स्थानीय तह निर्वाचन २०७९

जुम्लाका आठमध्ये पाँच पालिकामा कांग्रेस विजयी, माओवादीले दुई जित्दा एमाले शून्य

इकागज |
जेठ ५, २०७९ बिहीबार १४:८ बजे

जुम्ला – जुम्लाको ८ वटै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । मतपरिणामअनुसार जिल्लाका पाँच तहमा विजयी हुँदै नेपाली कांग्रेस पहिलो दल बनेको छ । नेकपा माओवादी केन्द्र दुई पालिका जित्दै दोस्रो भएको छ भने एकमा स्वतन्त्र उम्मेदवारले जित निकालेका छन् । 

कांग्रेस पहिलो र माओवादी केन्द्र दोस्रो हुँदै गर्दा नेकपा एमाले भने जितविहीन भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गुठीचौर, तातोपानी, पातारासी, हिमा र कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको छ ।


यस्तै, तिला र सिंजा गाउँपालिको अध्यक्षमा माओवादी केन्द्र निर्वाचित भएको छ । जिल्लाको एकमात्र नगरपालिका चन्दननाथको मेयरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएका छन् । 

उपाध्यक्षमा भने कांग्रेसले तीनवटा पालिकामा मात्र जित हासिल गरेको छ । उसले हिमा र कनकासुन्दरीको उपाध्यक्षमा र चन्दनाथ नगरपालिकाको उपप्रमुखमा जितेको हो । एकीकृत समाजवादीले जिल्लाको एकमात्र गुठीचौर गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ । 

२०७४ को निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्षमा जितेको एमालले यसपालि कुनैमा पनि जित निकाल्न सकेन । 
निर्वाचनमा जिल्लामा एमालेले कुनै पनि स्थानमा विजयी हासिल गर्न सकेनन् ।

गत निर्वाचनमा माओवादीले तातोपानी, हिमा र गुठीचौरमा जितेको थियो । अहिले गुमाएको छ । काँग्रेसले चन्दननाथ नगरपालिका २०७४ मा जितेको थियो अहिले स्वतन्त्र उम्मेदवारले नगरपालिकामा जितेका छन् । 
 


Author

थप समाचार
x