महंगाे मधेश
बढ्यो विप्रेषण आप्रवाह, बैंकको कूल कर्जामध्ये ६६ प्रतिशतभन्दा बढी घरजग्गामा
नेपालको आर्थिक तथा वित्तीय स्थिति
पुस महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, मधेशमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ पुस महिनामा यी क्षेत्रहरूमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ।
पुस महिनामा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भई रु.५८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकको प्रतिवेदनका अनुसार पुस महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २,७५,६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १,४२,५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकको प्रतिवेदनका अनुसार मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति बढेको छ। राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत असारको तुलनामा पुस मसान्तसम्ममा कूल विदेशी मुद्राको सञ्चिति १० प्रतिशतले बढेको हो।
गत असार मसान्तमा मुलुकको विदेशी मुद्राको सञ्चिति रू. १२ खर्ब १५ अर्ब ८० करोड रहेकोमा पुस मसान्तमा रू. १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ। अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा रू. ९ अर्ब ५४ करोड रहेकोमा पुस मसान्तमा बढेर रू. १० अर्ब ३० करोड कायम भएको छ। यो असार मसान्तको तुलनामा ८ प्रतिशतले बढी हो।
कूल विदेशी मुद्राको सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति पनि बढेको छ। गत असार मसान्तमा रू. १० खर्ब ५६ अर्ब ३९ करोड विदेशी मुद्राको सञ्चिति रहेकोमा पुस मसान्तमा रू. ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ।
यस्तै बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी मुद्राको सञ्चिति भने घटेको छ। गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थासँग रू. १ खर्ब ५९ अर्ब ४१ करोड विदेशी मुद्राको सञ्चिति रहेकोमा पुस मसान्तमा रू. १ खर्ब ५३ अर्ब ९१ करोडमा सीमित भएको छ। यो अवधिमा बैंक तथा वित्तीय संस्थासँग विदेशी मुद्राको सञ्चिति ३.४ प्रतिशतले घटेको हो।
पुस मसान्तको कूल विदेशी मुद्राको सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत छ। अहिलेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
नेपाल राष्ट्र बैंकले सोमवार प्रकाशित गरेको मासिक प्रतिवेदन अनुसार गत पुस मसान्तसम्ममा कूल बजार पूँजीकरण ३१ खर्ब ३ अर्ब रुपैयाँ छ । यो २०७८ पुस मसान्तसम्मको तुलनामा २३ दशमलव ६ प्रतिशतले कम हो । अघिल्लो पुस मसान्तसम्ममा बजार पूँजीकरण ४० खर्ब ३७ अर्ब रुपैयाँ थियो ।
नेप्सेमा सूचीकृत कम्पनी बढे
पछिल्लो एक वर्षमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या बढेको छ । गत पुस मसान्तसम्ममा यस्ता कम्पनीको संख्या २४९ पुगेको छ । २०७८ पुसमा भने यो संख्या २२५ थियो । अर्थात् एक वर्षमा नेप्सेमा २४ वटा नयाँ कम्पनीहरू सूचीकृत भएका छन् ।
सूचीकृत कम्पनीहरूमध्ये १४९ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यस्तै ६३ वटा जलविद्युत् कम्पनी, १९ वटा उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका कम्पनी छन् । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६६.२ प्रतिशत छ । यस्तै जलविद्युत् कम्पनीको हिस्सा १२.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत र उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत छ ।
सूचीकृत कम्पनीहरूमध्ये होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.३ प्रतिशत छ ।
कर्जाका कुरा
बैंक तथा फाइनान्स कम्पनीहरूको कूल कर्जा रकम ४८ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार माघको दोस्रो सातासम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित ५६ वटा संस्थाहरूले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् । उक्त कर्जामध्येमा वाणिज्य बैंकहरूले मात्र प्रवाह गरेको कूल कर्जा रकम ४२ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कूल कर्जा रकम पाँच खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले संकलन गरेको कूल निक्षेप रकम भने ५३ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । उक्त निक्षेपमध्ये वाणिज्य बैंकहरूमा मात्र कूल ४७ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूमा छ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
बैंक तथा फाइनान्स कम्पनीहरूको लगानी रहेको कूल कर्जामध्ये ६६ दशमलव आठ प्रतिशत कर्जा भने घरजग्गाको धितोमा प्रवाह भएको देखिएको छ । यसबाहेक १२ दशमलव तीन प्रतिशत कर्जा भने चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ । गत आवको सोही अवधि अर्थात् २०७८ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव पाँच प्रतिशत र १२ दशमलव चार प्रतिशत रहेको थियो ।
बैंक तथा फाइनान्स कम्पनीहरूको कूल निक्षेप रकम भने चालू आवको पछिल्लो पाँच महिनामा दुई दशमलव दुई प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब १५ करोड रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७८ अर्ब ४४ करोड रुपैयाँ अर्थात् एक दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप नौ दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो पाँच महिनामा बैंक तथा फाइनान्स कम्पनीहरूको कूल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः सात दशमलव छ प्रतिशत, २५ दशमलव सात प्रतिशत र ६० दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः सात दशमलव एक प्रतिशत, ३१ दशमलव पाँच प्रतिशत र ५४ दशमलव तीन प्रतिशत रहेको थियो । २०७९ मंसिर मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूको कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ दशमलव दुई प्रतिशत रहेको छ ।
२०७८ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३९ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने एक दशमलव छ प्रतिशत अर्थात् ७३ अर्ब ३० करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० दशमलव चार प्रतिशत अर्थात् चार खर्ब २३ अर्ब १३ करोड रुपैयाँले बढेको थियो । २०७९ मंसिर मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा चार दशमलव एक प्रतिशतले बढेको छ ।
२०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव एक प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव नौ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ प्रतिशत र ३६ प्रतिशत रहेको थियो । चालू आवको पछिल्लो अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह एक दशमलव चार प्रतिशतले, विकास बैंकहरूको तीन दशमलव आठ प्रतिशतले र फाइनान्स कम्पनीहरूको शून्य दशमलव पाँच प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा छ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा चार दशमलव तीन प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा तीन दशमलव नौ प्रतिशतले, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा तीन दशमलव नौ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह तीन दशमलव पाँच प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा दुई दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले भनाइ छ । श्रोत: आइएनएस-स्वतन्त्र समाचार
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया