ऊर्जा

लाइसेन्स लिएर काम सुरू नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द हुने

इकागज |
साउन १५, २०७९ आइतबार १४:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरुको विद्युत् खरिद सम्झौता (पीपीए) सम्झौता भएर पनि निर्माण हुन नसकेको भन्दै खोला/नदी ओगटेर बस्‍ने प्रवृत्तिलाई निस्तेज गर्ने गरी कदम चालिने बताएकी हुन् । टेक अर पे प्रावधानमा पीपीए गरिएका आयोजनाहरु सुरु नहुँदा बित्तिय जोखिम समेत देखिएकाले यस विषयमा मन्त्रालयले चाडै आवश्यक निर्णय गर्ने उनले उल्लेख गरिन् ।


मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेको जानकारी दिइन् । सरकारले प्रस्ताव गरेको नयाँ विद्युत् ऐनले विद्युत् व्यापार तथा प्रसारण खुल्ला पहुँचको व्यवस्था गरेको भन्दै उनले संसद्‍को चालू अधिवेशनमा पास हुने भए उक्त ऐनलाई अघि बढाउने र पास नहुने देखिए सदनको अधिवेशन अन्त्य हुने बित्तिकै केही प्रावधानलाई कार्यान्वयनमा ल्याउने बताइन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै औधोगिक क्षेत्रलाई पर्याप्त विद्युत् उपलब्ध गराइएको र प्राधिकरणको ध्यान आन्तरिक खपत बढाउनेमा नै केन्द्रित रहेको सुनाए । ट्रान्समिसन र सवस्टेशन बनाउनका लागि लगानी बढाउने उनले जानकारी दिए । उनले अहिले विद्युतीय गाडीको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिए ।

त्यस्तै ट्रान्समिसनलाइनको अभावका कारण कुनै पनि आयोजनाको विद्युत् खेर जाने अवस्था नरहेको उनले दाबी गरे ।


Author

थप समाचार
x