कुलेखानी जलाशयको सतह घट्यो
झरी परेन, मूल फुटेन, जम्मा १४९९ मिटर
कुलेखानी जलाशय ।
काठमाडौँ- कुलेखानी आसपासमा अहिलेसम्म झरी नपरेका कारण विद्युत् उत्पादन गर्ने जलाशयको सतह घटेको छ ।
विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेश भट्टराईका अनुसार हिजोको अपरान्हसम्म कुलेखानी जलाशयको सतह १४९९ मिटर थियो । गत वर्ष हिजोकै मितिमा कुलेखानीको सतह १५२० मिटर थियो ।
‘पोहोर असार १ गतेको बाढीले एकैदिनमा १०, १२ मिटर सतह बढेको थियो,’ भट्टराईले इकागजसँग भने, ‘यसपालि कुलेखानी क्याचमेन्ट एरिया (जलग्रह क्षेत्र, १२६ वर्ग किलोमिटर) मा पानी परेको छैन, त्यही भएर सतह नबढेको हो ।’
कुलेखानीको जलाशय लम्बाई सात किलोमिटरको छ । समुद्र सतहदेखि १४८० मिटर यसको पिंध हो भने यो जलाशयमा अधिकतम १५३० मिटरसम्म पानी संग्रहित हुने गर्छ । कुलेखानी जलाशयमा कूल ८ करोड ५३ लाख घनमिटर पानी जम्मा हुन्छ । यसमध्ये यसको सक्रिय क्षमता ७ करोड ३० लाख घनमिटर हो । कुलेखानी जलाशयमा कहिले पनि प्रयोग नहुने पानीको आयतन हो एक करोड २९ लाख घनमिटर । यो जलाशयको सतह क्षेत्र २.२ वर्ग किलोमिटर छ ।
भट्टराईका अनुसार विद्युत प्रणालीलाई आवश्यक परेको बेला मात्र कुलेखानी सञ्चालनमा ल्याउने गरिन्छ । भोल्टेजको स्थिरता र प्रणालीको आवश्यकता अनुसार कुलेखानीका तीनवटा विद्युतगृहबाट विद्युत् उत्पादन हुने गर्छ ।
नेपालको एकमात्र जलाशययुक्त विद्युत् नै कुलेखानी हो । यसको निर्माण कार्य सन १९७७ मा सुरु भई पहिलो युनिटबाट बिजुली उत्पादन भने सन् १९८५ को मे १४ तारिखमा भएको थियो । यसको उद्घाटन भने दुवै युनिटबाट उत्पादन भएको सात महिनापछि भएको थियो ।
अघिल्ला प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी (४५६ मेगावाट) को उद्घाटन परीक्षण उत्पादन पूरा नहुँदै हतार हतारमा २०७८ असार २१ गते प्रधानमन्त्री निवास बालुवाटारमै कम्प्युटरमा क्लिक गरी गरेका थिए ।
कुलेखानी पहिलो (जलाशयसमेत) को कूल लागत त्यतिखेरको मूल्यमा ११ करोड ७८ लाख ४३ हजार अमेरिकी डलर थियो । यो आयोजनालाई विश्व बैंक, कुवेत फण्ड, ओपेक फण्ड, जापानको ओभरसिज इकोनोमिक कोअपरेशनले आर्थिक सहयोग गरेका थिए ।
निर्माणपछि विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्दा कुलेखानी पहिलोको लागत एक अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । त्यतिबेला रोड चेक ड्याम (सडकसहितको पानी थुन्ने बाँध) र सुरुङको लागत त्यतिबेला जम्मा २३ करोड रुपैयाँ मात्र परेको थियो ।
कुलेखानी जलविद्युत् मकवानपुर जिल्लाको धोर्सिङमा पर्छ । काठमाडौंदेखि सरोवरसम्मको दूरी २१ किलोमिटर छ भने विद्युतगृहसम्मको दूरी दक्षिणपश्चिम ३० किलोमिटर छ । वर्षाको पानी संकलन गरेर हिउँदमा बिजुली उत्पादन गर्ने उद्देश्यले यो आयोजना बनाइएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया