विराटनगर महानगरमा १५६४९ मत गणना: मेयरमा कोइराला र उपमेयरमा कार्कीको अग्रता कायमै
विराटनगर - विराटनगर महानगरपालिकामा १५ हजार ६४९ मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । सोमबार बिहान सार्वजनिक मतपरिणाम अनुसार कोइरालाले नेकपा एमालेका सागर थापालाई १ हजार ४७८ मतले पछि पारेका हुन् ।
कोइरालाले ४ हजार ९९६ मत प्राप्त गर्दा थापाले ३ हजार ५१८ मत प्राप्त गरेका हुन् । मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ६१९ र राप्रपाका प्रल्हाद साहले ७७९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवलाई सुरुवाती गणनादेखि नै पछि छाडेकी छन् । कार्कीले १ हजार ६३ मतले यादवलाई पछि पारेका हुन् । कार्कीले ३ हजार ९९६ मत प्राप्त गर्दा प्रत्यासी यादवले २ हजार ९३३ मत ल्याएका छन् ।
उपमेयरमा राप्रपाकी बिन्दा कुमारी आचार्यले ९६५ मत र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ९०५ मत प्राप्त गरेकी छन् । विराटनगरमा वडा नं. १७ र १९ को मतगणना सकिएको छ । अहिले वडा नं. १, २, १६ र १८ मतगणना अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडा नं. ३ र १५ को मतगणनाको तयारी अघि बढाएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया