकुलपति पोखरेलले बताए । 

अध्यापन सुरु गर्न लागिएका दुईवटा शैक्षिक कार्यक्रमका लागि विश्वविद्यालयले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको सूचना समेत आह्वान गरिसकेको उनले बताए ।विश्वविद्यालयले चारवर्षे सिभिल इन्जिनियरिङमा ५ लाख ८० हजार र इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका लागि ५ लाख ७० हजार शुल्क तोकेको छ । प्रदेश सरकारले विश्वविद्यालयलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रमुख थलोको रुपमा विकास गर्न इमान्दारपूर्वक सहयोग गर्नुपर्ने खाँचो रहेको विश्वविद्यालयको भनाइ छ । अहिलेको अवस्थामा विश्वविद्यालयलाई बार्षिक १५ करोड रुपैयाँ चालू खर्च आवश्यक पर्ने जनाइएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तिमुडामा रहेको मनमोहन पोलिटेक्निकलाई प्रदेश १ सरकारले दुई वर्षअघि ऐन ल्याएर प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गरेको थियो । विश्वविद्यालय सञ्चालनका लागि आवश्यक थप नीतिगत र संरचनागत व्यवस्थाको अभावका बिच २०७६ असोजमा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी मनमोहन विश्वविद्यालयको स्थापना गरिएको थियो ।

उक्त विश्वविद्यालय प्रदेश १ मा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उदेश्यले स्थापित भएको नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय हो । तर निकै मेहनतपछि मात्रै विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातक तहको इन्जीनियरिङ पढाइ सुरु गर्न लागेको हो । विश्वविद्यालयले २०८३/८७ सालसम्मको अवधिभित्र स्नातक तहतर्फ प्राविधिक क्षेत्रका दर्जनौं विषयमा स्नातक, स्नाकोत्तर र विद्यावारिधिसम्मको अध्यापन गराउने लक्ष्य राखेर पूर्वाधार निर्माणको काम अघि बढाइएको उपकुलपति पोखरेलले जानकारी दिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x