ऊर्जा

लगानी बोर्डले एनएचपीसीबाट पर्फर्मेन्स बन्ड १ अर्ब ४३ करोड र अध्ययन दस्तावेजको ३२ करोड पाउने

इकागज |
भदौ ९, २०७९ बिहीबार १८:५२ बजे

फाइल फोटो

काठमाडौँ - लगानी बोर्ड कार्यालयले एनएचपीसीसँगको पश्चिम सेती तथा सेती नदी-६ परियोजना अघि बढाउने सम्बन्धमा गरेको समझदारी सार्वजनिक गरेको छ । गत भदौ २ गते एक कार्यक्रमबीच लगानी बोर्डका कार्यकारी निर्देशक सुशिल भट्ट र एनएचपीसका तर्फबाट  प्रबन्ध निर्देशक अभयकुमार सिंहले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। ।

समझदारी अनुसार भारतीय प्रवर्द्धक एनएचपीसीले नेपाललाई २१.९ प्रतिशत निशुल्क विद्युत उपलब्ध गराउनुपर्नेछ  । दुई परियोजनाको कुल जडित क्षमता  १२०० मेगावाट रहने र यी परियोजनाबाट उत्पादित विद्युत निकासीका लागि प्रसारण लाइनको प्रबन्ध प्रवर्द्धक कम्पनी आफैंले गर्नुपर्नेछ । लगानी बोर्डले पर्फमेन्स बन्ड बापत कुल १ अर्ब ४३ करोड १६ लाख ५२ हजार र यसअघि भएका अध्ययन बापत ३२ करोड २९ लाख रुपैयाँ शुल्क प्राप्त गर्नेछ ।


सम्झौता पश्चात् प्रवर्द्धकले तोकिएको पर्फर्मेन्स बण्ड र अध्ययन भएका दस्तावेजको शुल्क बुझाएर ४५ दिन भित्र पश्चिम सेतीको र ६ महिनाभित्र सेती नदी-६ को सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन दिनेछ ।

दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरि लगानी बोर्डमा बुझाएपछी उक्त डीपीआर बोर्डबाट मूल्यांकन भै  स्वीकृत भएमा परियोजना विकास सम्झौता (पीडीए) को चरणमा प्रवेश गर्नेछ । प्रवर्द्धकले वित्तीय व्यवस्थापन गरेपश्चात उत्पादन अनुमतिपत्रका लागि आवेदन दिनुपर्छ । उत्पादन अनुमतिपत्र प्राप्त गरेपछी परियोजना कार्यान्वयनको चरणमा जान्छ । पश्चिम सेतीको अनुमानित लागत १ खर्ब ६८ अर्ब १९ करोड ४४ लाख र सेती नदी-६ को लागत १ खर्ब ३२ अर्ब रहने अनुमान छ ।

 

 


Author

थप समाचार
x