स्थानीय तह निर्वाचन २०७९

आचारसंहिता विपरीत बाँड्न लागिएको खानेपानी पाईप स्थानीयले रोके

इकागज |
बैशाख २८, २०७९ बुधबार १५:१७ बजे

मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को माैन अवधिमा मकवानपुरमा मतदाता 'फकाउन' आचारसंहिता विपरीत बाँड्न लैजाँदै गरेको खानेपानीको पाईप स्थानीयले रोकेका छन् ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरीत बाँड्न लैजाँदै गरेको खानेपानीको पाईप स्थानीयले रोकेका हुन् ।
बुधबार दिउँसो बकैया ७ को हर्दा हुँदै माथिल्लो विकट गाउँमा मतदातालाई प्रभावित पार्ने उदेश्यले खानेपानीको पाईप बाँड्न लैजाँदै गरेको अवस्थामा एमालेबाट बकैया ७ का उम्मेद्वारसहित स्थानीयले रोकेका हुन् ।

बा ११ च ७९११ नंबरको पिकअप भ्यानमा लैजाँदै गरेको ३ क्वाईल खानेपानीको कालो पाईप नेपाली कांग्रेसले बाँड्न लागेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय र सवारी चालकबीच विवाद भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

भ्यान चालकले पाईप सडकमै झारेर फर्किएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । घटनास्थल नजिकै मतदान स्थल बुथ रहेको र बुथ छोड्न नमिल्ने भन्दै प्रहरीले खानेपानीको पाईप सोही स्थानीमा छोडेको बताए ।

उक्त खानेपानीको पाईप हालसम्म पनि सोही ठाउँमा अलपत्र रहेको र कसैले पनि जिम्मेवारी लिन नआएको बताईएको छ ।  यसबारे थप अनुसन्धान हुन बाकी रहेको प्रवक्ता कार्कीले बताए । 



Author

थप समाचार
x