स्थानीय तह निर्वाचन २०७९

उदयपुरमा पार्टीबाट टिकट नपाएका दुई स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित

इकागज |
जेठ १, २०७९ आइतबार १०:४७ बजे

विराटनगर - उदयपुरका दुईवटा पालिकामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् । अघिल्लो पटक नेकपा एमालेबाट निर्वाचित भएका उनीहरूले पछि नेकपा एस रोजेका थिए ।

तर गठबन्धनबाटै टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका उदयपुरगढी गाउँपालिका २ का इन्द्रबहादुर राउत र लिम्चुङबुङ गाउँपालिका ३ का गुरुमणि कुमाई वडाध्यक्ष जितेका हुन् ।


उदयपुरगढी २ मा राउतले एमालेका दिपक तामाङलाई १२२ मतले पराजित गरेका हुन् । धारा चिन्हबाट चुनाव लडेका राउतले ३८७ र तामाङले २६५ मत प्राप्त गरेको निर्वाचन अधिकृत धनबहादुर कार्कीले बताए । राउत यसअघि पनि नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष थिए ।

पछि नेकपा एस रोजेका राउतले गठबन्धनबाट पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यस्तै लिम्चुङबुङ गाउँपालिका ३ जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार गुरुमणि कुमाईले कांग्रेसका कुलबहादुर खत्रीलाई ५२ मतले पराजित गरेका छन् ।

यसअघि नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भई नेकपा (एस) रोजेका उनले वडाध्यक्षको टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवार बनेका थिए । कुमाईले ३१५ ले प्राप्त गर्दा खत्रीले २६३ मत ल्याएका हुन् ।


Author

थप समाचार
x