ऊर्जा

अपर अरूण

नेपालको पानी जनताको लगानी साकार हुँदै : ऊर्जामन्त्री भुसाल

गेम चेञ्‍जर परियोजना : घिसिङ

इकागज |
भदौ ३०, २०७९ बिहीबार २२:७ बजे

काठमाडौँ- ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले 'नेपालको पानी जनताको लगानी' सार्थक बनाउन आफू प्रतिबद्ध र सक्रियतापूर्वक लागेको बताएकी छिन्।

बिहीबार काठमाडौँमा १०६१ मेगावाट क्षमताको अपर अरुण निर्माणका लागि लगानी प्रतिवद्धता कार्यक्रममा बोल्दै भुषालले जलविद्युत निर्माण, छनोट लगायतका प्रक्रिया लामो रहेको र अपर अरुणमा भएको यस प्रतिवद्धता अबको ८ वर्षमा पुरा हुने बताइन् । आफ्नो नेतृत्वमा यस आयोजनालाई अगाडि बढाउन पाएकोमा खुसी व्यक्त गर्दै बुढी गण्डकी आयोजना पनि कम्पनी दर्ताको काम सकिएको र अब छिटै अघि बढ्ने जानकारी दिइन् ।


अपर अरुणमा त्यहाँका स्थानीयको ठूलो आशा रहेको बताउँदै मन्त्री भुषालले यस आयोजना निर्माण पश्चात त्यहाँका जनता लाभान्वित हुने बताइन्। संखुवासभा तथा भोजपुरबासीले यस आयोजनाबाट ठूलो आशा बोकेको बताइन्। ऊर्जामन्त्री भुसालले नेपालको पानी जनताको लगानीमा नेपाल र नेपालीको सपना साकार हुने चरणमा प्रवेश गरेको बताउँदै निर्माणमा जान लागेका मध्ये यो नेपालकै ठूलो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको जानकारी दिइन् । 

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना बनाउन १ अर्ब ७५ करोड अमेरिकी डलर अर्थात २ खर्ब १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको र जसमध्ये एचआइडिसीएलले ५३.३४ अर्ब रुपैयाँ जुटाउने, ६४ अर्ब रुपैयाँ स्वपुँजी, ९७ अर्ब रुपैयाँ विश्व बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी) ले लगानी गर्ने जानकारी दिए ।  स्व पूँजीको ४९ प्रतिशत अर्थात ३२ अर्ब रुपैयाँ आम जनताको लगानी हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

यो परियोजना नेपालकै पहिलो र नयाँ भएको बताउँदै निर्देशक घिसिङले स्थानीय तहलाई पनि सेयरको व्यवस्था गरिएको जानकारी दिए । अपर अरुण ४ अंकको नेपालकै सबैभन्दा ठूलो आयोजना हुने बताए। यस आयोजनालाई सरकारको राष्ट्रिय गौरबको आयोजनामा  समाबेश गर्न पनि प्रयास भैरहेको जानकारी दिए ।  घिसिङले अपर अरूण जलविद्युत परियोजना नेपालको ऊर्जा क्षेत्रमा गेम चेञ्जर परियोजना हुने बताए।

 


Author

थप समाचार
x