ऊर्जा

भोलिबाट ३६४ मेगावाटै निर्यात, प्राधिकरणलाई दैनिक ७ करोड आम्दानी

इकागज |
जेठ २६, २०७९ बिहीबार १३:१० बजे

फाइल तस्बिर

काठमाडौँ- भोलि (शुक्रबार)देखि नेपाल विद्युत् प्राधिकरणले भारतलाई ३६४ मेगावाट बिजुली निर्यात गर्ने भएको छ । भारतले ६ वटा आयोजना गरी ३६४ मेगावाट निर्यात गर्न अनुमति दिएको थियो । ‘भोलिदेखि ३६४ मेगावाट नै निर्यात हुँदैछ,’ प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेश भट्टराईले बिहीबार इकागजसँग भने ।

प्राधिकरणले आज भने ३१२ मेगावाट बिजुली निर्यात गरेको र यसबाट करिब ७ करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । मनसुन सुरु भएपछि दैनिक रुपमा बिजुली उत्पादन भइरहेको बताउँदै कार्यकारी निर्देशक घिसिङले ट्वीट गर्दै भनेका छन् ‘दैनिक रुपमा औसतमा सात करोड रुपैयाँको बिजुली निर्यात भइरहेको छ ।’


प्राधिकरणले बिहान र बेलुकी अत्यधिक खपत हुने समय (पिक) मा कम र पिक बेगरका समयमा धेरै परिमाण निर्यात गर्दै आएको भट्टराईले बताए । हाल जडित क्षमता २२  सय मेगावाट भए पनि कुलेखानीको एक सय चार मेगवाट भने चौबीसै घण्टा उत्पादन हँुदैन । भट्टराईका अनुसार चौबीसै घण्टा करिब १६०० मेगावाट बिजुली उत्पादन भइरहेको छ भने देशको विद्युत् खपत (पिकमा) १५५० मेगावाट छ । 

भारतको प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) का हरेक १५ मिनेटको अवधिमा ९० वटा ब्लकमा बिजुली कारोबार हुने गर्छ । नेपालले अधिकतम बिजुली मूल्य प्रतियुनिट १२ भारु (१९ रुपैयाँ २० पैसा), न्यूनतम २.५० भारु (४ रुपैयाँ) र औसत (क्लियरिङ प्राइस) ६.१८ भारु (९ रुपैयाँ ८८ पैसा) पाइरहेको भट्टराईले जानकारी दिए ।

नेपालले आज ७ हजार ६ सय ८८ मेगावाट घण्टा (७६ लाख ८८ हजार युनिट) बिक्री गरेको छ । भारतले सुरुमा त्रिशुली र देवीघाट (कूल ३९ मेगावाट) को बिजुली निर्यात गर्न अनुमति दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै थप चारवटा आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न सहमति दिएको थियो ।

कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), निजी क्षेत्रको लिखु–४ (५२.४ मेगावाट), मध्य मर्स्याङ्‌दी (७९ मेगावाट), मर्स्याङ्‌दी (६९ मेगावाट) ले अनुमति पाएका थिए । माथिल्लो तामाकोसी (४५६ मेगावाट) को पनि अहिलेसम्म अनुमति दिएको छैन । विद्युत् प्राधिकरणले यसअघि नै अनुमतिका लागि प्रस्ताव गरिसकेको छ । 
 


Author

थप समाचार
x