स्थानीय तह निर्वाचन २०७९

नेपालगन्ज उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी

इकागज |
जेठ ६, २०७९ शुक्रबार ८:३७ बजे

बुटवल - नेपालगन्ज उपमहानगरमा अघिल्लो निर्वाचनमा राप्रपाले थामेको विरासत गठबन्धनले खोसेको छ । सुरुवाती गणनाबाटै अग्रता लिएका गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्ट नेपालगन्ज उपमहानगरको मेयर पदमा विजयी भएका छन् ।

उनले २३ हजार ४६० मत ल्याएर मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाद मिश्राले ११६७५ मत पाएका छन् भने चुनावका मुखमा माओवादी छाडेर राप्रपा प्रवेश गरी मेयरको उम्मेदवार बनेका नन्दलाल वैश्यले ७५९८ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।


त्यस्तै उपमेयरमा पनि गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार कमरुद्दीन राई विजयी भएका छन् । उनी १७९५० मत ल्याएर विजयी भएका हुन् ।

उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्ति ढकालले १०९१५ मत ल्याएकी छन् भने राप्रपाकी बिन्दु चर्तिमगरले १०१३५ मत ल्याएका छन् । नेपालगन्जमा नेपाली कांग्रेसले मेयरसहित ५ वटा वार्ड जितेको छ भने जसपाले उपमेयर सहित ६ वार्ड जितेको छ ।

५ वटा वार्डमा एमाले, ४ वटामा माओवादी केन्द्र र ३ वार्डमा राप्रपाका वडा अध्यक्षका उम्मेदवारहरू विजयी भएका छन् ।


Author

थप समाचार
x