सौर्य ऊर्जाबाट पोखरी गाउँ नै झिलिमिली
सौर्य ऊर्जाबाट
जुम्ला- जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा पहिलो पटक सौर्य ऊर्जाबाट गाउँ नै झिलिमिली बनेको छ । कहिल्यै पनि बिजुलीको सपना पूरा नहुने पीडा साँचेर बसेका सो गाउँका स्थानीयवासी अहिले रात दिन सौर्य ऊर्जाले विद्युत् सेवा सञ्चालनमा आएपछि खुशी भएको स्थानीयवासी मुनबहादुर रोकायाले बताए ।
विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको थियो । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको स्थानीयवासी रोकायाले भने, 'गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ । जम्मा गाउँमा ६० घरधुरी रहेका छन् । गाउँ नजिकै अर्को गोठीबस्ती छ । वर्षायामको छ महिना पोखरी गाउँका स्थानीय त्यहीँ बस्छन् । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पुर्याइएको छ ।' सबै गरेर एक सय २० घरमा बिजुली बालिएको उनले बताए ।
पचास किलोबाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा छ वटा बल्ब राखिएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैन । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टीभी र वाईफाई चलाउन सजिलो भएको अर्का स्थानीयवासी तुलवीर रोकायाले बताए । उत्पादन भएको सबै बिजुली खपत नहुने भए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्ने तयारी भइसकेको छ । यसका लागि वडापालिकाले बजेट छुट्याइसकेको छ । गाउँमै कुटानी पिसानीको काम हुने भएपछि महिलाको कार्यबोझ घट्ने सो गाउँका स्थानीयवासी बताउँछन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु तीन करोड ३४ लाख र रु ३० लाख तिला गाउँपालिकाको साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । पोखरी गाउँमा सौर्य ऊर्जाका लागि कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले पहल गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया