स्थानीय तह निर्वाचन २०७९

रोचक बन्दै हेटौंडा उपमहानगरको मतगणना, फेरि एकीकृत समाजवादीकी लामा अगाडि

इकागज |
जेठ ३, २०७९ मंगलबार १४:११ बजे

काठमाडौं– बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाको मतगणना रोचक बन्दै गएको छ । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीचको त्रिपक्षीय भिडन्तमा एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ । 

त्रिपक्षीय भिडन्तमा पनि एकीकृत समाजवादी र राप्रपाबीच कडा टक्कर परिरहेको छ । मंगलबार बिहानसम्म अग्रता लिइरहेकी सत्तारुढ गठबन्धनबाट मेयरकी साझा उम्मेदवार एकीकृत समाजवादीकी मीनाकुमार लामालाई राप्रपाका मेयर उम्मेदवार दीपकबहादुर सिंहले दिउँसोसम्म उछिनेर अगाडि आइसकेका थिए । तर, अहिले फेरि एकीकृत समाजवादीकी लामा आइसकेकी छिन् । 


मुख्य निर्वाचन अधिकृतको कार्यालयले केहीबेर अघि सार्वजनिक गरेको तथ्यांक अनुसार दिउँसोसम्म २४ हजार १ सय ३८ मतगणना भएको छ । जसमा ७ हजार ४ सय ९६ मतसहित लामा प्रथम स्थानमा उक्लिएकी छन् । त्यस्तै राप्रपाका सिंह ७ हजार ३ सय ७१ मतसहित दोस्रो स्थानमा झरेका छन् । लामा सिंहभन्दा १२५ मतले अगाडि छिन् । 

त्रिपक्षीय भिडन्तमा सामेल अर्का योद्धा एमालेका अनन्तप्रसाद पौडेल भने सोमबार दिउँसो देखि नै कमजोर देखिएका छन् । पौडेल सिंह र लामाभन्दा करिव १ हजार बढी मतले पछाडि पर्दै तेस्रो स्थानमा छन् । उनले ६ हजार २ सय ७३ मत प्राप्त गरेका छन् । 

उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँ अगाडि छन् । सुरुदेखि नै फराकिलो मतान्तरले अग्रता लिइरहेका बानियाँले २४ हजार १ सय ३८ मतगणना गर्दा १० हजार ६ सय २३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सुमित्रा काफ्लेले ७ हजार ९२ मत मात्रै पाएकी छन् । राप्रपाकी उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेले १ हजार ७ सय ८७ मत पाएकी छन् । 

हेटौंडा एमालेको गढ हो । एमालेले यहाँ ‘ह्याट्रिक’ गरेको छ । उसले २०४९, २०५४ र २०७४ सालमा भएका सबै तीनै स्थानीय तह निर्वाचनमा जितेको छ । यसपालि भने एमाले यहाँ कमजोर देखिएको छ । 


Author

थप समाचार
x