स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचन

६ महानगर: दुईमा कांग्रेस अगाडि, एक-एकमा माओवादी, जसपा र नेकपा एसको अग्रता, एकमा स्वतन्त्र

चार महानगरको उपमेयरमा एमाले अगाडि, दुईमा कांग्रेसको अग्रता

इकागज |
जेठ ५, २०७९ बिहीबार १०:४१ बजे

काठमाडौँ - विभिन्न स्थानीय तहको मतगणना जारी छ । ६ महानगरमध्ये एकमा स्वतन्त्र उम्मेदवार अगाडि छन् भने बाँकी पाँचमा दलका उम्मेदवारले अग्रता बनाएका छन् । 

दुई महानगरमा कांग्रेसले अग्रता बनाएको छ भने एक-एकमा माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता बनाएका छन् । ललितपुर र विराटनगरमा कांग्रेसले अग्रता बनाएको छ । भरतपुर, विरगन्ज र पोखरामा क्रमस: माओवादी, जसपा र नेकपा एकीकृत समाजवादी अगाडि छन् ।


उपमेयरमा भने एमाले चार महानगरमा अगाडि छ । दुईमा कांग्रेसको अग्रता देखिएको छ । 

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले मेयर २१ हजार ६२२ मतका साथ अग्रता बनाएका छन् । 

उनीभन्दा निकै पछि नेकपा एमालेका केशव स्थापित ११ हजार ३६ मतले पछ्याइरहेका छन् । नेपाली कांग्रेसका सिर्जना सिंह १० हजार २६७ मतका साथ तेस्रोमा छिन् । 

उपमेयरमा भने काठमाडौँमा एमालेले अग्रता बनाएको छ । एमालेका सुनिता डंगोलले १९ हजार ९५६ मतका साथ अग्र स्थानमा छिन् । दोस्रोमा ६३१६ मतका साथ नेकपा एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठ छन् । 

ललितपुर र विराटनगर महानगरमा कांग्रेसले अग्रता बनाएको छ । ललितपुरमा कांग्रेसका चिरी बाबु महर्जन १६ हजार ४०९ मतका साथ अग्र स्थानमा छन् । उनलाई ७ हजार ५१ मतका साथएमालेका हरिकृष्ण ब्यञ्जनकारले पछ्याइरहेका छन् । 

उपमेयरमा भने एमालेले अग्रता बनाएको छ । एमालेका मन्जली शाक्य बज्राचार्य ७ हजार २७८ मतका साथ अग्र स्थानमा छिन् । उनलाई ५ हजार ४०४ मतका साथ माओवादीका बाबुराज बज्राचार्यले पछ्याइरहेका छन् । 

त्यस्तै विराटनगरमा कांग्रेसका नागेश कोइराला अग्र स्थानमा छन् । उनले १९ हजार १७३ मत प्राप्त गरेका छन् । उनलाई एमालेका सागरकुमार थापाले १४ हजार ३३८ मतका साथ पछ्याइरहेका छन् । 
उपमेयरमा भने १६ हजार ५५२ मतका साथ एमालेका शिल्पा कार्की अगाडि छिन् । उनलाई जसपाका अमरेन्द्र यादवले ९८१५ मतका साथ पछ्याइरहेका छन् । 

भरतपुरमा माओवादीका रेनु दाहालले अग्रता बनाइरहेकी मेयर १२ हजार ७२९ मत प्राप्त गरेकी छिन् । उनलाई १ हजार २०० मतका साथ एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ४८१ मत ल्याएका छन् । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १४ हजार ९९० मतले अग्र स्थानम हुँदा राप्रपाका हिमला गुरुङले ८ हजार २७७ प्राप्त गरेकी छिन् । 

पोखरामा नेकपा एसका धनराज आचार्य अग्र स्थानमा छन् । उनले २० हजार ७४९ मत प्राप्त गर्दा एमालेका कृष्णबहादुर थापाले १८ हजार ३६६ मत प्राप्त गरेका छन् । उपमेयरमा भने एइमालेका मन्जुदेवी गुरुङ  २० हजार ९७७ मतका साथ अग्र स्थानमा छिन् । कांग्रेसका कोपिला रानाभाटले २० हजार ९६३ मत प्राप्त गरेकी छिन् । 

विरगन्ज महानगरमा जसपा अगाडि छ । मेयरमा जसपाका राजेशमान सिंह १४ हजार २६८ मतका साथ अग्र स्थानमा छन् । उनलाई एमालेका विजय सरावगीले ७ हजार २४४ मत ल्याएर पछ्याइरहेका छन् । 
उपमेयरमा कांग्रेसका इम्तियाज आलम १० हजार ८२मतका साथ अग्र स्थानमा हुँदा लोसपाका पुरुषोत्तम लाल झाले १९७९ मतका साथ पछ्याइरहेका छन् । 


 


Author

थप समाचार
x