स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

इकागज |
जेठ १४, २०७९ शनिबार १५:५३ बजे

काठमाडौँ- स्थानीय तह निर्वाचन सकिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ ।    
    
नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा जनतामा खासगरी राष्ट्रिय राजनीतिक दलको वर्तमान अवस्थाको मूल्याङ्कन भइरहेको छ । करिब वर्ष दिनअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धनको सरकार स्थानीय तहको निर्वाचनमा पनि सहकार्यका साथ गएको तथा संसद्को ठूलो दल नेकपा (एमाले)ले एक्लै निर्वाचन जित्ने जिकिरका बीच सम्पन्न निर्वाचन परिणाम बढी चर्चित बन्यो ।    
    
साथै नेपालको सङ्घीय र प्रादेशिक संसद्को समयावधि पनि आगामी मङ्सिरसम्म रहेको र अबको बढीमा सात महिनामा संसद्कै निर्वाचन हुने भएकाले पनिस्थानीय तह निर्वाचनको प्राप्त मत परिणामले जोड घटाउको चर्चा चुलिएको हो । राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट काठमाडौँ महानगरलगायत कतिपय ठूला नगरमा स्वतन्त्र उम्मेदवारको उदयले पनि यस निर्वाचनको परिणाम रोचक बनेको छ ।    
    
यस निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको कामको मूल्याङ्न गरी विशेषतः दुई मान्यता स्थापित गर्न खोजेको देखियो । मुलुकको राजधानी काठमाडौँमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्र साहलाई विजयी गराएका छन् । यो मतदाताले स्थापित गर्न खोजेको युवा नेतृत्व मात्र नभएर देशका ठूला राजनीतिक दलले विगतका राम्रो नेतृत्व महानगरमा दिन नसकेका परिणामको नतिजा भएको विश्लेषण गरिएको छ तर काठमाडौँ महानगरसँगै जोडिएको ललितपुर महानगरपालिकामा भने मतदाताले अघिल्लो कार्यकालका तथा त्योभन्दा पनि ६५ वर्षका चिरिबाबु महर्जनलाई चुनेका छन् ।    
    
 साथै राजधानी बाहिर हेर्दा धरान र धनगढी उपमहानगरपालिकामा पनि मतदाताले स्थापित दल बाहिरबाटै युवा नेतृत्वको चयन गरेका छन् । यसरी सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले दलभन्दा पनि कामलाई प्राथमिकता दिएको सन्देशका रुपमा लिन सकिन्छ ।हालसम्म प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ । कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ । उक्त दलका तर्फबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन् ।    
    
एमालेबाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । यसअघि २०७४ सालमा तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।    
    
 गत वैशाखमा सम्पन्न निर्वाचनमा कांग्रेसबाट १४० प्रमुख, ११० उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, दुई हजार ६६१ वडाध्यक्ष, दुई हजार ६०० महिला सदस्य, दुई हजार ५४७ दलित महिला सदस्य र वडा सदस्य पाँच हजार ३०१ निर्वाचित भएका छन् । एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका छन् ।    
    
 कूल निर्वाचित जनप्रतिनिधिका आधारमा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीबाट नगर प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्यमा ९७३ र वडा सदस्यमा एक हजार ८०६ जना निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चार हजार ३४८ जना निर्वाचित भएको आयोगले जनाएको छ ।    
    
 छ महानगरका प्रमुख र उपप्रमुख, ११ उपमहानगरका प्रमुख र उपप्रमुख, २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाका वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ वडा सदस्य गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन भएको थियो । यस निर्वाचनमा करिब एक लाख ४५ हजार जनाको उम्मेदवारी परेको थियो ।    

अशाेक घिमिरे/ रासस



Author

थप समाचार
x