स्थानीय तह निर्वाचन २०७९

आचारसंहिता उल्लङ्घनमा कारबाही जारी

इकागज |
बैशाख २८, २०७९ बुधबार ८:४७ बजे

काठमाडौँ- निर्वाचन आयोगले मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । वैशाख २८ र २९ गते मतदान केन्द्रबाट मतदाताको लागि परिचय पत्र वितरण गर्न लागेको हो । पहिलोपटक नामावली दर्ता गराएका र परिचय पत्र हराएकालाई मतदान केन्द्रबाट परिचय पत्र दिने आयोगले जनाएको छ ।

आजै सही मतदान गर्न मतदाता शिक्षा कार्यक्रमसमेत रहेको आयोगले जनाएको । धेरै मतदातालाई शिक्षा दिन सञ्चार माध्यम र सामाजिक सञ्जालबाट आयोगले श्रव्यदृश्य सामग्रीबाट सूचना प्रदान गरिरहेको छ ।


मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने सम्पूर्ण जनशक्तिहरू मतदानस्थलमा पुगिसकेको आयोगले उल्लेख गरेको छ ।

आचारसंहिता उल्लङ्घनमा कारबाही जारी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता विपरीत भएका कार्य हटाउन आदेश दिने, स्पष्टीकरण सोध्ने, सचेत गराउनेजस्ता कार्य भइरहेका छन् भने प्राप्त जवाफको अध्ययन र छानबिनको कार्य भइरहेको आयोगले जनाएको छ । 

आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि आयोगले उल्लङ्घनका घटनामा तत्काल कारबाही गर्नसक्ने अधिकार समेत नेपाल सरकारका सहसचिवको नेतृत्वमा १९ वटा उच्चस्तरीय टोली तुलनात्मकरूपमा संवेदनशील ठानिएका विभिन्न स्थानमा परिचालन गरेको छ । 

यस्ता अनुगमन टोलीलाई निर्वाचनको गोपनीयतामा प्रतिकूल असर नपर्ने गरी निर्वाचनका कार्यसँग सम्बन्धित दृश्यको छायाङ्कन गर्न आवश्यकताअनुसार भिडियो क्यामेरा वा अन्य विद्युतीय उपकरण प्रयोग गरी दृश्य छायाङ्कन गर्नसक्ने र मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभतेर, पैसा बाँड्ने काम भए–नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी त्यस्तो कार्य भए÷गरेको पाइएमा तत्काल आवश्यक कारबाही गरी आयोगलाई जानकारी गराउने अधिकार दिइएको छ ।

आचारसंहिता उल्लङ्घनको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाइएका छन् । आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको छ । यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्यायोजनसहित विशेष अनुगमन टोली खटाइएको छ । निर्वाचनमा सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ, जसअन्तरगत नेपाली सेनासहित तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ ।

मौनअवधिका लागि कल ब्याक टोन
 
अहिले निर्वाचनको मौनअवधि सुरु भइसकेको छ । यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत नमाग्न, निर्वाचन प्रचारप्रसार नगर्न, छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश पोष्ट वा शेयर नगर्न नगराउन आयोग सबैमा अनुरोध गर्दछ ।

के गर्न पाइँदैन ?
मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन ।

मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले जनाएको छ । 

मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ । यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न/गराउन नपाइने आयोगले जनाएको छ ।

मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध
स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार आजै राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । मदिरा सेवनबाट झैझगडा तथा मतदातालाई प्रभावित पार्न सक्ने भन्दै आयोगले मौन अवधिमा मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

निर्वाचन सुरक्षालाई ध्यान दिँदै आजै राति १२ बजेदेखि देशका सीमानाका बन्द गरिए पनि अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । आउँदो शुक्रबार देशभर एकै चरणमा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 


Author

थप समाचार
x