ऊर्जा

पीपीएका निवेदन मात्रै ११ हजार मेगावाट बढी

जलविद्युत्‌मा ३०,६५२ मेगावाटका लाइसेन्स जारी

इकागज |
साउन १०, २०७९ मंगलबार १३:१० बजे

काठमाडौं - जलविद्युत्मा निजी क्षेत्रलाई सहभागी गराउने नीति लागू भएपछि हालसम्म ३० हजार मेगावाटभन्दा बढी जलविद्युत्का लाइसेन्स जारी भएका छन् ।
विद्युत् विकास विभागको पछिल्लो तथ्यांकअनुसार जलविद्युत्का उत्पादन र सर्वेक्षण गरी हालसम्म ३० हजार ६ सय ५२ मेगावाटका अनुमति पत्र जारी भएका हुन् । अझ सौर्य, वायु, थर्मल र सहउत्पादनका अनुमतिपत्र समेत जोड्ने हो भने जारी भएका कूल लाइसेन्स ३२ हजार ३ सय ४३ मेगावाट पुगेको छ । 

जारी भएकामध्ये जलविद्युत्का ६ सय ७१, वटा, सौर्यका ९१, वायु ४, थर्मल २ र सहउत्पादन ४ गरी कूल ७ सय ७२ वटा लाइसेन्स छन् । यसमा सौर्य एक हजार ६ सय सात मेगावाट, वायु ६ मेगावाट, थर्मल ५३ मेगावाट र सहउत्पादन २४ मेगावाट छन् । 


जारी भएका लाइसेन्समा २ हजार एक सय ६६ मेगावाटका एक सय ४४ वटा जलविद्युत् कम्पनीले विद्युत् उत्पादन गरिरहेका छन् । हालसम्म ८ हजार २ सय ५६ मेगावाटका २६८ वटा आयोजनाहरुले उत्पादन अनुमति पत्र प्राप्त गरेका छन् । उत्पादन अनुमति पाउनका लागि कूल ५ हजार ६ सय ८१ मेगावाटका ६३ कम्पनीले निवेदन दिएका छन् । 

विद्युत् ऐन, २०४९ अनुसार जलविद्युत्, सौर्य, वायु, थर्मल, बायोमास र सहउत्पादनबाट बिजुली उत्पादनसम्बन्धी सर्वेक्षण गर्न, सञ्चालन गर्न अनुमति पत्र लिनुपर्छ ।  
यसरी जारी भएका विभिन्न लाइसेन्सहरुमध्ये २७ हजार ७ सय ८० मेगावाट विकासको विभिन्न चरणमा रहेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार हालसम्म ३ सय ५७ वटा आयोजनाका ६ हजार ३ सय ६६ मेगावाटको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । 

हाल प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्र गरी कूल २ हजार एक सय ९० मेगवाटको जडित क्षमता छ । प्राधिकरण र उसको सहायक कम्पनीहरुले २ हजार ५ सय ५७ मेगावाट निर्माण गरिरहेको घिसिङले बताए । 

यता बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कं. लि, विद्युत् उत्पादन कम्पनी (भिउसीएल), जलविद्युत् विकास तथा लगानी कम्पनी (एचआईडीसीएल) गरी कूल २०३२ मेगावाटका आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन् । 

यसैगरी नेपाल सरकार लगानी बोर्ड अन्तर्गत ४ हजार ९ सय ५० मेगावाट छन् । त्यस्तै सतलज जलविद्युत निगम, भारतअन्तर्गत २ हजार ३२ मेगावाटका आयोजना विभिन्न प्रक्रियामा छन् ।

पीपीए निवेदन नै ११ हजार मेगावाटभन्दा बढी
घिसिङका अनुसार सर्वेक्षण सकेर ११ हजार ३ सय ९१ मेगवाटको पीपीएका लागि प्राधिकरणमा निवेदन परेको छ । यसमध्ये नदी प्रवाही (आरओआर) ४२.१० प्रतिशत, अर्धजलाशययुक्त (पीआरओआर) ४७.३८ प्रतिशत, जलाशययुक्त ७.२७ प्रतिशत, सौर्य ३.२३ प्रतिशत, पवन ऊर्जा ०.०१ प्रतिशत र लघु जलविद्युत् ०.०१ प्रतिशत छन् । 

हालसम्म प्राधिकरण अन्तर्गत ६ सय ५८ मेगावाट उत्पादन भइरहेको छ ।  त्यस्तै सञ्चालनमा रहेका प्राधिकरणको सहायक कम्पनी अन्तर्गत माथिल्लो तामाकोसी र चिलिमे गरी ४ सय ७८ मेगावाट छन् । निजी क्षेत्रको उत्पादन भइरहेको जडित क्षमता भने एक हजार ५४ मेगावाट छ । यसरी प्राधिकरण, उसको सहायक कम्पनी र निजी क्षेत्र गरी नेपालमा हालसम्म २ हजार एक सय ९० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । 

त्यस्तै निर्माणाधीनमा प्राधिकरणको ८ मेगावाट, सहायक कम्पनीको ४ सय ४७ मेगावाट, निजी क्षेत्रको २ हजार ८ सय ३४ मेगावाट गरी कूल ३ हजार २ सय ८९ मेगावाट छन् । 

पीपीए भएर पनि वित्तीय व्यवस्थापन हुन नसकेका तथा निर्माणको विभिन्न चरणमा रहेका आयोजनाहरुको क्षमता एक हजार पाँच सय ५३ मेगावाट छन् । यसमा प्राधिकरणको सहायक कम्पनीहरुका ४०, निजी क्षेत्रको एक हजार ५ सय १३ मेगावाट छ ।
 


Author

थप समाचार
x