विश्व बैंक घुस्नाले माथिल्लो अरुण कछुवा गतिमा
सम्भाव्यता अध्ययन गराउनै ५ वर्ष लाग्यो, हेलिकप्टर चढेको चढ्यै
काठमाडौं । आजभन्दा ३७ वर्षअघि पहिचान गरिएको माथिल्लो अरुण जलविद्युत् आयोजना विश्व बैंक छिरेपछि कछुवा गतिमा काम अघि बढेको छ । विश्व बैंकले ऋण स्वीकृति गरेदेखि अध्ययन प्रतिवेदन पारित गराउनै पाँच वर्ष लगायो ।
अरुण तेस्रो (तत्कालीन जडित क्षमता ४०२ मेगावाट) रद्द गरेपछि १३ वर्षसम्म नेपालको जलविद्युतमा नफर्केको विश्व बैंक २०६२÷६३ को जनआन्दोलन लगत्तै माथिल्लो अरुण (त्यतिबेला पहिचान भएको जडित क्षमता ३६० मेगावाट) मा चासो देखाएको थियो ।
चासो देखाएर अध्ययन गराउने अनुमति दिन विश्व बैंकलाई १० वर्ष लाग्यो । सन् २०१६ (२०७३) मा उसले इखुवा खोलासहित माथिल्लो अरुणको अध्ययनका लागि १ करोड ३१ लाख अमेरिकी डलर सहुलियतयुक्त ऋण स्वीकृत गर्यो ।
ऋण स्वीकृत भएर पनि विश्व बैंकका विभिन्न प्रक्रिया पूरा गराउँदा सन् २०१८ मा आएर मात्र सम्भाव्यता अध्ययन सुरु गर्यो । अध्ययनको ठेक्का चिनियाँ कम्पनी चाङज्याङ सर्भे, प्लानिङ, डिजाइन एण्ड रिसर्च कम्पनी लिमिटेड र ताइवानको सिनोटेक इन्जिनियरिङ कन्सल्ट्यान्ट्ससहित नेपालको स्वायल टेस्ट प्रा.लि.ले संयुक्त उपक्रममा पाए । यी ठेकेदार कम्पनीले तयार पारेको अध्यनय प्रतिवेदनलाई विश्व बैंकले जून ९, २०२१ मा आएर स्वीकृति दियो ।
अप्पर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत फणेन्द्रराज जोशीका अनुसार हालसालै परामर्शदाता नियुक्ति र प्रवेश मार्ग निर्माणका लागि ठेक्का गरिएको छ । जोशीले यी दुवै ठेकेदारको मूल्यांकन गर्न करिब पाँच महिना लाग्ने बताए । प्रवेश मार्ग २४ किलोमिटर छ ।
टेण्डर डिजाइन तथा बिडिङ डकुमेन्ट तयार गर्ने, निर्माण सुपरीवेक्षण गर्ने र निर्माणपछिको सेवा उपलब्ध गराउने गरी परामर्शदाता नियुक्तिका लागि टेण्डर गरिएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी (६८ प्रतिशत शेयर) अप्पर अरुण हाइड्रो इल्ेक्ट्रिक लिमिटेडले मूल्यांकन गरेपछि पुनः विश्व बैंकको स्वीकृति लिनुपर्नेछ ।
‘सन् २०१६ मा सुरु गरेको सम्भाव्यता अध्ययन पूरा गरी प्रतिवेदन स्वीकृत गर्न २०२१ को जून लागेको हिसाबले विश्व बैंकले वित्तीय लगानी गरेमा आयोजना ढिला हुनेमा नगरे हुन्छ शंका,’ विद्युत् प्राधिकरणका एक अधिकारी भन्छन् ।
विश्व बैंकले हालसम्म यसको पूर्व सम्भाव्यता अध्ययनका लागि मात्र ऋण दिएको हो । यसको कूल लागत एक अर्ब ३७ करोड अमेरिकी डलर (हालको मूल्यमा एक खर्ब ७१ अर्ब रुपैयाँ) देखिएको छ । यो स्रोत कसरी जुटाउने भन्ने टुंगो भएको छैन ।
सम्भाव्यता अध्ययनमा ऋण सहयोग गरेकै कारण तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनले विश्व बैंकलाई माथिल्लो अरुणमा लगानी गर्न औपचारिक रुपमा आमन्त्रण गरेका थिए । विश्व बैंकले लगानी गर्ने/नगर्ने टुंगो भने लागिसकेको छैन ।
विश्व बैंकको मुख्यालय तथा एसिया हेर्ने विभिन्न पदाधिकारीहरु माथिल्लो अरुणका सम्बन्धमा नेपाल आउँदा हेलिकप्टर लिएर आयोजनास्थलसम्म जाने गरेका छन् । गत बुधबार अर्थमन्त्री जनार्दन शर्मासहित विश्व बैंकको प्रबन्ध निर्देशक (नीति तथा साझेदारी विकास) मारी एल्का पेनजेस्टु गत बुधबार आयोजनास्थल संखुवासभा पुगे । अप्पर अरुण स्रोतअनुसार योसहित चारपटक विश्व बैंक र नेपालका मन्त्रीहरु हेलिकप्टर चढेर आयोजना पुगिसकेका छन् ।
विश्व बैंकले नै लगानी गर्न ठिक्क परेको अरुण तेस्रोको सम्भाव्यता अध्ययन तथा वित्तीय व्यवस्थापनताका हरेकजसो महिनामा संखुवासभाको आकाशमा हेलिकप्टर उड्थे । अहिले त्यही नियति दोहोरिन लागेको कम्पनीका कर्मचारीहरु बताउँछन् ।
प्रमुख कार्यकारी अधिकृत जोशीका अनुसार सबै कागजी प्रक्रिया (टेण्डर डकुमेन्ट तयारी, परामर्शदाता नियुक्ति आदि) गरी खन्न जान अझै २ वर्ष लाग्छ । यो आयोजनामा वित्तीय स्रोत जुटेमा निर्माण गर्न ६८ महिना लाग्ने अनुमान छ ।
यो आयोजनाको प्रस्तावित बाँध अरुण नदी र चेपुवा खोलाको संगमस्थित भोटखोला गाउँपालिका–२ स्थित चेपुवा गाउँमा पर्छ । यसको विद्युत् गृह भने भोटखोला गाउँपालिकाको छोङराक गाउँ वडा नं. ४ मा पर्छ । यो आयोजना काठमाडौंबाट २०० किलोमिटर पूर्व र विराटनगरबाट १४० किलोमिटर उत्तर पर्छ । यसको सुरुङ जम्मा २.०२ किलोमिटर मात्र छ ।
यो आयोजनाबाट दैनिक ६ घण्टा पिकिङका समयमा ६९७ मेगावाट बिजुली उत्पादन गर्न सक्छ । यसको औसत विद्युत् उत्पादन ४५१२.६ गिगावाट घण्टा (४ अर्ब ५१ करोड युनिट) रहेको छ । सुख्खायामको पिक समयमा यो आयोजनाले ८३३.९ गिगावाट घण्टा (८३ करोड ३९ लाख युनिट) उत्पादन गर्छ ।
नेपाल भ्रमणको क्रममा विश्व बैंककी प्रबन्ध निर्देशक पेनजेस्टुले माथिल्लो अरुणजस्तो रुपान्तरणकारी जलविद्युत् आयोजनामा लगानी गर्न प्रतिबद्ध रहेको नेपालस्थित विश्व बैंकको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया