ऊर्जा

कोभिडले मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

इकागज |
चैत १९, २०७७ बिहिवार ९:२४ बजे

फाइल फोटो

म्याग्दी : कर्मचारीमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । 

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन शुरु गर्ने तयारीसहित समय तालिका बनाएको थियो । गत हप्ता आयोजनामा काम गर्न भारतबाट आएका पाँचमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको नजिकको सम्पर्कमा रहेका ७६ को स्वाबको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो । 


पोखरास्थित प्रयोगशालामा गरिएको स्वाब नमूनाको परीक्षणका क्रममा मिस्ट्रीखोलामा कार्यरत ११ र एकजना स्थानीयवासीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताए । स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमितलाई नारच्याङमा रहेको कोरोना अस्पतालमा राखिएको छ । 
 
निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सके पनि कर्मचारी र प्राविधिकलाई कोरोना पुष्टि भएपछि पूर्व निर्धारित समयतालिका अनुसार परीक्षण उत्पादन गर्न समस्या भएको आयोजनाका स्थानीय प्रतिनिधि चूडामणि निरौलाले बताए । “सङ्क्रमित कर्मचारीलाई छुट्टै आइसोलेसनमा राखेर विद्युत्गृहको काम गरिरहेका छौँ”, उनले भने, “स्थानीय सरोकारवाला र आयोजना व्यवस्थापन पक्षसँग समन्वय गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आयोजना सञ्चालनका लागि पहल गरेका छौँ ।”

सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहको परीक्षण सरेको आयोजनाले २०७८ वैशाख १ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन गर्ने समय तालिका बनाएको थियो । विद्युत्गृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परीक्षण सकिएको छ । बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको चार किलोमिटर प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ । 

सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०।५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ । बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाइएको विद्युत्गृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८।५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी क्यानल बनाएको छ । 

रु पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले रु ७० करोड, जलविद्युत् विकास कम्पनीले रु एक अर्ब र नेपाल बैंकले रु ५० करोड ऋण लगानी गरेका छन् । 

यसैगरी नबिल बैंकले रु एक अर्ब, लक्ष्मी बैंकले रु ४० करोड, सिद्धार्थ बैंकले रु ३० करोड र एस डेभलभमेन्ट बैंकको रु ३० करोड ऋण लगानी रहेको छ । आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य सात वटा वडाका बासिन्दालाई १० लाख कित्ता सेयर बाँडफाँट गरिएको छ । 

साधारण शेयर पनि बाँडफाँट भइसकेको छ । विद्युत् विकास विभागले २०६४ सालमा जनेरेसन लाइसेन्स ९निर्माण अनुमति० दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सवस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि निर्माण शुरु भएको थियो । मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । 

नारच्याङमा दुई मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन शुरु गरेको छ । अन्नपूर्ण-३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन गत माघमा निर्माण सकिएको थियो । रासस
 


Author

थप समाचार
x