शिक्षा

आधुनिक र प्राविधिक शिक्षाका नायक नारायण सिग्देल

‘पढ्दै कमाउँदै कार्यक्रम’का कोरियोग्राफर शिक्षक

विष्णु विवेक |
फागुन ५, २०७८ बिहीबार ६:४१ बजे

ग्राफिक्स : यमन मानन्धर

काठमाडौँ - नेपालमा फलाम खानी छ । तर सियो पनि विदेशबाट आयात गर्नुपरिरहेको छ । खानी भएर के गर्नु ? खेतीपाती गर्नेदेखि खानेकुरा उत्पादनमा आयातकै भर पर्नुपर्छ ।

६० प्रतिशत घरमा अहिले पनि चुल्हो बल्छ । दाउरा बालेर खाना पकाइन्छ । तर खरानी आयात गरेर काम चलाउनुपर्छ । सुन त बालुवामा खोजे केही मिल्न सक्छ । तर नुन किन्नैपर्छ ।


यद्यपि, हरेकका घरमा फलाउन सकिने खुर्सानी पनि आयात गर्नुपर्ने बाध्यता छ । यसको फेहरिस्त लामो छ । निर्यात दैनिक घट्दो छ । अनि आयात दैनिक बढ्दो छ । नेताहरूलाई एमसीसीको चिन्ता छ । जनतालाई आफ्नो भोक प्यारो छ । देशको आत्मनिर्भर अर्थतन्त्रका विषयमा सोच्ने फुर्सद कसलाई छ ?

सुर्खेतको बड्डीचौरमा रहेको जनज्योती माध्यामिक विद्यालयका शिक्षक नारायण सिग्देल अहिले यस्तै प्रश्नको जवाफ खोजिरहेका छन् । यसको आधाउधि उत्तर खोज्न उनले आफूले पढाइरहेको विद्यालयलाई नमूना बनाएका छन् । स्कुलमै पढ्ने विद्यार्थीलाई हलो जोत्ने, माछा पाल्ने, मौरी पाल्ने काम गराएर पँैसा कमाउने बनाएका छन् । 

हिजो स्कुल पढेपछि रोजगारीका लागि भारत जाने विद्यार्थी अहिले गाउँघरमै केही व्यापार व्यवसाय गरिरहेका छन् । अनि आफ्नो स्कुलमा लागू गरेको पढ्ने, पढाउने र कमाउने कार्यक्रम देशभरका विद्यालयमा लागू गर्ने सरकारी कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।

आखिर यो सबै कसरी सम्भव भयो ? वास्तविकता थाहा पाउन तनहुँदेखि सुर्खेतको बड्डीचौर पुग्नुपर्छ ।

तनहुँदेखि सुर्खेत बड्डीचौरसम्म 

कर्णालीको प्रवेशद्धार जुम्ला जाने कर्णाली राजमार्गमै पर्छ, सुर्खेतको बड्डीचौर । जहाँबाट २०० मीटरको दूरीमा जनज्योती माध्यामिक विद्यालय पर्छ । २०३९ सालमा स्थापना भएको यो विद्यालयमा जागिर खानका लागि २०४६ सालमा तनहुँबाट सुर्खेत पुगेका हुन्, सिग्देल । जतिबेला विद्यालयमा कक्षा ७ सम्म पढाइ हुन्थ्यो । 

अवस्था नाजुक थियो । विद्यार्थी कम थिए । शिक्षक झन् थोरै । पठनपाठन ठिकै । आशा र उत्साह लगभग शून्य । विद्यार्थीले पढ्ने र शिक्षकले पढाउनेबाहेक यो विद्यालयमा अर्थोक हुँदैन्थ्यो ।

तर सिग्देलले जाँगर चलाए । चक डस्टर मात्रै होइन, उनले दिमाग चलाए । विद्यार्थीका मन पढेँ । विद्यालयको प्रा‌गण हेरे । वर्षामा चुहिने स्कुलको टिनको छाना पनि हेरे । अवस्था भद्रगोल थियो ।

यसरी हुँदैन । उनलाई लाग्यो, यो अवस्था फेर्नुपर्छ । फेर्न सकिन्छ । उनलाई आफ्नो मन र परिवर्तनमा विश्वास थियो । तर त्यो गफले होइन, इच्छाशक्तिले मात्रै सम्भव छ भन्ने पनि उनलाई थाहा थियो ।

सुरु आफैँबाट गरेँ । विद्यार्थीमा उत्साह भरे । शिक्षकमा प्रोत्साहन । अभिभावकमा आशा र भरोसा राखे । यही लगावले उनी २०४८ सालमा विद्यालयका प्रधानाध्यापक नियुक्त भए । अब जिम्मेवारी काँधमा आइलाग्यो ।

उनले पहिलो कदम उठाए । कक्षा ८ सम्म पठनपाठन हुने व्यवस्था मिलाए । यसका लागि विद्यालयमा चन्दा संकलन गरेर ७५ हजार रुपैयाँसम्म संकलन गरे । हौसला बढ्यो । त्यसपछि विद्यालयको पठनपाठन कक्षा १० सम्म पुर्याए । 

यो सजिलो थिएन । उनले महायज्ञसम्म लगाएका छन् । विद्यालयमा कक्षा थप्न, अनुमति लिन र प्राविधिक विषयको पठनपाठनका लागि महायज्ञ लगाएर भएपनि आवश्यक रकमको जोहो गरेका छन् ।

उनले यति गरेपछि जनज्योति माध्यामिक विद्यालय बन्यो । जुन मामुली एक पढ्ने र पढाउने ठाउँ मात्रै थिएन, शिक्षकका लागि घर थियो । विद्यार्थीका लागि भविष्य बनाउने र पैँसा कमाउने कारखाना । यसका लागि उनले झण्डै तीस वर्ष संघर्ष गरे । 

ओठमा जुँगाको रेखी लागेका बेला उनले थालेको आधुनिक र प्राविधिक शिक्षाको अभियानले झण्डै तीन दशकपछि मूर्तरुप पायो । अनि देशी विदेशीका नजरमा पर्यो । जसको चर्चा मात्रै भएन, नेपालको आधुनिक र प्राविधिक शिक्षाको नेतृत्व लिन सफल भयो ।

‘विद्यार्थीलाई पढाएर मात्रै हुँदैन, सीप दिनुपर्छ । अर्थात ‘स्कील’ त्यो भनेको पाँच वटा अक्षरले बन्छ । त्यसरी नै योजना, संरचना र कार्यक्रम बनाएर लागू गर्नुपर्छ,’ २०७२ सालमा क्यापिटल एफएमको स्टुडियोमा सिग्देल सर भन्थे, ‘यदि स्कीलको ‘एस’ भएन भने विद्यार्थी ‘किल’ हुन्छ । अर्थात मारिन्छ ।’

आधुनिक र प्राविधिक विद्यालयको जग 

सिग्देल सरका शब्दमा त्यतिबेला जनज्योतिका विद्यार्थी स्कुलमै मारिन विवश थिए । पढायो । प्रमाणपत्र दियो । पठायो । तर सीप दिइएन । विद्यार्थी बेरोजगार भए । पैँसा कमाउन भारत र खाडी देश लागे । धेरै जिवित फर्किए । कति उतै मारिए । फर्केकाहरू पनि फेरि विदेश जानुपथ्र्यो । घरमा हलो जोत्न विद्यार्थी लजाउँथे । गाउँघरमा हलो जोत्न लजाउने विद्यार्थी विदेश गएर शौचालय सफा गर्थे । अहिले पनि गरिरहेकै छन् । भारी पनि बोक्छन् ।

यो देखेर उनको मन अमिलो भयो । यो पचासको दशककै कुरा हो । काम सानो ठूलो हुँदैन । उनले मन फेरे । प्रण गरे । विद्यार्थीलाई स्कुलमै हलो जोताउनुपर्छ । खेत खन्न लगाउनुपर्छ । माछा पाल्न लगाउनुपर्छ । भैँसी पाल्नुपर्छ । गाई बाख्रा चराउनुपर्छ । घाँस काट््नुपर्छ । स्कुलमै कृषिकर्म गर्नुपर्छ । पैँसा आउने रोजगारीको बाटो देखाउनुपर्छ । 

यो एउटा काम थियो । सीप सिकाउने बाँकी काम पनि स्कुलमै गर्नुपर्नेमा उनले सबथोक अगाडि सारे । विद्यार्थीलाई चित्त बुझ्यो । शिक्षकले आँट गरे । अभिभावकले काँध थापे । सिग्देलले पाइला अघि बढाए ।

यो काम नेपालमा सीटीइभीटीले गर्दै आएको थियो÷छ । उनले अनुमति लिए । स्कुलमै सीटीइभीटीले पठनपाठन थाले । कृषिविज्ञानको अनुमति पनि लिए । स्कुलमै पढाउन थाले । 

विद्यार्थीलाई पढ्न बाहिर जानुपरेन । उनको काम गर्ने शैली अलग थियो । रोचक थियो । शिक्षक र विद्यार्थीको मन रम्यो । उनको मन पनि जनज्योतीमै जम्यो । विद्यालयको पठनपाठन नमूना बन्यो । हिजो मूश्किलले एक सय विद्यार्थी हुने स्कुलमा आज सयौँ विद्यार्थी छन् । क्याम्पस बनिसक्यो । धेरैजसो प्राविधिक विषयको पठनपाठन हुन्छ । 

स्कुलमै तरकारी उत्पादन हुन्छ । भैँसी पालिएको छ । गाई, बाख्रा, बंगुर र माछापालन व्यवसाय चलिरहेको छ । पैँसा बाहिर जाँदैन । उल्टै स्कुलमै कमाइ हुन्छ । विद्यार्थी काम गर्छन् । पैँसा कमाउँछन् । व्यवसाय गर्नेका लागि स्कुलले ऋण पनि दिन्छ । विद्यार्थी पढाई सकेर व्यवसायी बन्छन् । अरुलाई रोजगारी दिन्छन् । गाउँघरमै पैँसा कमाउँछन् ।

जुन कामको चर्चा स्थानीय पत्रपत्रिकादेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियामा समेत भइसकेको थियो । तर सरकारले सुनेन । बरु दाताले सहयोग गरे । स्थानीयले चन्दा दिए । तर पनि सरकारले उनको काम सुरुमा पत्याएको थिएन । आधारभूत सहयोगबाहेक अरु पाउन ढुंगाका चिउरा चपाउनुसरह थियो । उनले हार मानेनन् । किनकी यसलाई बड्डीचौरको एक स्कुलमा सीमित पार्नु थिएन । 

‘हामी अब सैद्धान्तिक ज्ञान दिन छाडौँ । विद्यालय नमूना बनाउन मात्रै होइन, विद्यार्थीलाई सीप दिनतिर लागौँ,’ संघीय लोकतान्त्रिक गणतन्त्रपछिको समृृद्ध नेपाल बनाउने नेताहरूले सपना बाँडिरहेका बेला सिग्देल भन्थे, ‘ठूलो भाषण दिएर स्कुल राम्रा बन्दैनन् । विद्यार्थी काम लाग्दैनन् । 

साना साना कुरामा विद्यार्थीलाई स्कुलमै सबै सीप र व्यवसाय गर्ने सबैथोक दिएर पठाऔँ । अनि मात्रै केही परिवर्तन हुन्छ ।’ उनले भनेजस्तै शिक्षाका गफ धेरै भए । तर वास्तविकता केही छैन । अभिभावक गुणस्तरका नमूना बोर्डिङ स्कुललाई ठानिरहेका छन् । पसिना बगाएर छोराछोरीको फी तिरेपछि गुणस्तरीय शिक्षा पाइरहेको भ्रममा बाँचिरहेका छन् । तर सिग्देल फरक बाटो लागे । हार खाएनन् ।

सिंहदरबारमा लबिङ, पढ्दै कमाउँदै कार्यक्रमको कोरियोग्राफी 

२०७६ सालको चिसो महिनामा कृषि मन्त्रालयको कुर्सीमा घनश्याम भुसाल मन्त्री बन्न पुगे । केही कृषिबिटका पत्रकार कृषि क्रान्ति गर्ने सपना बाँडेका भुसाललाई बधाई दिन मन्त्रालय पुगेका थिए ।

बाहिर पत्रकार कृषिमन्त्रीलाई कुरिरहेका थिए । भित्र सिग्देल सर उनै मन्त्रीलाई अब स्कुल स्कुलमा कृषि पेशा र व्यवसायलाई कसरी आधुनिकीकरण गर्ने भनेर पाठ पढाइरहेका थिए । 

उनले राम्रै सुझाव दिए । सबै प्रस्ताव पेश पनि गरे । तर वैज्ञानिक र कृषि क्रान्तिको गफ दिएर कहिल्यै नथाक्ने घनश्याम भुसालले माखो मारेनन् । सिग्देलका कुरा सुनेनन् ।

जेनतेन झण्डै एक वर्ष मन्त्री भुसाल कृषि मन्त्री बने । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि भुसाल मन्त्रीको कुर्सी छाडेर सडकमा पुगे । ओलीतिर धारे हात लगाउँदै गाली गर्न थाले । 

सिग्देल सरका कुरा सबै सुन्थे । तर कहिल्यै लागू गरेनन् । गणतन्त्रपछिका सबै शिक्षामन्त्रीलाई उनले आफ्नो स्कुलको सुत्र नभनेका होइनन् । कृषिमन्त्रीलाई पनि त्यसैगरि नसुनाएका होइनन् । गिरिराजमणिदेखि घनश्याम भुसाललेसम्म एक कानले सुनेर अर्को कानले उडाए ।

तर पनि उनले हिम्मत हारेनन् । जनज्योतीको प्रयोग, प्रमाण र सफलताको स्रोत उनले निरन्तर सिंहदरबारमा सुनाइरहे । तर कसैले राम्ररी सुनेनन् । सुनेपनि त्यसलाई राष्ट्रिय बजेटमा समावेश गरेर लागू गर्न चाहेनन् ।

ओली सरकार ढलेर देउवा सरकार बन्यो । अर्थमन्त्री बने कर्णालीकै जनार्दन शर्मा । उनले पुरक बजेटमा पहिलोपटक जनज्योतीको सुत्राधार ‘पढ्दै कमाउँदै कार्यक्रम’ समेटे । पहिलो चरणमा देशका विभिन्न ३० वटा विद्यालय छनौट गरियो ।

१४ करोड बजेट बिनियोजन गरिएको छ । अहिले पनि विभिन्न विद्यालयमा यो कार्यक्रम लागू भएको छ । अब सैद्धान्तिक ज्ञान मात्रै होइन, गाउँघरमै भइरहेका व्यवसायलाई स्कुलदेखि नै व्यवस्थित गरेर सञ्चालन गर्न सक्ने गरि आधुनिक र प्राविधिक ज्ञान दिने यो कार्यक्रमको उद्धेश्य हो ।

यसले उनी खुशी छन् । सिंहदरबारमै कर्मचारीले सिग्देललाई अगाडि राखेर कार्यविधि बनाए । त्यसलाई मस्यौदा गरे । शिक्षा मन्त्रालय, कृषि मन्त्रालयसँग मिलेर बनाइएको कार्यविधिमा अर्थ मन्त्रालयले पूरा साथ दियो ।

अहिले पहिलो चरणमा छनौट भएका विद्यालयमा पुगेर कार्यक्रम संयोजकका हैसियतमा सिग्देल पढ््दै कमाउँदै कार्यक्रमको लक्ष्य, उद्धेश्य र नेपाललाई आत्मनिर्भर बनाउने बाटोमा देशलाई लैजाने सुत्र सिकाइरहेका छन् । 

तर पनि उनले देशलाई कसरी उत्पादनमा आत्मनिर्भर बनाउने भन्ने प्रश्नको उत्तर खोजिरहेका छन् । बुधबा यसबारे जिज्ञासा राख्दा भने, ‘कार्यक्रम धेरै स्कुलमा राम्रोसँग लागू भएको छ । तर मैले त हामीले खाने खुर्सानीदेखि खरानीसम्म पनि ठूलो मात्रामा आयात भइरहेको सुन्दैछु । यसरी त कसरी देश बन्ला खोई ?’

यसरी पक्कै देश बन्दैन । उनलाई राम्रोसँग थाहा छ । तर उनी थाहा पाएर बसेका छैनन । सरकार शिक्षामा विदेशी ऋण खोजेर सुधार कार्यक्रम ल्याउन लागिरहेका बेला उनी विद्यालयमै विद्यार्थीलाई पढाउने र पढ्दै कमाउँने कुरा सिकाइरहेका छन् ।

त्यही कुरा देशभरका विद्यालयमा लागू गर्न कार्यक्रम ल्याएका सिग्देल नेपाली माटो, अवस्था, परिस्थिती र सुहाउँदो शिक्षाका नायक हुन् । जो बाहिर गफमा आधुनिक र प्राविधिक भनिन्छ । त्यसको ‘रियल’ प्रयोग उनले गरिरहेका छन् । 


 
 

 


Author

विष्णु विवेक

राजनीति, समाज, शिक्षा, पर्यटन लगायत समसामयिक विषयमा कलम चलाउने विवेक करेस्पोन्डेन्ट हुन् ।


थप समाचार
x