धरान उपमहानगरमा पनि ‘लौरो’ अघि, रुख र सुर्य पछि
विराटनगर– देशको संघीय राजनधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले अग्रता फराकिलो बनाइरहेका बेला प्रदेश १ का दुई उपमहानगरपालिकामध्ये धरानमा पनि लौरो चुनाव चिह्नधारी मेयरका स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
बिहीबार अपरान्ह ११ बजेसम्मको मत परिणामअनुसार धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)सँग कांग्रेसका उम्मेदवार किशोर राई १४७ मत र नेकपा एमालेकी उम्मेदवार मन्जु भण्डारी (सुवेदी) १ हजार ७८९ मतले पछि परेकी छन् ।
साम्पाङले ८ हजार ६१६ मत प्राप्त गर्दा कांग्रेसका किशोरले ८ हजार ४३७ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेकी मन्जु भण्डारी (सुवेदी)ले ६ हजार ८२७ मत ल्याएकी छन् ।
धरानमा ९९ हजार २८१ मतदाता रहेका छन् । जसमध्ये ६२ हजार ८९८ मत खसेको जनाइएको छ । धरानमा वडा नं ११ को मतगणना सकिएको छ भने वडा नंं ८ र ११ को गणना जारी रहेको छ । वडा नम्बर २० को गणना स्थगित छ । २० वटा वडामध्ये वडा नम्बर ६ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराई निर्वाचित भएका छन् ।
अहिलेसम्म नेकपा एमालेले ६ वटा वडामा वडाध्यक्ष जित्दा कांग्रेससहितको गठबन्धनले ४ वटा वडाध्यक्ष जितेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया