स्थानीय तह निर्वाचन २०७९

चुनाव तयारी : कतै सकियो, कतै धमाधम

इकागज |
बैशाख २९, २०७९ बिहीबार १०:५८ बजे

काठमाडौं– स्थानीय तह सदस्यको निर्वाचन वैशाख ३० गते शुक्रबार देशभर हुँदैछ । जसको लागि अधिकांश स्थानमा चुनावी तयारी पूरा भइसकेको छ भने बाँकी स्थानमा तयारी पूरा हुने क्रममा रहेको निर्वाचन आयोग नेपालले जनाएको छ ।

काठमाडौंमा पनि स्थानीय तहको निर्वाचनका लागि तयारीका कामहरु भइरहेका छन् । सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदान स्थलमा खटिसकेको आयोगले जनाएको छ । काठमाडौंको चावहिल पानीट्याङ्की ‘क’ का मतदान अधिकृत दशरथ धमलाले आवश्यक तयारी पूरा भएको बताए । उनले नयाँ मतदाताहरुलाई नमूना मतपत्रमा भोट हाल्न सिकाएको र मतदाताहरुले सिक्न चाहेका निर्वाचन सम्बन्धी अन्य जानकारी पनि दिइएको बताए ।


मतदाता परिचय पत्र वितरण र मतदाता शिक्षाको काम आज दिउँसो ३ बजेसम्म चल्नेछ । त्यसपछिको समयमा भोलि हुने स्थानीय तहको निर्वाचनका लागि बाँकी तयारी सक्ने र मतदातालाई सुरक्षित, भयरहित र निष्पक्ष रुपमा भोट हाल्न पाउने व्यवस्थाका लागि काम गर्ने मतदान अधिकृत धमलाले बताए ।

‘हामीले दुई दिन परिचय पत्र वितरण गर्ने कार्यक्रम राखेका छौँ, यो मतदान केन्द्रमा दुई वटा रहेका मतदान क र ख दुई मतदान केन्द्र रहेका छन् ।’ उनले भने, ‘सम्पूर्ण कर्मचारीहरु बिहानैदेखि काममा खटिसक्नुभएको छ । साथै हामीले मतदाता शिक्षा कार्यक्रम पनि गरेका छौँ । जसमा मतदान केन्द्रमा एउटा कक्ष नै बनाएर मतदाता शिक्षा दिइरहेका छौँ ।’

मतदान अधिकृत धमलाले मतदाताहरुलाई सरल तरिकाले बदर नहुने गरी भोट हाल्न सिकाइएको बताए । उनले निर्वाचन आायेगले एउटा मतदान केन्द्रका लागि उपलब्ध गराएका ५ कर्मचारी र अन्य तीन जना स्वयंसेवक सहितको टिमले अहिले चुनावका लागि बाँकी तयारीका कामहरु गरिरहेको जनाए ।

त्यस्तै, शुक्रबार हुन लागेको स्थानीय तह चुनावका लागि म्याग्दीमा सबै तयारी अन्तिम चरणमा पुगेको छ । मतदानस्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले बुधबार सर्वदलीय बैठक गर्नाका साथै मतदानस्थल निर्माण गर्न थालेका छन् । मुख्य निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गर्न थालिएको जानकारी दिए । 

“जिल्लाभरको मतदानस्थलमा चुनावको तयारी पूरा भएको छ”, उनले भने । मतदानस्थलमा स्वयंसेवक परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । पछिल्लो पाँच वर्षको अवधिमा १३ हजार ९१२ मतदाता थपिएका छन् । थपिएका र मतदानस्थल परिवर्तन गरेका मतदाताका लागि नयाँ परिचयपत्र वितरण गर्न थालिएको छ ।
 


Author

थप समाचार
x