ऊर्जा

एचआइडिसिएल १२औं वर्षमा प्रवेश, यस्तो छ कम्पनीको अवस्था

इकागज |
असार २८, २०७९ मंगलबार ११:५९ बजे

काठमाडौँ- जलविद्युत विकासको लक्ष्य पूरा गर्न आवश्यक पर्ने ठूलो परिमाण एवम् दीर्घकालीन प्रकृतिको लगानी योग्य पूँजी परिचालन गर्ने विशिष्टिकृत "वित्तीय संस्था" को रुपमा २०६८ मा स्थापना भएको हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडिसिएल) ले आफ्नो ११औं वर्षपुरा गरी १२औं वर्षमा प्रवेश गरेको छ।  कम्पनीले सोमवार एक कार्यक्रम आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा  एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमले कम्पनीको हालसम्म तथा आगामी यात्राका विषयमा प्रकाश पारेका थिए ।


गौतमले कम्पनीको चार वर्षे रणनीतिक योजना लागू गरिएको  जानकारी दिए । उनका अनुसार सो योजनाले पहिचान गरेका नीतिगत तथा संरचनागत सुधारका अधिकांश कार्यहरु सम्पन्न भएको छ। 

गौतमका अनुसार कम्पनीले सहवित्तीयकरणमार्फत नेतृत्व गर्न सक्ने गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ भने केन्द्रिय बैंकको नियमनको दायरामा पनि आएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ बमोजिम कम्पनीको ऋण असुलीका लागि कानूनी आधारशिला निर्माण भएको बताए। 

कम्पनीले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण हुने १०६१ मेगावाट क्षमताको अपर अरुण  र २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनामा सहवित्तीयकरणमार्फत ऋण लगानी गर्ने गरी प्रक्रिया अघि बढाएको छ। विद्युत उत्पादन कम्पनीको १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना र प्राधिकरणको ४२ मेगावाट क्षमताको अपर मोदी जलविद्युत आयोजनामा सहवित्तीयकरणमार्फत सहभागी भइ लगानी गर्ने पनि कम्पनीले प्रतिवद्धता जनाएको छ। सार्वजनिक तथा निजी क्षेत्रका थप तीनवटा जलविद्युत आयोजनामा सेयर लगानी स्वीकृत भएको छ। दुईवटा आयोजनामा सेयर लगानीको प्रतिवद्धता कम्पनीले जनाएको छ। 

प्रमुख गौतमले कम्पनीले १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनामा विशेष प्रकृतिको  वित्तीय उपकरणको माध्यमबाट केही प्रतिशत लगानी गर्न सक्ने पनि बताए। सरकारले बुढीगण्डकी हालसालै स्वदेशी लगानीमा कम्पनी स्थापना गरेर आयोजना निर्माण गर्ने निर्णय गरेको छ।

कम्पनीका अध्यक्ष तथा ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुशिल चन्द्र तिवारीले कम्पनीले पुँजी बैंकमा मौज्दात राख्नुभन्दा आयोजनाहरुमा लगानी गर्नुपर्ने बताए। उनले लगानीकर्ताहरुलाई कसरी बढी प्रतिफल दिन सकिन्छ भनेर सोचेर आगामी दिनमा अघि बढ्न पनि आग्रह गरे।

 कम्पनीको अवस्था

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को कम्पनीको वित्तीय विवरण अनुसार पूँजी कोष २१ अर्व ९२ करोड रूपैयाँ र अन्य दायित्व तथा व्यवस्था ९८ करोड रूपैयाँसहित कुल वित्तीय स्रोत २२ अर्व ९० करोड रूपैयाँ रहेको छ । सो मध्ये ७ अर्व ६९ करोड रूपैयाँ ऋण लगानीमा, २ अर्व ६८ करोड रूपैयाँ सेयर लगानीमा ११ अर्व ३१ करोड रूपैयाँ वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा र बाँकी  १ अर्व २२ करोड रूपैयाँ अन्य लगानी एवम् चल अचल सम्पत्तिमा उपयोग भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल स्रोतमा १४.२९ प्रतिशतले वृद्धि भएको छ । हालसम्म १३ वटा जलविद्युत आयोजनामा कुल १५ अर्व ७३ करोड रूपैयाँ ऋण लगानी र १२ वटा जलविद्युतसँग सम्बन्धित कम्पनी तथा आयोजनाहरुमा करिव ९ अर्व रूपैयाँ सेयर लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

विगत एक वर्षका प्रमुख उपलब्धीहरु:

आर्थिक वर्ष २०७८ / ७९ को अवधिमा सेयर लगानीतर्फ १ अर्व २२ करोड रूपैयाँ र ऋण लगानीतर्फ ३ अर्व ५८ करोड रूपैयाँ थप लगानी प्रवाह भएको छ । यस आर्थिक वर्षमा ९५ करोड रूपैयाँ खुद मुनाफा हुने अनुमान छ । सो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।

कम्पनीको चार वर्षे रणनीतिक योजना लागू भई सो योजनाले पहिचान गरेका नीतिगत तथा संरचनागत सुधारका अधिकांश कार्यहरु सम्पन्न गरिएको छ । कम्पनीमा स्थायी संरचना निर्माण गरी लोक सेवा आयोगको प्रक्रियाबाट केही कर्मचारीको स्थायी नियुक्ति प्रक्रिया सम्पन्न गरिएको छ ।

 वित्तीय संस्थाको हैसियतले आयोजनाको कर्जा लगानीमा सहवित्तीयकरणको नेतृत्व गर्न सक्ने गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त हुनुको साथै कम्पनी केन्द्रीय बैंकको नियमनको दायरामा आएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ बमोजिम यस कम्पनीलाई उक्त ऐनको व्यवस्था लागू हुने संस्थाको रुपमा तोकेको हुँदा कम्पनीको ऋण असुलीका लागि कानूनी आधारशिला निर्माण भएको छ ।

कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गरी जलविद्युत क्षेत्रका अलावा अन्य नवीकरणीय उर्जासँग सम्बन्धित सम्भाव्य परियोजनामा लगानी गर्न सक्ने व्यवस्था गर्नुका साथै, लगानीका शर्त र मापदण्डलाई थप स्पष्ट र व्यवस्थित गरिएको छ ।

समान प्रकृति र अन्तर सम्बन्धित निकायसँगको आपसी सहकार्य र साझेदारीका आधारमा मात्र गन्तव्यमा पुग्न सहज हुने वास्तविकतालाई दृष्टिगत गरी विद्युत उत्पादन कम्पनी, एनईए ईन्जिनियरिङ्ग कम्पनी, चिलिमे जलविद्युत कम्पनी र राष्ट्रिय प्रशारण ग्रिड कम्पनीसँग समझदारी सम्झौता भइ सोको कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ ।

साथै नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग आयोजनामा लगानी गर्ने सम्बन्धमा सहकार्य र साझेदारीको सकारात्मक परिणामहरू देखिन थालेका छन् । नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनी मार्फत निर्माण गर्ने १०५१ मेगावाट क्षमताको अपर अरुण र २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजना यस कम्पनीको नेतृत्वको सहवित्तीयकरणमार्फत  ऋण लगानी गर्ने गरी प्रक्रिया अघि बढाइएको छ ।

त्यसैगरी विद्युत उत्पादन कम्पनीको १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरणको ४२ मेगावाट क्षमताको अपर मोदी जलविद्युत आयोजनामा सहवित्तीयकरणमा सहभागी भई लगानी गर्ने प्रतिवद्धता जनाई लगानी स्वीकृति प्रक्रिया अघि बढाइएको छ । सार्वजनिक तथा निजी क्षेत्रका थप तीनवटा जलविद्युत आयोजनामा सेयर लगानी स्वीकृत गरिएको छ र दुईवटा आयोजनामा सेयर लगानीको प्रतिवद्धता जनाइएको छ ।

 

 

 


Author

थप समाचार
x