‘लौरो’ चिह्नको भविष्य अब के होला ?
काठमाडौं– स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । हालसम्मको मतपरिणाम अनुसार स्थापित दलहरूकै मत परिणाम राम्रो छ । तर स्थापित दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले दिएको चुनौतीले देशभरै एक किसिमको तरंग ल्याएको छ । स्वतन्त्रको मत परिणामसँगै स्वतन्त्रले पाएको चुनाव चिह्न ‘लौरो’ को चर्चा पनि उत्तिकै छ ।
निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई दिएको चुनाव चिह्न लाैराे लोकप्रिय भएसँगै अब यो चिह्नको भविष्य के हुन्छ ? भन्ने कौतुहल आम मानिसमा देखिन्छ । लौरो चिह्न अर्को निर्वाचनसम्म कुनै नयाँ दलले लिन पाउँछ वा पाउँदैन ? वा फेरि स्वतन्त्र उम्मेदवारकै हुन्छ/हुँदैन ? स्वतन्त्र उम्मेदवारले आफैँ दल दर्ता गर्न गए, उसले आफ्नो चिह्न पाउँछ /पाउँदैन भन्ने प्रश्नहरूमा मानिसहरूको चासो देखिएको छ ।
यस पटकको स्थानीय निर्वाचनमा आयोगले स्वतन्त्र उम्मेदवारका लागि ४० वटा चुनाव चिह्न राखेको थियो । जसमध्ये एउटा चिह्न लौरो थियो । आयोगले उम्मेदवारलाई चुनाव चिह्न दिने दिन काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई लौरो चुनाव चिह्न दिएको थियो ।
उनले चिह्न पाए लगत्तै सामाजिक सञ्जालमा एउटा पोष्ट गर्दै लौरो चुनाव चिह्न पाएको सार्वजनिक गरेका थिए । त्यस पश्चात लौरोको चर्चा चुलिएको थियो । उनले आफ्नो चिह्न ‘बुढाबुढीलाई टेकाउने, भ्रष्टाचारीलाई सेकाउने’ भन्दै प्रचार गरेका थिए ।
उनीसँगै थुप्रै पालिकाका प्रमुखदेखि वडा सदस्यका उम्मेदवारलाई आयोगले लौरो चिह्न दिइएको थियो । पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार अटेरी अभियानका गनेस पौडेललाई पनि आयोगले सुरुमा लौरो चिह्न दिएर पछि अर्कै चिह्न दिएपछि पौडेल पक्षले धर्ना दिएका थिए । पछि आयोगले उनलाई पुरानै चिह्न ( लौरो ) कायम गरिदियो ।
लौरो चिह्नबाट उम्मेदवार बनेका थुप्रै उम्मेदवारले उपमहानगरदेखि वडासम्म जित हासिल गरिसकेका छन् भने महानगरमा बालेन शाह ठूलो मतान्तरले अग्रस्थानमा छन् । आइतबार धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई हराउँदै मेयर पद जिते ।
साम्पाङभन्दा अगावै गोकर्णेश्वर–४ मा जयराम महतले लौरो चिह्नबाट वडाध्यक्ष पद जितेका थिए । यस्तै रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ मा पनि नेत्रबहादुर गिरीले लौरो चिह्नबाटै वडाध्यक्ष जितेका छन् ।
लोकप्रिय बनेको चिह्न लौरो आफ्नो बनाउन दलहरू आयोगमा जान सक्ने सम्भावना देखिन्छ । स्वतन्त्र उम्मेदवारले पनि कुनै दल दर्ता गरेर पार्टीकाे चुनाव चिह्न लाैराे कायम गरिदिन निवेदन दिन सक्छन् ।
यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारबीच लोकप्रिय बनेको चुनाव चिह्न ‘लौरो’ राजनीतिक दलको चिह्न जस्तो नहुने स्वतन्त्र रहने निर्वाचन आयोगका राजनीतिक दल व्यवस्थापन शाखाका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले बताए । स्वतन्त्र रहेको चिह्न कुनै दलले परिवर्तन गर्न चाहेमा वा लिन चाहेमा लिन सक्ने उनको भनाइ छ । ‘स्वतन्त्रको चिह्न दलको जस्तो उम्मेदवारकै भइरहने हुँदैन, स्वतन्त्र हुन्छ,’ उपन्यायधिवक्ता वाग्लेले भने, ‘कुनै दलले रीत पुर्याएर आए छलफल गरेर आयोगले चिह्न दिन सक्छ ।’
स्वतन्त्रको चिह्न आयोगले आफैँ बनाएकाले अर्को निर्वाचनमा यहि चिह्न भइरहन्छ भने नहुन सक्छ । लौरो चिह्न पनि यसपटकको निर्वाचनमा सबैतिर चिनिने चिह्न भएकाले स्वतन्त्रको सूचीमा राखेको उपन्यायधिवक्ता वाग्लेले बताए । ‘स्वतन्त्र समूहको चुनाव चिह्न हामीले छनौट गरेको चिह्न हो,’ उनी भन्छन्, ‘लौरो हिमाल पहाड र तराईमा सबैले चिन्ने प्रकृतिको चिह्न भएकाले राखिएकाे हो । लौरो यस अघिको निर्वाचनमा म निर्वाचन अधिकृत भएर हिँड्दा यो ठिक हुने लागेर राखेको हो ।’
उपन्यायधिवक्ता वाग्लेका अनुसार स्वतन्त्र उम्मेदवार नै दल गरेर आएमा पनि उनीहरूले पनि पाउने सम्भावना रहन्छ । ‘जसले पनि आफ्नै समूह बनाएर आएमा उहाँहरूले पाउने सम्भावना उत्तिकै छ,’ उनले भने, ‘दल खोल्नलाई सबै स्वतन्त्र छन् ।’ निर्वाचन सकिए लगत्तै दल दर्ता गर्ने प्रक्रिया आयोगले खुल्ला राख्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया