शिक्षा

मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेज

अध्यक्ष झा भन्छन् : कुनै स्पष्टीकरण नै नलिई सोझै सम्बन्धन खारेज गर्नु गलत हो

सुभाष कर्ण |
फागुन १३, २०७८ शुक्रबार १९:५० बजे

जनकपुरधाम – धनुषाको नगराइन नगरपालिक स्थित गंगुलीमा रहेको मिथिला आयुर्वेद कलेजको स्नातक तहको सम्बन्धन खारेज भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेजमा अब आयुर्वेद स्नातक तह (बीएमएस) को पठन पाठन नहुने भएको छ । विश्वविद्यालयले कलेजको अवस्था अस्तव्यस्त रहेको भन्दै सोे सम्बन्धन खारेज गरेको गरेको हो ।


विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले सम्बन्धन खारेजको निर्णय गरेकाे आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय वेलझुण्डि दाङले एक सूचना जारी गरी जनाएको छ । परिषद्को निर्णय न‍म्बर १३७ अनुसार सम्बन्धन खारेज गरिएको भन्दै अध्ययनरत बाँकी रहेका विद्यार्थीको अध्ययन केन्द्रीय आयुर्वेद विद्यापीठबाट पुरा हुने जनाएको छ ।

यता कलेजका अध्यक्ष शिवनारायण झाले बिना कुनै कारण सम्बन्धन खारेज गरिएकोप्रति गुनासो गरेका छन । इकागजसँग कुरा गर्दै उनले भने, 'सम्बन्धन खारेज गर्नुको प्रक्रिया हुन्छ, कुनै विद्यार्थीको मौखिक गुनासोमा खारेज गर्न सकिँदैन । सम्बन्धन खारेज गर्नुपूर्व कमिटी गठन गर्नुपथ्र्यो, त्यसपछि स्पष्टीकरण माग्ने प्रक्रिया पुरा गर्नुपथ्र्यो तर त्यसरी नगरी सोझै सम्बन्धन खारेज गर्नु गलत हो।'

अध्यक्ष झाले थप्दै भने, 'गएकाे भदौ महिनामा विश्वविद्यालयले हामीसँग तोकिएको ठाउँमा कलेज नदेखिएको र के कस्तो अवस्था छ भन्ने जवाफ मागेको थियो, त्यसको जवाफ पनि कलेजले सोही बेला पठाइसकेको थियो । भाडाको भवनमा कलेज सञ्चालन भइरहेकोमा प्रदेश सरकारको कारण विवाद भएपछि त्यहाँबाट सारेर नगराईन चौकमा लगेका छौं।' त्यसको जानकारी पनि विश्वविद्यालयलाई गराइसकेको उनले बताए ।

उनले भने, ' कोभिडको बेला प्रदेश सरकारले कलेजको भवन क्वारेन्टाइनका लागि नियन्त्रणमा लिएपछि केही दिन बन्द रहयो, पछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएर भवन कलेज आफ्नो मातहतमा ल्यायौं तर भाडा प्रदेश सरकारले तिरेनन्, कलेजलाई नै तिर्नु पर्‍यो । पछि सोही विवाद र भवन क्षतिग्रस्त भएको कारण कलेज त्यहाँबाट सार्नु पर्‍याे।'

एकमात्र बीएमएसको अध्यापन गराउँदै आएको सो कलेजमा प्रथम वर्षमा ९ र द्वितीय वर्षमा २२ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।  ती विद्यार्थीहरुको पठन पाठन नयाँ भवनमै सञ्चालन हुँदै आएको उनले बताए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x