मोहन्यालमा अध्यक्ष–उपाध्यक्षसहित कांग्रेस–माओवादीलाई दुई तिहाइ, एमाले एक वडामा सीमित
काठमाडौँ - कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय ‘हिमशिखर’ विजयी भएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ४१९ मतान्तरले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धरम थापा मगरले दुई हजार ७१५ मत प्राप्त गरे ।
थापा २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए । तर, एमालेका नवलसिंह रावल(हाल स्वर्गीय)सँग पराजित भए । यो पटक उनी उमाले प्रवेश गरेर पुनः अध्यक्षका उम्मेदवार बने पनि जित हात पार्न सकेनन् ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका कमल साउद निर्वाचित भएका छन् । उनले तीन हजार ३३९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरस्वती देवी रावल विष्टले दुई हजार ३०३ मत प्राप्त गरिन् । मोहन्यालमा पालिका प्रमुख र उपप्रमुखमा कांग्रेस–माओवादीले गठबन्धन गरेको थिए भने वडामा प्रतिस्पर्धा गरेका थिए ।
वडामा कांग्रेस–माओवादीको वर्चश्व, एमालेले एक वडा जित्यो
मोहन्यालका सातमध्ये ६ वडामा कांग्रेस–माओवादीका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले सबैभन्दा धेरै चार वडा जितेको छ भने माओवादी दुई वडामा विजयी भएको छ । कांग्रेसबाट वडा नम्बर ७ मा नवराज कठायत, ३ मा नन्दराम गिरी, ५ मा प्रविण घर्तिमगर र १ मा पिरम बुढा निर्वाचित भएका छन् ।
माओवादीले वडा नम्बर २ र ४ मा विजय हासिल गरेको छ । २ मा माओवादीका जय प्रकाश मल्ल र ४ मा बम बहादुर बुढा मगर विजयी भएका छन् ।
एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ । ६ मा एमालेका कृष्ण शाही विजयी भएका छन् ।
२०७४ सालको निर्वाचनमा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित तीन वडा जितेको थियो भने माओवादीले पनि समान तीन वडामा जित हात पारेको थियो । कांग्रेसले एक वडा जितेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया