उर्लाबारी नगरपालिकामा एमाले विजयी
विराटनगर - मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी बनेको छ । एमालेका गंगा प्रसाद खरेल नेपाली कांग्रेसका खड्ग बहादुर फागोलाई १ हजार ८६६ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । त्यसैगरी उपमेयरमा मिना कुमारी खतिवडाले ८८ मतले कांग्रेसकी सीता कार्कीलाई पराजित गरेकी छन् ।
शुक्रबार बिहान घोषणा गरिएको अन्तिम मत परिणाम अनुसार मेयरमा निर्वाचित एमालेका खरेलले १२ हजार १५६ मत प्राप्त गरेका हुन् । मेयरमा पराजित बनेका निवर्तमान मेयर फागोले १० हजार २९० मत ल्याएका छन् । उपमेयरमा एमालेकी खतिवडाले १० हजार ७२८ मत प्राप्त गर्दा गणनाको सुरुवातदेखि नै झिनो मतले पछि परेकी कांग्रेसकी कार्कीले १० हजार ६४० मतमा चित्त बुझाइन् ।
उर्लाबारीका ९ वटा वडाहरु मध्ये यसपटक एमालेले पाँचवटा वडा जितेको छ । बाँकी ४ वडामा कांग्रेस निर्वाचित भएको हो । वडा नं १ मा तिलक कुमार पाण्डे, ३ मा भिष्म राज बुढाथोकी, ५ मा रविन लामा, ७ मा उर्मिला थापा र ८ मा कुल बहादुर कार्की वडाध्यक्ष निर्वाचित भएका छन् ।
कांग्रेसबाट वडा नं। २ मा कुमार कँडेल, ४ मा कल्याण कुमार राई, ६ मा चिन्तामणि पौडेल र ९ मा नरबहादुर मोक्तान वडाध्यक्षमा चुनिएका हुन् । २०७४ को निर्वाचनबाट एमालेले चार र कांग्रेसले पाँच वटाको नेतृत्व जितेको थियो । उर्लाबारीमा माओवादी केन्द्र भने २०७४ यता क्लिन स्वीपमा परेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया