स्थानीय तह निर्वाचन २०७९

मोरङको कटहरी प्रमुखमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

इकागज |
जेठ ४, २०७९ बुधबार ६:० बजे

विराटनगर - मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी विजयी भएका छन् । त्यसैगरी उपाध्यक्षमा भने नेकपा एमालेकी सितादेवी राजवंशी निर्वाचित भएकी छन् ।

सार्वजनिक मत परिणाम अनुसार अध्यक्ष चौधरीले ६ हजार ५६५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुभाष कुमार सरदारले ५ हजार ६८२ र नेकपा माओवादी केन्द्रका किशोर कुमार पाण्डेले ३ हजार ५३७ मत पाएका छन् ।


गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी सिता देवी राजवंशीले १४३ मतको अग्रतासहित विजयी बनेकी छन् । राजवंशीले ५ हजार ८४८ मत प्राप्त गरेकी छन् । उनकी निकटतम् काँग्रेसकी मन्जिता कुमारी सरदारले ५ हजार ७०५ मत ल्याएकी छन् ।

पराजित सरदार यसअघि कटहरी गाउँपालिकाको उपाध्यक्ष थिइन् । कटहरी गाउँपालिकाको सातवटा वडाहरु मध्ये एमालेबाट वडा नं. १ मा हरिनारायण राजवंशी, २ मा सुरेन्द्र प्रसाद राजवंशी, ५ मा सम्पतलाल सरदार, ६ मा विशो सरदार र ७ मा मनोजकुमार राजवंशी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै वडा नं. ३ मा कांग्रेसका जद्दुलाल कामत र ४ मा जसपाका जिवनेश्वर यादव वडाध्यक्षमा विजयी भएका छन् । मोरङको १७ वटा स्थानीय तहहरु मध्ये कटहरीसहित मोरङको मिक्लाजुङ र कानेपोखरी गाउँपालिकाको गणना सम्पन्न भएको छ । अन्य स्थानीय तहमा मतगणना जारी रहेको जनाइएको छ ।


Author

थप समाचार
x