स्थानीय तह निर्वाचन २०७९

गोरखामा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार : जसले १ मत पनि पाएनन्

इकागज |
जेठ ५, २०७९ बिहीबार १२:१९ बजे

गोरखा - भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेदवार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिप्रति वितृष्णा जाग्दै गएपछि स्वतन्त्र उम्मेदवारी दिएका ढकाललाई वडाबाट १ मत पनि प्राप्त भएन । 

१४६९ मत खसेको मध्ये उनले १ मत पनि नपाएका हुन् । मतगणना सकियो । माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ वडाध्यक्ष बने ।


आफूले हालेको भोट पनि हरायो ! 

निर्वाचन अधिकृत कार्यालयले वडा भरको मत परिणाम सार्वजनिक गर्‍याे । तर, ढकाललाई १ मत पनि प्राप्त भएको देखिएन । त्यसपछि सामाजिक सञ्जालमा ढकाल आफैले आफैलाई समेत मतदान नगरेको भन्दै विभिन्न पोष्टहरू आउन थाल्यो ।

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् । ‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन । मेरो मत खोज्न अब अदालत जानेछु’, ढकाल भन्छन् ।

आफूले आफैंलाई मत जाहेर नगरेको विषयमा सामाजिक सञ्जालमा आफूमाथि नैतिक प्रश्न उठेपछि निर्वाचन अधिकृतसँग ढकाल जवाफ लिन गए । तर, अधिकृत कार्यालयले मत नै नआएको भन्दै फर्काएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘मैले आफूलाई मत जाहेर गरेको छु, बदर पनि भएको  छैन, कसरी मेरो मत हरायो ? मतगणना गर्दा निर्वाचनका कर्मचारीले कुन हदसम्म लापरबाही गर्दा रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ ।’ 

निर्वाचन अधिकृत खिमानन्द गौतमले भने कार्यालयबाट मतगणना गर्दा  कुनै त्रुटि नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘गणना गर्दा सबै दलको प्रतिनिधि बसेर गणना गरेको हो, सबै विवरण प्रष्ट छ ।  त्रुटि भएकै छैन । उहाँलाई चित्त नबुझेमा उच्च अदालत जान सक्नुहुन्छ ।’


Author

थप समाचार
x