स्थानीय तह निर्वाचन २०७९

जसपाको पकड क्षेत्र जहदा खोस्यो कांग्रेसले

इकागज |
जेठ ४, २०७९ बुधबार २०:१ बजे

विराटनगर । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी (तत्कालीन संघीय समाजवादी फोरम) को प्रभाव क्षेत्र मानिएको मोरङको जहदा गाउँपालिकाको नेतृत्व कांग्रेसले खोसेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित ५ वटा वडाध्यक्ष जितेको जसपाले यसपटक दुई वटा वडाको वडाध्यक्षमा चित्त बुझाउनु परेको हो ।

बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार जहदा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्रप्रसाद साह निर्वाचित भएका छन् । साहले जसपाबाट निर्वाचित भएका निवर्तमान अध्यक्ष कैलाश कुमार मण्डललाई २ हजार ४५३ मतको भारी अन्तरले पराजित गरेका छन् । साहले ६ हजार ५०१ मत प्राप्त गरेका हुन् ।


मण्डलले ४ हजार ४८ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका राजकुमार यादवले ३ हजार ४८५ मत प्राप्त गरी तेस्रो स्थान सुरक्षित गरेका छन् । जसपाबाट उपाध्यक्ष उठेकी निवर्तमान उपाध्यक्ष शालो साह तेस्रो स्थानमा पुग्दा जहदाको उपाध्यक्ष सजिलै कांग्रेसको हातमा पुगेको छ । हन्ना सोरेनले ५ हजार ५४५ मत प्राप्त गरी विजयी हुँदा निवर्तमान उपाध्यक्ष साहले ३ हजार १३५ मात्रै मत प्राप्त गरिन् ।

उनलाई माओवादी केन्द्रबाट उपाध्यक्षको उम्मेदवार रहेकी गुलावकुमार महतोले उछिनेर दोस्रो बनिन् । यो परिणामले उपेन्द्र यादव नेतृत्वको जसपालाई मोरङको स्थानीय राजनीतिमा गम्भीर धक्का पुगेको छ । जहदामा नेपाली कांग्रेसबाट वडा नं. १ मा बाबुराम राजवंशी, ४ मा शिवशंकर गामी, ५ मा मुन्सी मुर्मु सतार र ७ मा भगवानी मरण्डी वडाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै जसपाबाट वडा नं. २ मा चन्द्र शेखर कुमार साह र ३ मा अनिल कुमार ठाकुर निर्वाचित भएका छन् । वडा नं. ६ मा भने माअ‍ाेवादी केन्द्रका सुर्यानन्द मण्डल विजयी भएका छन् ।


Author

थप समाचार
x