ऊर्जा

लक्ष्मीपूजामा नेपालीले १३०५ मेगावाट बिजुली खपत गरे

लक्ष्मीपूजाको दिन भारतलाई ३८० मेगावाट बिजुली निर्यात

इकागज |
कात्तिक ७, २०७९ सोमबार २०:२ बजे

भार प्रेषण केन्द्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।

काठमाडौँ- यसपालिको लक्ष्मी पूजामा जम्मा १३०५ मेगावाट बिजुली खपत भएको छ । आज साँझ ६ बजेर १० मिनेट जाँदा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत)  १३०५ मेगावाट भएको हो ।

प्राधिकरण स्रोतका अनुसार यही बेला र यसै समयमा भारतमा ३८० मेगावाट बिजुली निर्यात भइरहेको छ । भारतमा भएको निकासीसमेत गरी प्राधिकरणको प्रणालीमा कूल उच्चतम खपत (पिक लोड) जम्मा १६८५ मेगावाट रहेको स्रोतले जानकारी दियो । गत वर्षको लक्ष्मी पूजाका दिन उच्चतम खपत १२०० मेगावाट थियो ।


तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले वार्षिक पिक लोडभन्दा कम हुने गर्छ । प्राधिकरणको तथ्यांकअनुसार यो वर्षको असार २२ गते पिक लोड १९६३ मेगावाट थियो । गत वर्षभन्दा यो वर्ष विद्युत् ऊर्जा खपत २३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

बिजुली उत्पादनका हिसाबले प्राधिकरणको नदी प्रवाही विद्यतगृहबाट ४३५.२ मेगावाट, निजी क्षेत्रबाट ७६७.५ मेगावाट र प्राधिकरणका सहायक कम्पनीहरूबाट ४८२.२ मेगावाट बिजुली उत्पादन भएको हो । आजको दिनमा २०० मेगावाट बिजुली जगेडा रहन गएको प्राधिकरणले जनाएको छ । आफ्नै बिजुली खेर गएको अवस्थामा प्राधिकरणले एकमात्र जलाशययुक्त कुलेखानी चलाउनु परेन ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले २०७३ सालको लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा अघोषित रूपमा लोडसेडिङ अन्त्य गरेका थिए । त्यसपछि क्रमशः देशका विभिन्न सहरहरूमा क्रमिक रूपमा अन्त्य गर्दै अन्ततः २०७५ वैशाख ३१ गते (सोमबार) देश लोडसेडिङमुक्त भएको प्राधिकरणले घोषणा गरेको थियो ।
 


Author

थप समाचार
x