स्थानीय तह निर्वाचन २०७९

धरानमा स्थापित दलमाथि हावी हुँदै लौरो

इकागज |
जेठ ५, २०७९ बिहीबार २०:५१ बजे

विराटनगर– धरान उपमहानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अहिले आफ्नो अग्रता अझ बढाएका छन् । बिहिबार विहान राईको १४७ मतको अग्रता बढेर अहिले साँझ ८ बज्दा ३१७ पुगेको छ । लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार बनेका हर्कराजले नेपाली कांग्रेसका किशोर राईलाई उछिनेर अग्रता बढाउँदै लगेका छन् ।

काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्नबाटै दोब्बर बढि मतले बालेन साहले मेयरमा अग्रता कायम गर्दैगर्दा धरानमा हर्कराज पनि चर्चाको केन्द्र बन्दैछन् ।
हर्कराजसँग कांग्रेसका उम्मेदवार किशोर राई बिहीबार साँझ ७ बजेसम्म ३१७ मत र नेकपा एमालेकी उम्मेदवार मन्जु भण्डारी (सुवेदी) २ हजार १३० मतले पछि परेकी छन् । हर्कराजले ९ हजार ५३६ मत प्राप्त गर्दा कांग्रेसका किशोरले ९ हजार २१९ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेकी मन्जु भण्डारी (सुवेदी) ले ७ हजार ४०६ मत ल्याएकी छन् ।


धरानको कुल मतदाता ९९ हजार २८१ मा ६३ प्रतिशत अर्थात ६२ हजार ८९८ मत खसेको थियो । वडा नंं ११, १३, १४ को गणना जारी रहेको छ । भर्खरै सकिएको वडा नम्बर ८ र १२ को गणनामा नेकपा एमालेका वडाध्यक्षहरू प्यानलै निर्वाचित भएका छन् । वडा नम्बर २० को मतगणना सकिएर घोषणा बाँकी छ । 


नेकपा एमालेले धरानमा ८ वटा वडा जितिसकेको छ । त्यस्तै कांग्रेससहितको गठबन्धनले धरान उपमहानगरपालिकामा ४ वटा वडाध्यक्ष जितेको छ । धरानका २० वटा वडाहरू मध्ये वडा नम्बर ६ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराई निर्वाचित भएका छन् ।


Author

थप समाचार
x