बीपी र जेपी नारायणलाई आर्थिक सहयोग गर्ने राजकृष्ण
बीपी कोईरालाले आत्मवृतान्तमा भारतीय समाजवादी नेता जय प्रकाश नारायण(जेपी) लाई भारतको पहिलो लोकसभाको निर्वाचन (सन् १९५२) का लागि दुई लाख रुपैयाँ आफुहरुले सहयोग गरेको प्रसङ्ग उल्लेख गरेका छन् । भारतमा कांग्रेसबाट अलग भएर सोसलिष्ट पार्टी स्थापना गरेका नेता जेपीलाई पहिलो पटकको निर्वाचनमा आर्थिक अभाव थियो । जेपीले निर्वाचनका लागि बीपी मार्फत भारतमा धनाढ्य कहलिएका नेपाली व्यावसायी सुर्वण शमशेरसँग नगद सहयोगको अपेक्षा गरेछन् । त्यही कुरा बीपीले समकक्षी गणेशमानलाई सुनाएका थिए ।
गणेशमान २००७ सालमा उद्योग मन्त्री थिए । गणेशमानले पनि हुन्छ, जुटाउँला भनेछन् । तर आर्थिक सहयोगका लागि सुर्वणलाई नभन्नु भनेछन् । त्यतिवेलै गणेशमानले आफ्ना सहयोगी समेत रहेका व्यवसायी राजकृष्ण श्रेष्ठलाई बीपीलाई दुई लाख रुपैयाँ चाहिएको सुनाएछन् । राजकृष्णले तत्काल गणेशमानलाई २ लाख रुपैयाँ उपलब्ध गराइदिएका थिए । त्यो समयमा भन्नसाथ २ लाख रुपैयाँ सहयोग दिनु चानचुने कुरा थिएन ।
गणेशमानले सहयोग रकम उपलब्ध भएको बीपीलाई जानकारी गराएछन् । बीपीले कहाँबाट आयो ? जिज्ञासा गर्दा गणेशमानले स्रोत नखोली आफुले कतैबाट जोहो गरेको बताएछन् । बीपी तत्काल २ लाख रुपैयाँ (नेपाली) जेपीलाई सहयोग उपलब्ध गराउन सफल भएका थिए । गणेशमान र बीपी मार्फत् भारतीय सोसलिस्ट पार्टीलाई तत्कालीन समयमा २ लाख रुपैयाँ उपलब्ध गराएर सहयोग गर्ने व्यक्ति, राजकृष्ण श्रेष्ठ (९४ वर्ष) अझै जीवित छन् । गणेशमानको जीवनी लेख्ने पत्रकार एवं लेखक माथवर सिंह बस्नेत राजकृष्णका बारेमा भन्छन्, ‘आफ्नो एक वचनमा राजकृष्णले उपलब्ध गराएको सहयोगको प्रसङ्ग गणेशमानले मलाई पटक–पटक सुनाउनु भएको थियो ।’ तत्कालिन समयको २ लाख रुपैयाँ कुनै सानो रकम नभएको बस्नेत बताउँछन् ।
राजकृष्णको उदारताबारे माथवर भन्छन्– त्यो सहयोगले बीपीको इज्जत उँचो बनाएको थियो ? गणेशमानले गरेको सानो सहयोग बापत त्यति ठुलो रकम सहयोग गरेका राजकृष्णले राजनीतिमा कहिल्यै प्रतिफल खोजेनन् । बरु व्यावसायीबाट समाजसेवी बनेर आफूलाई राजनीतिबाट तटस्थ राखे ।
यतिबेला राजकृष्ण उनी आफ्ना चार पुत्र विनोद, सुर्वण, विक्रम र महेन्द्रलाई सबै व्यापार र व्यवसाय जिम्मा लगाएर शान्त एकल जीवन व्यतीत गरिरहेका छन् । नेपालको व्यवसायिक घरानामा राजकृष्णलाई नचिन्ने शायदै होलान् । सफल व्यवसायी श्रेष्ठ परिवारको व्यापार, पर्यटन, बैंक तथा वित्तीय संस्था, होटल, उर्जा लगायतका क्षेत्रमा पर्याप्त लगानी छ । तर शिक्षामा राजकृष्णले कहिल्यै लगानी गरेनन् । छोराहरुलाई पनि उक्त क्षेत्रमा लगानी नगर्न उनको सुझाव छ । राजकृष्णको मान्यता छ, ‘शिक्षा र स्वास्थ्यमा गरिएको लगानीले प्राप्त हुने प्रतिफल समाज शोषण हो ।’ त्यसैले शिक्षामा कहिल्यै लगानी नगरेको उनको भनाई छ । गैरनाफामूलक नभए सन्तानहरूले पनि त्यसमा लगानी नगरुन् भन्ने उनको चाहना छ ।
राजा त्रिभुवनका पालादेखि दरबारमा राम्रै पहुँच रहेको उनी बताउँछन् । तर श्रेष्ठ परिवारले सम्बन्धलाई दुरुपयोग गरेर व्यापार गर्नेगरी कहिल्यै नलागेको राजकृष्णका छिमेकी साहित्यकार डायमन शमशेरका पुत्र रघु शमशेर राणा बताउँछन् । २०२७ सालमा पाटन कमर्श क्याम्पसका स्ववियु सभापति निर्वाचित भएको बताउने राणाले तत्कालीन समयमा पनि श्रेष्ठ परिवारले नयाँ सडकको आफ्नो रञ्जना सिनेमा हलमा ‘च्यारिटी शो’ गर्न दिएर विद्यार्थी संगठनलाई समेत सहयोग गरेको स्मरण गरे ।
काठमाडौंको सामान्य परिवारमा जन्मिएका राजकृष्ण श्रेष्ठको जीवनका रोचक कथाहरू छन् । उनले युवावयमै राणादेखि राज परिवारसँग सम्बन्ध कायम गरे । तर कहिल्यै सम्बन्धलाई दुरुपयोग गरेनन् । पञ्चायती कालमा पनि कांग्रेस र कम्युनिष्टहरुलाई बिना स्वार्थ सहयोग गरे । । यतिबेला उमेर र समयले गुमनाम जस्तै बन्न पुगेका श्रेष्ठ कोभिड–१९ शुरु भएपछि श्रीमतीको निधन पश्चात कुपण्डोल डायमन मार्ग स्थित आफ्नै निवासमा शान्त जीवन व्यतीत गरिरहेका छन् ।
वि.सं. १९८४ मा जन्मिएका श्रेष्ठको बाल्यकाल सहज रहेन । आमा सानैमा बितिन् । चेतकृष्ण श्रेष्ठका तीन सन्तानमध्येका कान्छा राजकृष्णले प्रारम्भिक शिक्षा राजधानीकै जुद्धोदय स्कुलबाट लिए । त्यो स्कुल उनकै काकाका छोराहरू बालकृष्ण र हरिकृष्णको पहलमा खुलेको थियो । जो गणेशमानलाई अध्ययनका लागि कलकत्ता पुर्याउनेहरू हुन् । अध्ययन पश्चात कलकत्ताबाट हरिकृष्ण,बालकृष्ण र गणेशमानले गान्धीको तस्बीर लिएर फर्किएको राजकृष्ण स्मरण गर्छन् ।
यी दुई जना नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहका सहपाठी हुन् । गणेशमानले उनीहरूसँगै कलकत्ता पुगेर माध्यमिक तहसम्मको शिक्षा लिएका थिए । जुद्धोदय स्कुलमा पहिलो वर्षको विद्यार्थी भए पनि राजकृष्ण श्रेष्ठले औपचारिक शिक्षालाई निरन्तरता दिन पाएनन् । कक्षा ३ सम्म मात्र पढे । श्रेष्ठ सानैबाट निर्भीक र निडर स्वभावका थिए । उपद्रो पनि गरिरहन्थे । पढाइलाई निरन्तरता दिन नसकेकोमा उनी अहिले पछुतो मान्छन् । तर, यसमा आफू मात्र नभएर तत्कालीन समाज र परिवेश पनि कारण रहेको उनलाई लाग्छ ।
पिता चेतकृष्ण झोंछेका नामी व्यापारी थिए । स्वावलम्बी स्वभावका उनी स्वआर्जनमा विश्वास गर्थे । पिताकै प्रेरणाले श्रेष्ठ पनि परिश्रमी र व्यावसायिक बन्दै गए । त्यति बेला राणा परिवारसँग पनि निकट सम्बन्ध बनाइरहन सफल भए । त्यसबेलै मोटरसाइकल चलाउनु, लरीको ड्राइभर बन्नु उनको सोख भयो । त्यही सोख उनको व्यावसायिक सफलताको पाइला बन्न पुग्यो । यसले उनलाई एकातिर रोमाञ्चित बनाइरह्यो, अर्कातिर संघर्ष गर्न सिकायो ।
श्रेष्ठले उल्लेखित प्रसङ्ग पुस्तकको संस्मरणका रूपमा पस्किएका छन् । त्यतिबेला लिएको सवारीचालक अनुमतिपत्र अहिले पनि उनीसँग सुरक्षित छ । वसन्तपुर क्षेत्रमा मोटरसाइकल चलाउँदा तत्कालीन प्रशासक कर्णेल चन्द्रबहादुर थापाले उनलाई एक रुपैयाँ जरिवाना गराउन खोजे । तर उनले तिरेनन् । बिनागल्ती जरिवाना नतिर्ने अडान लिए । निर्भीक रूपमा आफ्ना कुरा राखेकै कारण राणाशासकले माफी गरिदिएको उनी सम्झन्छन् ।
फुर्तिलो शरीर र हक्की स्वभावका श्रेष्ठ २००७ सालमा मन्त्री बनेका गणेशमानका अंगरक्षक पनि भए । प्रजातन्त्रका पक्षपाती गणेशमानले राणाप्रति प्रतिबद्ध प्रहरीले सुरक्षा दिनुको सट्टा चुनौती थप्न सक्ने ठानेर श्रेष्ठलाई विश्वास गरेका थिए । गणेशमानको विश्वासपात्र भए पनि उनको हेपाहा व्यवहारका कारण पछि छाडिदिएको श्रेष्ठ बताउँछन्
औपचारिक शिक्षालाई उच्च तहसम्म लैजान नसके पनि उनीभित्र नैतिक चेतनाको प्रचूर विकास भयो । श्रेष्ठको कुशाग्र बुद्धिले एकपछि अर्काे छलाङ मार्दै गयो । उनले व्यावसायिक जीवनमा नेपालमा मात्र नभएर भारतको कलकत्ता, मुम्बई, दिल्ली, जयपुरजस्ता सहरमा पनि सफलता प्राप्त गरे । त्यहाँ आफ्नो ज्वेलरी (गहना) व्यवसाय विस्तार गरे । राणा परिवारका बहुमूल्य जवाहरातदेखि गरगहना बिक्री गर्ने माध्यम उनै श्रेष्ठ बन्दै गए ।
स्वदेशमा आर्जन गरेको यही विश्वासले उनलाई सफल व्यवसायी बनायो । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूदेखि छोरी इन्दिरा गान्धीसम्म उनको पहुँच रह्यो ।
भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग भेटमा राजकृष्ण
नेपालमा राणा प्रधानमन्त्री मोहनशमशेर, बीपी, मातृकालगायत व्यक्तित्वदेखि दरबारसम्म पनि उनको समधुर सम्बन्ध बन्यो । तर कसैका विरुद्ध कसैलाई उपयोग र प्रयोग गरेनन् । मातृभाषा नेवारी रहे पनि नेपाली र अंग्रेजी भाषामा उत्तिकै प्रखर श्रेष्ठ लगनशीलता, परिश्रम र मेहनतबाट नाम र दाम दुवै आर्जन गर्न सफल भएको बताउँछन् ।
व्यापारिक घराना ज्योति परिवार, वैद्य परिवार र चौधरी परिवारमाझ पनि उनी परिचित छन् । श्रेष्ठले सञ्चालन गरेको पहिलो कम्पनी नेपाल कमर्सियल इन्टरप्राइजेज (एनसिई–सन् १९५९) हो । त्यसैबाट उनले आयात–निर्यात क्षेत्रमा हात हाले । नयाँ सडकमा रञ्जना सिनेमा हल चलाएका श्रेष्ठले प्ररम्भिक अवस्थामा स्वास्थ्य क्षेत्रमा पनि लगानी गरे । उनले नयाँ सडकमासञ्चालन गरेको पहिलो एलोपेथिक औषधी पसलमा डा.तुलसी गिरीले चिकित्सकीय सेवा प्रवाह गरेको श्रेष्ठ स्मरण गर्छन् ।
जुद्ध सालिक नजिक काठमाडौं मेडिकल हल सञ्चालन गरेर डा. तुलसी गिरीलाई श्रेष्ठले कन्सल्टेन्ट चिकित्सक नियुक्त गरेका थिए । सिनेमा हल र मेडिकलबाट राम्रो आम्दानी भएको श्रेष्ठ बताउँछन् । उनले वीरगन्जको भगवती राइस मिल खरिद गरेर खाद्यान्न निर्यात पनि गर्न थाले । यता राजधानीमा गोदावरी मार्वल स्थापना गरे । एकपछि अर्काे व्यवसायमा हात हाल्दै जाँदा पाएको सफलताले उनलाई अहिले पनि गौरवान्वित बनाउँछ ।
नेताहरू बीपी, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीलगायतसँग समदुरीमा सम्बन्ध राख्न सफल श्रेष्ठ शासनव्यवस्था र शासकहरूबारे जानकार छन् । राजा महेन्द्र, वीरेन्द्र र रानी ऐश्वर्यसँग पनि उनी निकट रहे । राजा वीरेन्द्रले पञ्चायती व्यवस्थामा मन्त्री बन्न पटक–पटक आग्रह गरे पनि आफूले सविनय अस्वीकार गरेको उनी बताउँछन् । राम्रो काम गर्ने वातावरण नभएकाले दोषको भागीदार मात्र हुने गरी पद नलिएको उनको भनाइ छ ।
मन्त्री नबने पनि उनी वीर अस्पतालको अध्यक्ष भने बने । त्यति बेला स्वास्थ्यमन्त्री नारायण भट्टलाई समेत अटेर गरेर वीर अस्पतालको हाल सञ्चालनमा रहेको भवन निर्माण गर्नुका साथै अस्पताल सुधारको काम गरेको उनी सगर्व सुनाउँछन् । त्यसबाहेक त्रिपुरेश्वरस्थित आँखा अस्पताल स्थापना गरे । कतिपय अवस्थामा राजपरिवारले प्रतिबद्धता जनाएका समाजसेवाका कार्य उनी आफैं अघि सरेर गरिदिए ।
आफ्नै आर्जनले वि.स. २०२० को दशकमा भारतका लागि तत्कालीन नेपाली राजदूत दमनशमशेर राणाको निवास खरिद गरेका श्रेष्ठ अहिले पनि त्यही निवासमा बस्छन् । बुढ्यौलीसँग विभिन्न रोगको सिकायत छ । तर, यसलाई उनी उमेरअनुसारको उपज ठान्छन् । जीवनमा गुनासो नरहे पनि श्रेष्ठ देश अनुशासनहीनता, अराजकता, दुराचार र कुशासनले ग्रस्त भएको भन्दै प्रत्येक विहानीमा अखवारका पाना हेर्दै देशको अवस्था बारे चिन्तित हुन्छन् । भ्रष्ट्राचारलाई उनी भाईरस भन्छन् । ‘भाईरसले देश खत्तम पार्यो ।’ अहिले उनको थेगो नै बनेको छ । लगाउने पाइन्ट र मुखमा ‘जिपर’ लगाउन नजानेका नेताहरुले देशलाई कंगाल बनाएको उनी बताउँछन् । निष्ठालाई जीवन आर्दश मान्ने राजकृष्णले नेताहरुको द्वैध चरित्रले नै राजनीति विकृत भएको अनुभव सुनाउँछन् ।
श्रेष्ठको एनसिई कम्पनीले सरकारी विकास–निर्माणका काममा समेत सहयोग पुर्याउँदै आएको छ । यो कम्पनीले विभिन्न देशका व्यावसायिक कम्पनीसँग सम्बन्ध बनाउँदै नेपालका विभिन्न परियोजनामा सहकार्य गरेको छ । श्रेष्ठका अनुसार एनसिई नेपालका लागि भारतीय हिन्दवेयर भनेर चिनिने हिन्दुस्तानी सेनेटरी वेयरको आधिकारिक बिक्रेता बन्न सफल रह्यो ।
उनले २०१५ सालअघि नै मेडिकल हल चलाएर नेपाली बजारमा फार्मास्युटिकल्सको आयात सुरु गरे । नेपालको पहिलो इलेक्ट्रिक ट्रलिबस सर्किटको संरचना निर्माणको जिम्मेवारी पनि सफलतापूर्वक सम्पन्न गरेको श्रेष्ठ बताउँछन् । काठमाडौंमा पानी र ढल निकासको पाइप विकासका लागि सामग्री आपूर्तिदेखि सेनाको छाउनीका भवन निर्माणको काम समयमै सम्पन्न गरेको उनको भनाई छ ।
श्रेष्ठका अनुसार ९० सालको भूकम्पका बखत तत्कालीन श्री ३ महाराज जुद्धशमशेरले २ लाख ६ हजार ५ सय रुपैयाँ अनुदानस्वरूप जनतालाई वितरण गरेका थिए । त्यति बेला सानै रहेका उनले भूकम्पलगत्तै श्री ३ को रोलक्रममा रहेका कमान्डर इन चिफ रुद्रशमशेरलाई पाल्पा पठाइएको क्षण स्मरण गर्दै भने, ‘राणा परिवारमा वर्ग विभाजनले व्यवस्थामै संकट उत्पन्न गरायो ।’
यो उमेरसम्मको जीवनसंघर्ष पुस्तकका रुपमा उतार्न नातिनी महिमा श्रेष्ठ सफल भएकी छन् । अंग्रेजी भाषामा लिखित ‘लक्की म्यान’ गत वर्ष प्रकाशित भएको छ । पुस्तक १ सय ८७ पेजमा समेटिएको छ । उक्त पुस्तकलाई नेपालीमा अनुवाद गराएर आफूलाई भेट्न आउने आगन्तुकलाई दिने उनको योजना छ ।
राजदाईका नामले परिचित श्रेष्ठको संघर्षको कथा ‘लक्की म्यान’ मा उतारिएको छ । उनको जीवन–वृत्तान्त अध्ययन गर्दा सुख र दुःख एकै सिक्काका दुई पाटा हुन भन्ने लाग्छ । निष्ठा र कर्मबाटै धन आर्जन गर्न सके कसैको अधीनमा हुनुपर्दैन भन्ने सन्देश उनको खुला जीवनले दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया