कमजोर नतिजाप्रति विवेकशीलको दुखेसो, ‘विचारभन्दा माथि देश’ दस्तावेज यसको कारण नभएको निष्कर्ष
काठमाडौं– गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत मत प्राप्त गर्न नसकेकोप्रति विवेकशील साझाले दुःख व्यक्त गरेको छ । देशभर मतगणना जारी रहेका बेला साझाले सोमबार बिहान एक वक्तव्य जारी गर्दै मतप्रति दुःखी भएको बताएको हो ।
साझाले पार्टीका लागि निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक अभावका कारण सोचेजस्तो नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । ‘गत पाँच वर्षमा हामीले स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेका छौँ,’ पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘त्यसबाट हामीले देश भरी पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो ।’
उसले पार्टीभित्र बेलाबेला देखिएको वैचारिक विचलनलाई पनि निर्वाचनमा अपेक्षाकृत मत पाउन नसक्नुको कारण बनाएको छ । ‘पार्टीमा हामीले टुटफुटलगायत वैचारिक ध्रवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुपर्यो,’ पार्टीको विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखिएको । हामी त्यसमा क्षमाप्रार्थी छौँ ।’
तर, साझाले पार्टीभित्र समयसमयमा देखिएको मतभेदलाई अस्वभाविक नभएको बताएको छ । उसले अपवाद बाहेक यस्तो विचलन संसारभरकै पार्टीमा आउने उल्लेख गरेको छ ।
साझाले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रस्ताव गरेको ‘विचारभन्दा माथि देश’ शीर्षकको दस्तावेज निर्वाचनमा देखिइरहेको कमजोर प्रदर्शनको कारण नभएको बताएको छ । पार्टीको अत्यन्तै कमजोर नतिजाको कारण दस्तावेज हो भनेर कतिपय सञ्चारमाध्यम तथा टिप्पणीकारले गरेको विश्लेषण गलत उसले निष्कर्ष निकालेको छ ।
‘सो दस्तावेज नाउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय हो ।’ दस्तावेज कमजोर नतिजाको कारण नभएको खण्डनमा भनिएकाे छ ।
पार्टीमा वैचारिक विचलन देखिए पनि उसले आफू इमानदारी, देशभक्ति र समाज रुपान्तरणमा कहिल्यै नचुनेको पनि बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया