ऊर्जा

महसुल नतिर्ने ग्राहकको लाइन काटेर दुई करोड ६५ लाख असुली

इकागज |
भदौ २२, २०७९ बुधबार १६:२२ बजे

फाइल फोटो

राजविराज - नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले आर्थिक वर्षमा महसुल नतिर्ने ग्राहकको लाइन काटेर दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ असुलउपर गरेको छ  । 

कञ्चनपुर वितरण केन्द्रका प्रमुख सञ्जीव साहले आर्थिक वर्ष २०७८/७९ मा विद्युत् महसुल नबुझाएका नौ सय ७८ ग्राहकको विद्युत्को लाइनसमेत काटिएको बताए । 


चार करोड ८४ लाख ८३  हजार नौ सय ९७ मूल्य बराबरको ग्राहकबाट असुल गर्न बाँकी रहेकोमध्ये विद्युत् लाइन पुनः जडान गरिएबापत अहिले तत्काल दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ संकलन गरेको केन्द्र प्रमुख साहले जानकारी दिए । ६ सय २५ जना ग्राहकले उक्त रकम बराबरको महसुल तिरेको उनले बताए । 

कञ्चनपुर वितरण केन्द्रको औसत संकलन पनि ९९.९ प्रतिशत रहेको बताउँदै बितेको आर्थिक वर्षमा विद्युत् चुहावट गर्ने दुई सय ८१ जनालाई कार्वाहीसमेत गरिएको प्रमुख साहले बताए । 

उनले भने, `विद्युत् चुहावट गर्ने क्रममा ४२ जनालाई  कारबाही गरिएको छ ।` चुहावटबाट २० लाख ८४ हजार चार सय ९३  असुल गरिएको हो । आर्थिक वर्ष २०७७/७८मा औसत २६ प्रतिशत घटी रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा २४.०३ प्रतिशतमा झारिएको साहले दाबी गरे । 

कञ्चनपुर वितरण केन्द्र अन्तर्गत २२ प्रतिशत ग्राहकले अनलाईनमार्फत भुक्तानी गरेका छन । इन्टरनेटको पहुँचमा हुने ग्राहकलाई अनलाईनमार्फत भुक्तानी गर्न आग्रह गरिएको छ  । 


Author

थप समाचार
x