स्थानीय तह निर्वाचन २०७९

एमालेबाट जितेका मेयरलाई पराजित अधिकारीले लगाइदिए खादा

इकागज |
जेठ ५, २०७९ बिहीबार १७:५३ बजे

विराटनगर - चुनावी प्रतिष्पर्धामा पराजित हुँदैमा बोलचाल बन्द गर्ने र प्रतिशोध लिनेहरुका लागि सुनसरीको रामधुनी नगरपालिकाको निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहेका बनेका मेयरका उम्मेदवारले फरक दलका विजेता उम्मेदवारलाई भेटेरै खादा लगाइदिएर सौहार्दता देखाएका छन् । 

नेपाली कांग्रेसबाट मेयरमा पराजित बनेका मेयरका उम्मेदवार सुदीप अधिकारीले ११ हजार ४०५ मत प्राप्त गर्दा विजयी उम्मेदवार एमालेका शंकर लाल चौधरीले १३ हजार ३७२ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकै तारा थापा निर्वाचित भइन् । थापाले १२ हजार २२० प्राप्त गरी विजयी भएकी हुन् । कांग्रेसकी आशा कुमारी चौधरीले १० हजार ४९३ मत प्राप्त गरी दोस्रो भइन् । मेयरमा पराजित भएपछि अधिकारीले विजेता बनेका चौधरीलाई भेटेर खादा लगाइदिएर शुभकामना दिएका हुन् । 


उनले निर्वाचनलाई मर्यादित, स्वच्छ र मित्रवत् प्रतिस्पर्धाका रुपमा सम्पन्न भएको बताएका छन् । साथै विजेताले आगामी पाँच बर्षमा नगरवासीका अपेक्षा र माग पूर्णरुपमासम्बोधन गर्नु नेतृत्वको जिम्मेवारी हुने बताए । 

‘हाम्रो लागि राजनीति एउटा चुनावको जित र पद मात्र होइन, जीवनशैली हो, समाजसेवा हो, सामाजिक कर्म र धर्म पनि हो’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘भलै हामी हार या जित हुने मैदानमा प्रतिस्पर्धीको रुपमा उत्रिएका थियौं, हामीले प्राप्त गरेको मतलाई हामीले हार जितको फैसला गर्ने मानकको रुपमा मात्र लिएका छैनौं, पार्टीप्रतिको इमान्दारिता, योगदान अनि समाजप्रतिको हाम्रो साथ, सहयोग र सुमधुर सम्बन्धको प्रमाण र मायाको चिनोको रुपमा ग्रहण गरेका छौं ।’

उनले निर्वाचनका दौरानमा आफूले प्राप्त गरेको मतलाई मायाको चिनो स्वरुप ग्रहण गर्दै आगामी दिनमा अझ अघि बढ्न प्रोत्साहन प्रदान गरेको बताए । साथै अधिकारीले नगरपालिकामा रचनात्मक र श्रृजनात्मक प्रतिपक्षको भूमिका निभाउन कुनै कसर बाँकी नराख्ने पनि उल्लेख गरेका छन् ।

उनले निर्वाचनका क्रममा राजनीतिक दलहरुले कसले जित्यो अथवा कसले हार्यो भन्दा पनि नगरको समुन्नत विकासमा अबको नेतृत्वले कस्तो भूमिका खेल्नेछ भन्नेमा नगरवासीको चासो रहनुपर्ने सुझाव दिए ।


Author

थप समाचार
x